रैनादेवी छहरामा कोभिड अस्पताल

पाल्पा, रैनादेवी छहरा गाउँपालिकामा अस्थायी कोभिड अस्पताल संचालनमा आएको छ । गाउँपालिकाले निर्माण गरेको अस्थायी कोभिड अस्पतालको गाउँपालिकाका अध्यक्ष राम बहादुर कार्कीले उद्घाटन गरे ।

छहरा स्वास्थ्य चौकीको पुरानो भवनमा बनेको कोभिड १९ अस्थायी अस्पताल निर्माण गरिएको हो । गाउँपालिकाका अध्यक्ष कार्कीले सरकारले अस्पताल नभएका स्थानीय तहमा न्युनतम पाँच बेडको कोभिड अस्पताल सञ्चालन गर्ने निर्देशन भए अनुसार अस्पताल सञ्चालनमा ल्याएको बताए । उनले गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखी काम गरिरहेको बताए ।

अस्पताल निमार्ण भए संगै उपचारका लागि बाहिर जानु नपर्ने उनले बताए । उपचार अभावमा रैनादेवी छहराका कुनै नागरिकले कोभिडकै कारण ज्यान नगुमोस् भन्ने उद्देश्यले अस्पताल निर्माण गरिएको समेत अध्यक्ष कार्कीले बताए । कोभिड संक्रमण रोकथामका लागि गाउँपालिकाले सुरुदेखि नै सचेत भएर काम गरेको उनले बताए ।

रकारले १० लाख रूपैयाँ सहयोग गरे संगै अस्थाई अस्पताल सञ्चालनमा ल्याएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्र बहादुर क्षेत्रीले जानकारी दिए । उनका अनुसार अस्पतालले कोभिड १९ लागेका बिरामीलाई अन्यत्र लैजानु नपर्ने बताए । अस्थाई कोभिड अस्पतालको उद्घाटन कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष चेतकुमारी थापाले अस्पतालबाट कोभिड १९ का बिरामीले गाउँमै सेवा पाउन सक्ने बताइन् ।

गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर ४ का वडाध्यक्ष बिष्णुप्रसाद पोखरेलले पूरानो स्वास्थ्य चौकी भवनलाई सही सदुपयोग गरिएको बताए । गाउँपालिकाका लेखा अधिकृत लिलामणी बस्यालले सकेसम्म गाउँपालिकाका नागरिकलाई बाहिर उपचार गर्न लैजान नपरोस् भनेर स्वास्थ्यको क्षेत्रमा गाउँपालिकाले लगानी गरेको आफूले देखेको बताए । कार्यक्रममा वडाध्यक्ष, कार्यपालिका सदस्य, महिला स्वास्थ्य स्वमंसेविका र सरोकारवाला निकाएको उपस्थित रहेको थियो । कोभिड १९ अस्थायी अस्पताल उद्घाटन कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखा प्रमुख जीवन रानाले गरेका थिए । कोभिड अस्थायी अस्पतालमा एक डाक्टर, दुई स्टाफ नर्स रहने व्यवस्था छ ।

सम्बन्धित खवर