
पाल्पा । तानसेन नगरपालिकाले मोहनकन्या माविको छात्रावास भवनका लागि अत्यावश्यक सामाग्री हस्तान्तरण गरेको छ ।
छात्रावासमा रहेका विद्यार्थीको अवस्थालाई मध्यनजर गर्दै तानसेन नगरपाकिाले ८६ हजार रुपैयााँ बराबरको सामाग्री दिएको हो । छात्रावासका लागि फलामको बेड, तन्ना, सिरानी, झुल, पिफर्म, डसला गरी १५ थानका दरले बितरण गरेको हो ।
कार्यक्रममा तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष झपेन्द्र गहिरेलाई सामाग्री हस्तान्तरण गरेका हुन् । नगरप्रमुख शाहीले लुम्बिनी प्रदेशको एकमात्र कन्या विद्यालयको छात्रावासको अवस्था सुधार्न आफूले नगरपालिकामार्फत् सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।
विद्यालयमा सय जना विद्यार्थीका लागि छात्रावास व्यवस्थापनमा नगरपालिकाले सहयोग गर्ने नगरप्रमुख शाहीले बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गहिरेले पक्की भवन निर्माण गर्ने र विद्यार्थी संख्या बढाउनका लागि गर्नुपर्ने काम गर्ने बताए ।
कार्यक्रममा तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पाण्डेय, वडा नम्बर ४ का कार्यवाहक वडाध्यक्ष गणेश थापा, नेपाल पत्रकार महासंघका उपाध्यक्ष भरत शर्मा, पूर्वअध्यक्ष तथा तानसेन नगरपालिकाका प्रेस सल्लाहकार गोविन्द भट्टराई लगायतले कन्या विद्यालयका लागि सबै क्षेत्रबाट सहयोग हुनुपर्नेमा जोड दिएका थिए ।
विद्यालयकी निमित्त प्रधानाध्यापक इन्दु खनालले छात्रावासका लागि जग्गा प्रशस्त भएपनि भवन जीर्ण बन्दै गएको जानकारी गराइन् ।
शान्ति सोमैले संचालन गरेको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गहिरेले छात्रावासमा गुल्मी, अर्घाखाँची, रुपन्देही लगायतका जिल्लाबाटसमेत आएर अध्ययन गरेको बताए । २००८ सालमा स्थापना भएको विद्यालयमा अहिले ३ सय ५० छात्रा विद्यार्थी छन् । अहिले ४७ जना छात्रा छात्रावासमा बसेर अध्ययन गर्छन् ।
सरकारले भने ३० जनाका लागि खर्च उपलब्ध गराउँदै आएको छ ।