
बालमैत्री स्थानीय शासन बाल अधिकार सम्बन्धी समग्र पक्ष भनेको के ? बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागिताको प्रवद्र्धन गर्नु नै हो भनने बुझिन्छ । संविधान बमोजिम स्थानीय तहमा सुशासन अभिवृद्धि गर्न ल्याइएको अवधारणा पनि हो भन्दा हुन्छ । संविधानमा बाल अधिकार सम्बन्धी व्यवस्था छ । स्थानीय सरकार संचालन ऐन २०७४ लेपनि बाल अधिकारको कुरा गरेको छ । यति मात्र होइन, बालबालिका सम्बन्धी ऐन, २०४८, बाल अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि १९८९ले पनि बाल अधिकारको पक्षमा बोलेको छ । नेपालको चौधौं आवधिक योजना लगायत अन्य कानून, नीति तथा कार्यक्रमहरुले समेत बाल अधिकारको समग्र पक्षलाई सम्वोधन गरेको छ । स्थानीय सरकारको रुपमा रहेका नगरपालिका र गाउँपालिका जनताको नजिकमा रहेर सेवा प्रवाह गर्ने निकायको रुपमा स्थापित भैसकेका छन् । यस सन्दर्भमा बालअधिकारको विषयलाई स्थानीय तहको समग्र कार्य पद्धति र प्रणालीमा अन्र्तभूृत गर्दै कार्यान्वयनमा लैजान खोजिएको छ ।
यसैलाई मध्यनगर गर्दै पाल्पाको रम्भा गाउँपालिकाको वडा नम्बर २ फोक्सिंङकोट पाल्पा जिल्लाकै पहिलो बालमैत्री वडा घोषणा भएको छ । जिल्लाकै विकटमा रहेर पनि हरेक काममा नमुनाका रुपमा अघि बढेको छ । ‘रम्भा गाउंपालिकाको आफ्नै शान ः बालमैत्री स्थानीय शासन हाम्रो अभियान’ भन्ने नाराका साथ बालमैत्री स्थानीय शासन वडा कार्यक्रम गरिएको छ । बालअधिकार सुनिश्चितताका लागि बालबालिकाकेन्द्रित कार्य गर्न बालमैत्री स्थानिय शासन रष्ट्रिय रणनीति तथा घोषणा कार्यबिधि २०७० अनुसार रम्भा गापाको २ नम्बर वडा (फोक्सिङकोटलाई बालमैत्री वडा घोषणा गर्र्ने अवसर प्राप्त भएको हो । राष्ट्रिय सूचक ३९ वटा भएपनि ४१ वटा सूचक पूरा भएको छ । फोक्सिङकोटमा २०७५ साल पौष २७ गते ५४ जना वडास्तरीय सरोकारवालाहरुको भेलाबाट बालमैत्री वडा तयारीका लागि विधिवत् रुपमा तयारी सुरु गरेको हो ।
वडालाई पुर्ण सरसफाई,संस्थागत प्रसुति, पुर्ण खोप, पुर्ण साक्षर जस्ता घोषणा अघिल्ला वर्षहरुमा सम्पन्न गरिसकेको अवस्था छ । बालमैत्री वडा घोषणाका लागि बालमैत्री स्थानिय शासन समितिको बैठक भए । वडास्तरिय बालक्लव नेटवर्क बैठकहरु भएको, वडाका सबै बिद्यालयका शिक्षकहरुलाई बालमैत्री स्थानीय शासन सम्बन्धी अभिमुखीकरण गरिए । बालक्लबहरु गठन गरिएको र बालक्लब संख्या १६पुगेको छ भने वडाका स्वास्थ्यकर्मीहरु, महिला स्वास्थ्य स्यमंसेविका तथा पोषण सहयोगी सहजकर्ताहरुलाई बालमैत्री स्थानीय शासनका विषयमा अभिमुखीकरण भए । त्यसैले यो कामलाई निरन्तरता दिनका लागि चुनौती पनि छ । चुनौती पार गर्दै यसलाई आगामी दिनमा निरन्तरता दिनुनै अहिलेको आवश्यकता हो । घोषणा भए पनि पुनः यसको निरन्तरताका लागि भने खबरदारी जरुरी छ ।