पाल्पा । तानसेनमा तीन दर्जन पाल्पाली स्रष्टाहरूले घुम्ती सिर्जना वाचनगरेका छन् । साहित्यकार टंक पन्थद्वारा कार्यक्रम आयोजनाको सन्दर्भ उठान गरे । खत्री कमलले ‘मन’ शीर्षकमा सार्दूलविक्रीडित छन्दको कविता वाचन गरे । मनको विचित्रतापूर्ण स्वभाव र चाहनाहरूलाई उद्घाटन गरे । स्रष्टा गोपालप्रसाद बस्यालले ‘जीवन’ शीर्षकको गद्य कवितामा अभावले भरिएको प्रतिकूल जीवनको भाव प्रस्तुत गरे ।
‘मालीको बगैँचा’ शीर्षकको कविताद्वारा स्रष्टा हरि भट्टराईले माली नै जाली बन्दा निम्तिएको अन्योललाई कटाक्षपूर्ण रूपमा प्रस्तुत गरेका थिए । कवि आर बी निश्चलले ‘मैले सक्ने भए’ शीर्षकको कवितामा प्रकृतिप्रेम, जवानीको मोह तथा विविधतामय जीवनको मर्मलाई सूक्ष्म र दार्शनिक रूपमा प्रकाश पारे । भेषराज सुवेदीले काब्रो कोइरालो र सिब्लीका गुण र उपयोगितालाई कवितामा समेटे । कवितामा ऋतु चेतना, प्रकृतिप्रेम र परिवर्तनको भाव मुखरित भएको पाइएको छ । स्रष्टा कृष्ण थापाले ‘कालो बादल’ शीर्षकको व्यङ्ग्यपूर्ण कविता पाठ गरे । पानी वर्षाउन सक्ने प्रेमिल बादलको अपेक्षा उनको कवितामा थियोे ।
रामप्रसाद अर्यालद्वारा प्रस्तुत गरिएको द्रुतविलम्वित छन्दको कवितामा समकालीन राजनीतिक विकृतिमाथिको सशक्त कटाक्ष निहित रह्यो । स्रष्टा पुरुषोत्तम अर्यालको ‘जीवनका तरङ्ग’ शीर्षकको कवितामा मानसिक संवेग, मनका जिजीविषाको प्रस्तुतिका साथै रतिरागात्मक भाव झल्कियो । साहित्यकार डिल्लीराज अर्यालको उपस्थितिमा ’मेरो निर्णय’ शीर्षकको कवितामा दाइजो प्रथाले निम्त्याएको सामाजिक, पारिवारिक समस्यालाई उजागर गरी दाइजो प्रथाको उन्मूलन हुनुपर्ने सन्देश प्रवाहित गरे ।
स्रष्टा सुरज घिमिरे दीपशिखाले गेयात्मक शैलीमा गजल प्रस्तुत गरे । सुनौलो बिहानीको अपेक्षा गरिएको गजलमा आशावादी स्वर मुखरित थियो । धातानन्द शर्मा गैरेले ‘म त बुढो भएँछु’ शीर्षकको कवितामा उमेरसँगै शरीरमा देखिने सङ्केतहरूले बुढ्याइँको अनुभूति हुने कुराका साथमा सङ्घर्षपूर्ण जीवनको यथार्थलाई बिम्बात्मक शैलीमा प्रस्तुत गरे । स्रष्टा चक्रपाणि गौतमले ‘वासन्ती आभा’ शीर्षकमा लेखिएको मन्दाक्रान्ता छन्दको कविता वाचन गर्दै प्रकृतिको मानवीकरण गरिएको उहाँको कवितामा प्रकृतिका वृत्तमा सबै कुरा समान रहेको भाव व्यञ्जित रहे ।
रोहितप्रसाद ज्ञवालीले केही कोपिला प्रस्तुत गर्दा उमेरका कुरा, अध्यात्मको भाव पिताप्रतिको समर्पण उहाँका रचनामा देखियो । चिरञ्जीवी शर्मा ढुङ्गानाले ‘जुत्ता’ शीर्षकको कविता पाठ गरे । ‘सङ्गत गर्न ठीक छैन’ शीर्षकको कवितामा कवि सरोज काफ्लेले कसैको चाकरी नगर्ने, पाउ नमल्नेको सङ्गत गर्नु बेकार छ भनी स्वाभिमानी र निष्ठामा बस्नेहरूको मूल्य स्खलित हुँदै गएको वर्तमान यथार्थलाई कटाक्षपूर्ण शैलीमा प्रस्तुत गरे ।
अमर भाटले गजल र गीत प्रस्तुत गरे । ‘जति रुवाउँछन् झनझन दुख्दैन, अचम्मै भो अचेल यो मन दुख्दैन’’ बोलको गीतले रौनक नै ल्यायो । स्रष्टा आयाम कार्कीले ‘आमाको सम्झनामा’ शीर्षकको कविता पाठ गर्दा आमाले गरेका सङ्घर्ष, गरिबी र विपन्नता भित्र खुलेको आमाको सुकिलो बिम्ब प्रस्तुत भयो । कवि महेन्द्रकुमार पन्थीले ‘साँहिलो नेता भएको छ’ शीर्षकको कवितामा उताको कलो खाएर यता राष्ट्रवादको नारा दिई नेता बन्ने प्रवृत्तिलाई कटाक्षपूर्ण शैलीमा प्रस्तुत गरे ।
स्रष्टा चतुर्भुज नेपालले ‘बेलैमा आउने मन थियोे’ शीर्षकको कविता वाचन गरे । घरमा साली आएको र उनीसँग गफिँदा कार्यक्रम नै बिर्सिएको कुरालाई रोचक पाराले प्रस्तुत गरे । तुल्सीराम पोखरेलले गेयात्मक शैलीमा प्रेमिल भावको गजल वाचन गरे । प्रतिभा पौडेलले वर्तमान समयमा विकास भएको राजनीतिक विसङ्गतिलाई कटाक्षपूर्ण शैलीमा प्रस्तुत गरे । जमुना रायमाझीले गजल वाचन गरी नश्वर जीवनको मर्मलाई व्यक्त गरिन् । गायिका विष्णु पन्थले ‘सुखीलाई गुनरी काम्लो’ म दुखीलाई जहाँ बस्यो त्यहीँ राम्रो’ बोलको मार्मिक गीतका साथै होनिमायाका केही अंश गाइन् ।
कमला न्यौपाने गैरेले ‘न्यायको खोजी’ शीर्षकको कथा पाठ गरिन् । रुक्मागत शर्माले ‘निरन्तर यात्रा दुई नर्कको’ शीर्षकमा कविता पाठ गर्नुभयो । जति कपडाले छोपिए पनि नाङ्गो बन्दै गएको मर्म उहाँका कवितामा पाइयो । युवराज पौड्यालले ‘मन डराइरहेछ’ शीर्षकको कविताद्वारा विगतको प्रेमप्रसङ्गलाई उठाए । सरिता रेग्मीले ‘स्वर्ग लाग्छ मलाई त मेरै सानो देश’ बोलको लोकलयमा रचित गीत प्रस्तुत गरिन् । हास्यकवि फणीन्द्र बस्यालले गाएको झ्याउरे लयको गीतले सबैलाई हौस्यायो ।
साहित्यकार तथा त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका प्रमुख टंक भट्टराईले ‘ए कता ?’ शीर्षकको कविता वाचन गरे । कार्यक्रमका आयोजक डा. शंकर गैरेले कार्यक्रम आयोजनाको सन्दर्भलाई जोडी गजल र कविता वाचन गर्नुभयो । प्रेमिल भावको गजलका साथै ‘म’ शीर्षकको कवितामा व्यक्ति जीवनको सन्दर्भका साथमा अग्रज पुस्ताको लगानीलाई बिम्बपरक रूपबाट मार्मिक शैलीमा प्रस्तुत गरे । कार्यक्रममा बत्तीस जना स्रष्टाको सहभागिता रह्यो ।