
पाल्पा । रैनादेवी छहरा गाउँपालिकाले दुई छोरी जन्माएर स्थायी बन्ध्याकरा गर्ने दम्पत्ती सम्मान गरेको छ ।
गाउँपालिकाको आठ वडा भित्रका दुई छोरी जन्माएपछि स्थायी बन्ध्याकरण गरेका दम्पत्तीलाई सम्मान गरेको गाउँपालिकाका प्रवक्ता विष्णुप्रसाद पोखरेलले बताए । उनका अनुसार यस्ता नौ जोडीलाई १११ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरेर सम्मान गरेको हो ।
सम्मान पाएका जोडीले आफूहरुलाई समाजमा अझै पनि फरक व्यवहार गर्ने गरेपनि सरकारले समान व्यवहार गरेर हौसला प्रदान गरेको बताएका छन् ।
दम्पत्ती सम्मान कार्यक्रमका बोल्दै गाउँपालिका अध्यक्ष राम बहादुर कार्कीले दुई छोरी दम्पत्ती सम्मान कार्यक्रमले समाजमा सकारात्म सन्देश दिएको बताए ।
छोराको आशामा धेरै सन्तान जन्माउने प्रवृत्ति नरोकिएकाले यसलाई रोक्न पनि यस्तो कार्यक्रम फलदायी हुने उनले बताए ।
नौ जना दम्पत्तीलाई सम्मान गर्दै उनले यसबाट समाजमा नयाँ प्रकारको सोँच आउने विश्वास गरिएको बताए ।
गाउँपालिका उपाध्यक्ष चेत कुमारी थापाले पछिल्लो समय बढ्दो लैंगिक विभेदलाई अन्त्य गरी विभेदरहित समाजको निर्माणका लागि दुई छोरी दम्पत्ती सम्मान कार्यक्रम गरिएको बताइन् ।उनले समाजमा छोरा र छोरीको बराबर महत्व रहेको बताउँदै छोरा बराबर नै छोरीले समेत काम गर्न सक्छन भन्ने सन्देश दिन खोजिएको बताइन् ।