तानसेनका डेरी उद्योगमा ठगी

पाल्पा । तानसेन बजार भित्र संचालित डेरी उद्योगले उपभोक्तालाई ठगी गर्दै आएका छन् ।

उनीहरुले मापदण्ड विपरित सामाग्री बिक्री गर्दै आएका छन् भने उपभोक्तालाई दुधको मूल्यसमेत मनोमानी ढंगले बढाएर ठगी गर्दै आएका हुन् ।

अनुगमनकारी निकायले भने उनीहरुलाई कारबाही गर्न सकेको छैन । अनुगमन सही ढंगले नगर्दा उपभोक्ता ठगिदै आएका हुन् । डेरी उद्योगले पनि प्रशासनले नियमित अनुगमन नगर्ने, एकाएक कारबाही गर्ने ढंगले काम नगर्न आग्रह गरेका छन् ।

स्थानीय प्रशासन, स्थानीय तह, सरोकारवाला निकाय, उपभोक्ताका संघसंस्थासमेत यसमा चासो दिएको पाइदैन । पछिल्लो समयमा तानसेनका अधिकांस डेरी उद्योगमा मापदण्ड विपरितका दुग्धजन्य पदार्थको बिक्री वितरण भएको अनुगमनमा भेटिएको हो । उनीहरुले सबै भन्दा बढी घ्यूको तौलमा ठगी गर्दै आएको तानसेन नगरपालिकाको अनुगमन समितिले ठम्माई गरेको छ ।

नगरपालिकाका लेखा अधिकृत कोशलराज घिमिरेका अनुसार घ्यूको तौलमा सोझै कमी भेटिएको छ । यति मात्र होइन, दुधको गुणस्तरमासमेत कमी भेटिएको छ ।

तानसेनका ठूला भनिएका डेरी उद्योगबाट घ्यू खरिद गर्दा उपभोक्ता ठगिएको गुनासो आएपछि तानसेन नगरपालिकाले अनुगमन गरेको हो । अनुगमनका क्रममा ठगी गरेको पाइएको उनले बताए । डेरी उद्योग र बिक्री केन्द्रमा उपभोक्ताहरुलाई घ्यू बिक्री गर्दा डिब्बा समेत बिक्री गर्दै आएका छन् ।

घ्यूको मूल्यमा बिक्री गर्दा उपभोक्ताले ८० देखि सय रुपैया“सम्म बढी मूल्य तिर्नु पर्छ । उपभोक्ताले शुद्ध र सही तौल भएको एक किलो घ्यू पाउन सकेका छैनन् ।

घ्यू किन्दा डव्बा बाहेक एक किलो घ्यू पाउनु पर्नेमा ठिक विपरित डव्बा सहितको तौलमा एक किलो घ्यू किन्ने गरेका छन् । जसले उपभोक्ताले एक किलो घ्यू किन्दा सत्तरी देखी सय ग्रामसम्म घ्यू कम पाउने गरेको अनुगमनको क्रममा भेटिएको अनुगमन समितिका सदस्य तानसेन नगरपालिकाका शिक्षा शाखा प्रमुख रेशमलाल न्यौपानेले बताए ।

तानसेन नगरपालिका कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, उपभोक्ता हित संरक्षण मञ्च, उपभोक्ता मञ्च, तानसेन नगरपालिका पशु विकास शाखा र पत्रकारको सहभागितामा अनुगमन गर्दा डेरी उद्योगले ठगी गर्दै आएको भेटिएको हो । तर उनीहरुलाई कारबाही भने अहिलेसम्म भएको छैन ।

समितिले दुध, डेरी तथा मिठाई पसलहरुको अनुगमन गरेको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले दुध, दही, घ्यू, छुर्पी, विभिन्न किसिमका मिठाईहरुको नमुना संकलन गरेको छ । संकलन गरेको नमुना परीक्षणका लागि भैरहवा पठाएको छ । अनुगमनका क्रममा घ्यूमा लेवल नभएको भेटिएको छ । बिक्रीका लागि पसलमा राखिएका आईसक्रिमहरुमा उत्पादन मिति थिएनन् । मिठाई पसल, दुध पसलमा सरसफाईको अवस्था राम्रो छैन । अधिकाश दुध तथा दहीमा प्याकेजिङ तथा लेवल राखिएको छैन ।

डेरी पसलबाट उपभोक्ता ठगिएको भेटिएको अनुगमनमा खटिएका तानसेन नगरपालिकाका तानसेन नगरपालिकाका शिक्षा शाखा प्रमुख न्यौपानेले बताए । ‘एक किलो घ्यू किन्दा उपभोक्ताले सय ग्राम कम पाएको पाइएको छ,’ उनले भने, ‘यस विषयमा डेरी सञ्चालकहरुसँग बसेर कुरा गछौँ र कार्यान्वयन नगरे उनीहरुलाई कारवाही गर्नेछौं ।

’ताजादेखी बासी, फ्रिजमा राखेको, बाहिर राखेको दुध सहित दुधजन्य परिकार, मिठाईहरुको नमुना संकलन गरी परीक्षणको लागी भैरहवा पठाएको उनले बताए । नतिजाको आधारमा डेरी व्यवसायीसँग बसेर छलफल चलाउने खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका डिभिजन प्रमुख नरेश श्रेष्ठले बताए ।

अनुगमनमा देखिएका कमिकमजोरी सम्वन्धित पक्षसँग बसेर समाधान गर्दै आए पनि पुनः अनियमितता गरेको भेटिएको तानसेन नगरपालिका पशु विकास शाखा प्रमुख दान वहादुर कुवँरले बताए ।

अनुगमन समितिले तानसेनका श्रीनगर डेरी, गोरस घर, हिमालयन डेरी, चिनारी दुग्ध सहकारी संस्था, डुम्रे दुग्ध सहकारी संस्था, पालुङ्गे डेरी, डायमण्ड मिठाई पसल, सुपर टप मिष्ठान्न भण्डार लगायतका पसलको अनुगमन गरेको थियो ।

नेपाल डेरी एशोसिएसनका जिल्ला अध्यक्ष टिकाराम खरालले अहिलेसम्म घ्यूको डिब्बासहितको तौलमै बिक्रीगर्दै आएको स्वीकारे । उनले अन्यत्र पनि यस्तै ढंगले बिक्री हुने भएकाले आफूहरुले पनि सोही अनुसार बिक्री गरेको बताए ।

दुधको तौल नपुगेका सम्बन्धमा सही ढंगले नाप्नुपर्ने बताए । उनले आगमी दिनमा एसोसिएसनलाई पनि अनुगमनमा सहभागी गराउनुपर्ने माग रहेको समेत बताए ।

सम्बन्धित खवर