बगनासकाली र रम्भा जोड्ने पुल बन्यो

पाल्पा, बगनासकाली र रम्भा गाउँपालिका जोड्ने झोलेङ्गे पुल संचालनमा आएको छ । स्वामीघाट खोलामा बनेको पुलको नेपाली काँग्रेस सभापति तथा प्रदेशसभा सदस्य बीरबहादुर रानाले उद्घाटन गरे । विगतमा पुल अभावले जोखिमपूर्ण यात्रा गर्दै आएका थिए ।
स्थानीय बासिन्दा पुल संचालनमा आएसंगै छोटो समयमा सुरक्षित तरिकाले यात्रा गर्न पाएका छन् । पुल उद्घाटन गर्दै रानाले जनताले महशुस गर्ने गरी काम गर्न स्थानीय तहलाई आग्रह गरे । उनले पूर्वाधार निर्माण महत्वपूर्ण काम भएको बताउँदै उनले तीन तहको निर्माण भएपछि सो क्षेत्रमा नागरिकले पाएको दुःखलाई सम्झिएर संघीय र स्थानीय सरकारसंग पटक पटक अनुरोध गरेर पुल निर्माण सम्पन्न भएको बताए । उनले स्थानीय तहले विकास निर्माणका काम गरेपनि खासै प्रचारप्रसार हुन नसकेको बताए । देखिने गरी स्थानीय जनताको आयआर्जन, आर्थिकस्तर सुधार्ने गरी काम गर्नुपर्ने उनले बताए ।

बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले दुई पालिकाकासंगको सिधा सम्पर्कमा यो पुल कोशे ढुंगा सावित हुने बताए । सिद्दार्थ राजमार्गको छेउमै रहेर पनि पुल अभावले समस्यामा परेका नागरिकका लागि अब विकासको ढोका खुलेको अध्यक्ष बस्यालले बताए । सिद्दार्थ राजमार्ग नजिक रहेको र पानीको उपलब्धता भएको हुँदा युवाशक्तिलाई परिचालन गरेर स्वदेशमै आत्मनिर्भर गराउन पुलले महत्वपूर्ण भुमिका खेल्ने विश्वास अध्यक्ष बस्यालको छ । उनले विकास निर्माणका कामसँगै अब आयआर्जनमा पनि जोड दिनुपर्ने बताए ।

बगनासकाली गाउँपालिका र रम्भा गाउँपालिका जोड्ने स्वामीघाट खेलामा निर्माण भएको पुल संचालनमा अएसंगै स्थानीयलाई घण्टौ लागेर हिड्नुपर्ने बाध्यताको अन्त्य भएको छ । स्वामीघाट खोलामा पुल नहुँदा खोला तर्ने क्रममा हालसम्म तीन जनाको ज्यान समेत गएको स्थानीयले बताए । वर्षायाममा खोला तर्न नसकेर बाझो रहेका जमिनमा समेत पुनः खेती गर्न आफूहरु उत्साहित भएको बगनासकाली ५ सोकी कमला न्यौपानेले बताइन् ।

‘हामी पुल नहुँदा खोला नर्त नसकेर खेती गर्नै छाडेका थियो,’ उनले भनिन्, ‘अब त पुल बन्यो खोला तर्न नसकेर एक घण्टा घुम्नुपथ्यो अब त तीन मिनेटमै पुलबाट वारपार गर्न सकिन्छ ।’ कमलाको जस्तै विश्वास भालेबासका मान बहादुर बाकाकलको पनि रहेको छ । लामो दूरी तथा पुल अभावले ढुवानीमा समस्या भएर खेती गर्न छाडेको जमिनमा पुनः पशुपालन तथा व्यावसायिक रुपमा तरकारी खेती गर्नका लागि पुलले सहयोग पुग्ने उनले बताए ।

‘खेती गर्न समस्या भएर मेरो खेतमा दिदीलाई खेती लगाउन भनेको थिए,’ उनले भने, ‘अब पुल बनेपछि धेरै सम्भावना देखेको छु । गाउँमा बसेका साथीभाई मिलेर बाख्रा कुखुरा पाल्ने सोच आएको छ ।’ पुल संचालनमा आएपछि मलेङ्ग भालेबास हुँदै खानीछापसम्म यात्रा गर्न समेत छोटो बाटो पर्ने हुँदा सो क्षेत्रमा कृषि तथा पशुपालनका फर्महरु समेत संचालन हुने तयारी भएको बगनासकाली–४, खानीछापका वडाध्यक्ष हुतमान दर्लामीले बताए ।

उनले सदरमुकासम्म जान समेत छोटो बाटो पर्ने बताए । पिपलडाडाँ र खानीछापको एक आपसमा पुरानो सम्बन्ध रहेको छ । मगर बस्ती रहेको दुई वडामा चेलीभेटीलाई समेत चाडपर्वमा आवतजावथमा समेत सहजता आउने रम्भा गाउापालिका वडा नं. ३ पिपलडाडाका वडा सदस्य सुर्य बहादुर सुनारीले बताए ।

आवतजावतलाई मध्यनजर गरेर निर्माण भएको पुलले युवा स्वरोजगार तथा ग्रामीण बस्तीको विकासमा समेत टेवा पुग्ने विश्वास स्थानीयले गरेका छन् । संघीय सरकारको ४८ लाख तथा स्थानीय सरकारको ८ लाख बराबरको लागतमा निर्माण भएको पुलको लम्बाई एक सय ६ मिटर रहेको छ । आगामी चैत्र मसान्तमा निर्माण सम्पन्न हुनेगरि निर्माण सुरुभएको पुल समयसीमा अगावै निर्माण सम्पन्न भई संचानमा आएको वडाध्यक्ष दर्लामीले बताए ।

कोरोना महामारीका कारण धेरै मानिसहरु घरबाट बाहिर ननिस्केको समयमा स्वामीघाट झोलेङ्गे पुल निर्माण उपभोक्ता समितिको पदाधिकारी स्वयम् नै उपस्थित भएर काम गरेका कारण चार महिनामै पुल संचालनमा आउन सफल भएको स्वामीघाट झोलेङ्गे पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष भीम बहादुर सोमैले बताए । उनले आफू स्वयम काममा खटिएर छोटो समयमा पुल निर्माण सम्पन्न भएको बताए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय