पाल्पा । पूर्वखोलामा आयोजित मुटुरोग सम्बन्धि निःशुल्क शिविरबाट ५ सय २५ जनाले स्वास्थ्य परीक्षण गराएका छन् । पूर्वखोला गाँउपालिका र नेपाल हृदयरोग निवारण प्रतिष्ठान, काठमाडौले शिविर आयोजना गरेको हो ।
पूर्वखोला गाउँपालिकाको रिङ्नेरहस्थित कोभिड–१९ अस्थायी अस्पतालमा चलेको शिविरमा पूर्वखोला गाउँपालिका र छिमेकी गाउँपालिकाका बासिन्दा स्वास्थ्य शिविरमा आएको गाउँपालिकाका सूचना अधिकारी मोहन ढकालले बताए ।
शिविरमा बरिष्ठ मुटुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मीलगायत १५ जनाले स्वास्थ्य परीक्षण गरेका थिए । चिकित्सकले साधारण स्वास्थ्य जाँच, ईको, ईसीजी, व्लड सुगर टेष्ट, व्लड प्रेसर जाँच गरेका थिए । शिविरमा आउनेलाई निःशुल्क औषधि सेवा उपलव्ध गराइएको गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले बताए ।
बालबालिका देखि ८५ वर्षसम्मका ज्येष्ठ नागरिक आएका थिए । बरिष्ठ मुटुरोग विशेषज्ञ डा. रेग्मीले १ सय ५० जनाको इको, १ सय ७५ जनाको इसीजी गरेको जानकराी गराए । परीक्षण गरिएकामध्ये ५० प्रतिशत बढीलाई मुटु र मधुमेह सम्वन्धी स्वास्थ्य समस्या देखिएको छ । स्वास्थ्य परीक्षण गर्न आउने धेरैलाई उच्चरक्तचाप, कोलेस्टेरोल, डायविटिज लगायतका समस्या देखिएको चिकित्सकले बताए । फेरिएको जीवनशैली तथा खानपानले गर्दा गाँउघरमा पनि मुटु, मधुमेह, क्यान्सर जस्ता नसर्ने रोगको बढी समस्या देखिएको छ ।
गाँउबासीलाई स्वास्थ्य सम्वन्धी जनचेतना जगाउन यो शिविर उपयोगी भएको प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पनेरुले बताए । स्थानीय तहमै विशेषज्ञ सेवा उपलव्ध गराई परीक्षण सेवा उपलव्ध गराउन शिविरको आयोजना गरिएको उनले बताए । शिविरमा आएका धेरै जनाले पहिलो पटक आफूमा मुटु सम्वन्धी समस्या भएको थाहा पाएको प्रतिक्रिया दिएका थिए ।
शिविरमा बरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रेमराज बैद्य, मुटुरोग विशेषज्ञ डा. सत्यनारायण सुवाल, मुटुरोग विशेषज्ञ डा अजय अधिकारी, डा सुदीक्षा भण्डारी सहित स्थानीय अहेव, स्टाफनर्स, अनमी सहितको टोली खटिएको पूर्वखोला गाउँपालिकाका सूचना अधिकारी ढकालले बताए ।
यसैबीच, कोरोनाबिरुद्धको खोप अभियानको दोस्रो चरण अन्तरगर्त पहिलो प्राथमिकतामा परेका ६५ वर्ष माथि उमेर समूहका ज्येष्ठ नागरिकलाई खोप लगाउने कार्य पूर्वखोला गाउँपालिकामा सकिएको छ । गत २४ फागुन देखि शुरु भएको यस अभियानमा ७ सय ७० जना ६५ वर्ष माथि उमेर समूहकाले खोप लगाएका छन् ।
गाँउपालिकाले आफ्नो ६ वटा खोप केन्द्रबाट खोप अभियान सञ्चालन गरेको सूचना अधिकारी ढकालले बताए । ६५ वर्ष माथिको लक्षित जनसंख्या १ हजार १ सय १९ छन् । त्यसमध्ये ७७० जनाले अर्थात ६८.८१ प्रतिशत खोप कभरेज गराउन सफल भएको उनले बताए ।
अभियान सफल बनाउन गाँउपालिकाले विभिन्न वडाहरुमा विभिन्न दिनमा खोप कार्यक्रम सञ्चालन गरेको थियो । सरकारले गत २३ फागुन देखि दोस्रो प्राथमिकताको पहिलो चरणको खोप कार्यक्रम सञ्चालन गरेको छ ।