बृहत योजना अनुसार काम होस्

तानसेन नगरपालिकाले नगरको विकास गर्न नगर बृहत योजना तयार गरेको छ । नगरपालिकाले विकासका लागि अल्पकालिन, मध्यकालिन र दीर्घकालिन योजना बनाउनुले यहाँको विकासमा पक्कै फरक पार्छ । तर यस्ता योजना विगतमा पनि नबनेका भने होइनन् । धेरै योजना बने, बनाइए । तर ती योजना कता गए ? विकासले भने फड्को मार्न सकेको छैन । अहिले पनि यस्ता योजना बनाउने विषयले स्थान पाउँदै आएको छ । दातृ निकायको सहयोग सही प्रयोग भएको छ वा छैन भन्ने विषयमा निगरानी कसले गर्ने हो ? तानसेन नगरपालिकाको बृहत योजनाले नगरको ऐतिहासिक पहिचानलाई अझ जिवन्त बनाउने दाबी गरिएको छ । तर यस्तो दाबीले सार्थकता पाउन सक्ला वा नसक्ला ? विकास र सेवा प्रवाहका प्रमुख क्षेत्रहरूलाई समेट्ने प्रयास गरेको भनिएको छ ।

नगरको आन्तरिक स्रोत विस्तार र वाह्य स्रोत प्राप्तीमा समन्वयका विषय समेत समेटिएको छ ।साविक विकास कार्यक्रम निर्माणको अभ्यासमा समेटिने गरेको आर्थिक विकास, सामाजिक विकास, पुर्वाधार विकास, वन वातावारण र विपद् ब्यवस्थापन तथा संस्थागत विकास र सुशासन जस्ता विषयगत क्षेत्र अन्तर्गतका विशिष्ठ सेवा क्षेत्र समेटेर यो बृहत योजना तयार गरिएको दाबी छ । विगतमा खास विषयगत क्षेत्रमा नरहेका भू–उपयोग, नगरको आपतकालिन व्यवस्थापन जस्ता विषयलाई पनि उपयुक्त विषयगत क्षेत्रभित्र राखिएको छ । बृहत योजना निर्माणका क्रममा प्रयोग भएको तथ्यांक तथा सूचनाको विश्वसनीयताका लागि नगर आफैंले घरधुरी सर्वेक्षण गरेको छ । केन्द्रीत समुह मार्फत आम नागरिकको धारणा संकलनको विधि मार्फत बृहत योजनालाई वास्तविक समस्याको केन्द्रसम्म पुगेर समस्या समाधानको आधार पहिल्याउने माध्यमका रुमपा अघि बढाउन खोजिएको छ ।

योजना तर्जुमा प्रक्रियामा भएका केन्द्रीत समुह छलफल प्रतिनिधिमूलक र वडा स्तरमा हुने गरेको छ । बृहत योजना तयारीका क्रममा वडा स्तरसम्मका हरेक विशिष्ठ गतिविधि र वार्षिक कार्यतालिकाको सूची तयार हुनुपर्छ । जीवन्त दस्तावेजका रुपमा पहिलोपटक नगरपालिकाको अल्प, मध्य र दीर्घकालिन योजना तयार पारिएकाले यही अनुसार कार्यान्वयन हुनुपर्छ । बृहत योजनालाई स्थानीय कार्यविधिमा तोकिए बमोजिम आवधिक रुपमा परिस्कृत गर्दा तथा क्षेत्रगत नीति, रणनीति तथा वार्षिक विकास कार्ययोजना मार्फत काम हुनुपर्छ । तानसेनको समग्र विकास गर्न अल्पकालिन (२ देखि ३) वर्षका योजना रहेको छ । यसैगरी मध्यकालिन (३ देखि ७) वर्षका योजना रहेको छ । यसैगरी दीर्घकालिन (८ देखि २०) वर्षका योजनाहरू समावेश गरिएको तानसेन नगरपालिकाले जनाएको छ । बस्ती स्तरका मानिस तथा सरोकारवाला पक्षसँगको छलफलबाट योजना तयार गर्न सफल भएको हो । नगर बृहत योजनामा नगरको विकास कसरी गर्ने भनेर खाका तयार पारेकाले सोही अनुसारको काम हुन सकोस् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय