
पाल्पा, तानसेन नगरपालिका र चीनको लसान नगरबीच छिटै भगिनी सम्बन्ध कायम हुने भएको छ । तानसेन नगरपालिकाले दुबै देशका दुई नगरबीच सम्बन्ध कायम हुन लागेको पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
दुबै नगरबीच भगिनी सम्बन्ध कायम गरेर सुमधुर सम्बन्ध स्थापित गर्न खोजेको तानसेन नगरपालिकाका नगरप्रमुख अशोककुमार शाहीले बताए । कार्यक्रममा चीनको लसान नगर र तानसेन नगरपालिकाको बीचमा यसअघि नै भगिनी सम्बन्ध कायम गर्न खोजिएको जानकारी गराइएको छ । कोभिड १९ का कारण यसअघि सम्बन्ध बिस्तार गर्न खोज्दा ढिलाई भएको थियो । चीनसम्बन्धी जानकार डा. सागर न्यौपानेका अनुसार दुबै नगरबीचको भगिनी सम्बन्धले दुई देशका दुई नगरबीच सुमधुर सम्बन्ध स्थापित हुनेछ ।
भगिनी सम्बन्ध स्थापित भएपछि लसान र तानसेन नगरका बीचमा विभिन्न कार्यक्रमहरुमा सहकार्य हुनेछ । उनका अनुसार शिक्षा, संस्कृति, प्रविधि, सीप, उद्योग, जनशक्ति उत्पादन, पशुपालन, पर्यटन र कृषि क्षेत्रमा सहकार्य हुनेछ । चीनका राष्ट्रपति सीजिपिङ्द्वारा चीनमा अख्तियार गरेको ग्रामीण क्षेत्रको पुनउत्र्थान नीति तानसेन भित्रकै ग्रामीण क्षेत्रमै लागू गरेर समृद्ध गाउँ बनाउन सकिने उनले बताए ।
भगिनी सम्बन्धले चीन र नेपालको बीचमा सम्बन्ध सुधार हुने उनले बताए । संस्कृति, भाषा, सीप, शिक्षा र प्रविधि क्षेत्रमा ज्ञान तथा अनुभव साटासाट गर्न सहयोग पुग्ने उनले बताए । तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले लसान नगर र तानसेन नगरपालिकाका बीचमा सम्बन्ध स्थापित भएपछि शिक्षा क्षेत्रमा कार्यक्रम सञ्चालन गर्नेतर्फ नगरपालिकाको साँेच रहेको पत्रकारहरुलाई जानकारी गराए । कार्यक्रममा सहभागी संचारकर्मीले जिज्ञासा राखेका थिए भने तानसेन नगरपालिकाका प्रेस सल्लाहकार गोविन्द भट्टराईले सहजिकरण गरेका थिए ।