झोलुेङ्गे पुलमै खुसी

बगनासकाली र रम्भा गाउँपालिका जोड्ने स्वामीघाट खोलामा झोलुेङ्गे पुल बनेकामा स्थानीय खुसी छन् । पक्की मोटरेवल पुल निर्माण हुनुपर्नेमा यहाँका बासिन्दालाई झोलुेङ्गे पुलमै पनि किन औधी खुसी छाएको हो त ? सोचनीय विषय छ । वर्षायाममा खोला ठूलो हुन्छ । खोला तर्न मुश्किल पर्छ । यहाँका बासिन्दाले ज्यानसमेत गुमाएका छन् । त्यसैले होला अहिले घण्टौ लगाएर हिड्नुपर्ने बाध्यताको अन्त्य भएको छ । स्वामीघाट खोलामा पुल नहुँदा खोला तर्ने क्रममा हालसम्म तीन जनाको ज्यान गईसकेको छ । वर्षायाममा खोला तर्न नसकेर खेतीयोग्य जग्गा समेत बाँझो थियो । अब पुनः खेती गर्न उत्साहित भएका छन् ।

पुल नहुँदा खोला तर्न नसकेर खेती गर्नै छाडेका थिए । खोला तर्न नसक्दा एक घण्टा घुम्नुपर्दथ्यो । अब तीन मिनेटमै पुलबाट वारपार गर्न सकिने भएको छ । लामो दूरी तथा पुल अभावले ढुवानीमा समस्या थियो । अब पुनः पशुपालन तथा व्यावसायिक रुपमा तरकारी खेती गर्ने सोँचसमेत बन्नु झोलुेङ्गे पुलकै उत्साह हो । खेती गर्न समस्या भएर खोलापारिका आफन्तलाई खेती लगाउन भनेकाहरु अब आफै गर्ने सोँच बनेको छ । झोलुेङ्गे पुलमै स्थानीयले धेरै सम्भावना देखेका छन् । गाउँमा बसेका साथीभाई मिलेर बाख्रा कुखुरा पाल्ने सोच आएको छ । पुल संचालनमा आएपछि मलेङ्ग भालेबास हुँदै खानीछापसम्म यात्रा गर्न समेत छोटो परेको छ ।

पिपलडाडाँ र खानीछापको सम्बन्धलाई झोलुेङ्गे पुलले अब थप गाढा बनाएको छ । मगर बस्ती रहेको दुई वडामा चेलीबेटीलाई समेत चाडपर्वमा आवतजावतमा सहजता आएको छ । युवा स्वरोजगार तथा ग्रामीण बस्तीको विकासमा समेत टेवा पुग्ने विश्वास स्थानीयको छ । पुल संचालनमा आएसंगै छोटो समयमा सुरक्षित तरिकाले यात्रा गर्न पाउनु पनि खुसी नै हो । कोरोना महामारीका कारण धेरै मानिसहरु घरबाट बाहिर ननिस्केको समयमा स्वामीघाट झोलेङ्गे पुल निर्माण उपभोक्ता समितिको पदाधिकारी स्वयम् नै उपस्थित भएर काम गरेकाले पनि छिटै सम्पन्न भएको छ । यो पुलबाट आगामी दिनमा आयआर्जन र स्वरोजगारका लागि थप सहयोग पुगोस् ।

सम्बन्धित खवर