भगिनी सम्बन्धका कुरा

तानसेन नगरपालिका र चीनको लसान नगरबीच छिटै भगिनी सम्बन्ध कायम हुने तयारी छ । तानसेन नगरपालिकाले दुबै देशका दुई नगरबीच सम्बन्ध कायम गर्नु राम्रो हो । दुबै नगरबीच भगिनी सम्बन्ध कायम गरेर सुमधुर सम्बन्ध स्थापित गर्न खोज्नुले दुबै देशको कला, संस्कृति, विकास निर्माणका साथै विभिन्न क्षेत्रमा अनुभव आदानप्रदान हुनेछ । चीनको लसान नगर र तानसेन नगरपालिकाको बीचमा यसअघि नै भगिनी सम्बन्ध कायम गर्ने चर्चा चलेको थियो । कोभिड १९ का कारण यसअघि सम्बन्ध बिस्तार गर्न खोज्दाखोज्दै हुन सकेको थिएन । हुन त अझै पनि ढिलाई भएको छैन । दुबै नगरबीचको भगिनी सम्बन्धले दुई देशका दुई नगरबीच सुमधुर सम्बन्ध स्थापित गर्न मद्दत पुग्नेनै छ । जसले गर्दा दुबै क्षेत्रमा अनुभव आदानप्रदान हुनेछ । भाइचारा बढ्ने छ ।

सम्बन्ध स्थापित भएपछि यहाँ र त्यहाँको शिक्षा, संस्कृति, प्रविधि, सीप, उद्योग, जनशक्ति उत्पादन, पशुपालन, पर्यटन र कृषि क्षेत्रमा सहकार्य हुनुपर्छ । चीनका राष्ट्रपति सीजिपिङ्द्वारा चीनमा अख्तियार गरेको ग्रामीण क्षेत्रको पुनउत्र्थान नीति तानसेन भित्रकै ग्रामीण क्षेत्रमै लागू गरेर समृद्ध गाउँ बनाउन सकिने भन्ने कुराले पनि चर्चा पाएको छ । भगिनी सम्बन्धले चीन र नेपालको बीचमा सम्बन्ध सुधार नै हुने हो । संस्कृति, भाषा, सीप, शिक्षा र प्रविधि क्षेत्रमा ज्ञान तथा अनुभव साटासाट गर्न सहयोग पुग्नेमा कुनै दुईमत छैन । चीनको लसान नगर र तानसेन नगरपालिकाका बीचमा सम्बन्ध स्थापित भएपछि शिक्षा क्षेत्रमा कार्यक्रम सञ्चालन गर्नेतर्फ नगरपालिकाको साेँच पनि पूरा हुनेछ ।

भगिनी सम्बन्धका विषयष्मा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ को उपदफा ८ पनि बोलेको छ । जसमा स्थानीय तहले प्रदेश सरकारको परामर्शमा सरकारको पूर्व स्वीकृति लिई विदेशका कुनै स्थानीय सरकारसंग भगिनी सम्बन्ध कायम गर्न सक्ने व्यवस्था छ । यही व्यवस्था भए बमोजिम स्थानीय तहले मन्त्री परिषद्को स्वीकृति लिई विदेशस्थित स्थानीय तहसँग भगिनी सम्बन्ध कायम पनि भइरहेका छन् । तर कतिपय स्थानीय तहले सरकारको स्वीकृति विना नै भगिनी समबन्ध स्थापना गरेका छन् । यस्तो भने नहोस् । सरकारबाट स्वीकृत भएको भन्दा फरक सम्झौता पत्रमा हस्ताक्षर पनि भएका समाचार बाहिर आएका छन् । त्यसैले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत कात्तिक १८ गते सबै स्थानीय तहलाई भगिनी सम्बन्ध स्थापना गर्दा लिनुपर्ने पूर्वस्वीकृतिका विषयमा सर्कुलर पठाएकाले सोही अनुसार नगरपालिकाले काम अघि बढाउन जरुरी छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय