बगनासकाली फुसरहित गाउँपालिका

पाल्पा, बगनासकाली गाउँपालिका जिल्लामै पहिलो फुसको घररहित गाउँपालिका बनेको छ । गाउँपालिकाले एक कार्यक्रम आयोजना गरी पालिका भित्र रहेका सबै फुसका घरहरु जस्तापातामा परिणत भएको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालले जानकारी गराए । उनले संविधानमा ग्यारेन्टी भएको गास वास कपास मध्यको एक गरिखाने जनातालाई आवासमा सहजहोस भन्ने उद्देश्यले पालिकाले वासका लागि फुसको छानो हटाउने कार्यक्रम लागू गरेको बताए ।

बगनासकालीका २ सय ४७ घरपरिवारले पनि जस्तापाता पाएका हुन् । सबैले जस्तापाता पाएकाले गाउँपालिकालाई नै फुसको छानारहित गाउँपालिका घोषणा गरेको उनले बताए । गाउँपालिकाले आर्थिक वर्ष २०७४÷७५ बाट फुसरहित घर बनाउने अभियान सुरु गरेको हो । प्रतिघर तीन वण्डलका दरले जस्तापाता पाएका छन् । पहिलो वर्ष १५ लाख बजेटमा ५५ घरलाई जस्ता पाता बितरण गरिएको गाउँपालिका अध्यक्ष बस्यालले बताए । ‘यो अभियान तीन वर्षमा सकिएको छ,’ उनले भने, ‘जसले गर्दा गाउँपालिकाका सबै घरमा जस्ता पाता लगाउन सफल भएका छौं ।’ अघिल्लो आर्थिक वर्षमा ८३ घरपरिवारलाई र यसवर्ष १ सय ९ घरपरिवारलाई तीन वण्डलका दरले जस्तापाता बितरण गरिएको उनले बताए ।

अध्यक्ष बस्यालका अनुसार सबै घरमा जस्ता पाता लगाएको प्रदेशकै दोस्रो र जिल्लामै पहिलो हुन सफल भएको छ । फुसको छानारहित गाउँपालिका बन्ने पहिलो भएकामा गाउँपालिकालाई गौरवको अनुभूति भएको छ । ‘बगनासकालीलाई फुसको छानारहित गाउँपालिका घोषणा गर्ने कार्यक्रम पहिला नै हुन्थ्यो,’ उनले भने, ‘नलगाइकन किन घोषणा गर्ने भनेर गएएको पुस महिनाभित्र सबै घरपरिवारले जस्ता पाता लगाइसकेका थिए । घोषणा गर्न केही ढिलाई भएको छ । तर पनि हामीले सोँचे अनुसार नै काम अघि बढेको छ ।’ गत पुस महिनाभित्रै फुसरहित छाना भएको गाउँपालिका घोषणा गर्ने योजना भएपनि विभिन्न कारणले गर्दा भएको थिएन ।
गाउँपालिकाका ९ वटै वडामा खरको छाना भएका घरपरिवारलाई निःशुल्क रुपमा २४ वटा पाता जस्ता पाता बितरण गरेको थियो । बगनासकालीका जनप्रतिनिधिले निर्वाचित भएसंगै गाउँगाउँमा रहेका खरको छाना हटाउने कार्यक्रमलाई प्रभावकारी बनाउन घोषणा गरेका थिए । यस वर्ष वडा २ पोखराथोकमा १३, वडा ६ यम्घामा ७४, वडा ७ खानीगाउँमा १९ घरपरिवारको लागि कर्कट पाता लगाएका हुन् । बाँकीले अघिल्ला वर्षमा नै लगाएका हुन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश घिमिरेले तीन आर्थिक वर्षमा करिव ६९ लाख रुपैयाँ लगानीमा फुसको छाना रहित घर अभियान सम्पन्न्न भएको बताए । उनले जस्तापाता सम्बन्धित वडाका जनप्रतिनिधि र कर्मचारीहरुको रोहवरमा वितरण गरिएको थियो । उनका अनुसार विपन्न, असहाय भएमा लगाउनसमेत सहयोग गर्न सकिने निर्णय कार्यपालिकाममा भएको थियो । तर सबै वडाका वडाध्यक्षले स्थानीयस्तरमै यसलाई वर्मपर्मबाटै काम सम्पन्न गराएको हुन सक्ने उनले बताए । ‘नौ वडाका सबै घरधुरी जस्तापाता लगाएको पक्का भएपछि घोषणा गरेको हो,’ उनले भने, ‘त्यसैको आधारमा गाउँपालिकालाई नै घोषणा कार्यक्रम गरेका हौं ।’
सबैलाई सम्बन्धित वडा कार्यालयमार्फत् जस्तापाता दिइएको गाउँपालिकाकी उपाध्यक्ष सरस्वती चिदीले बताइन् । ‘हामीले दुई महिना अघि नै जस्ता पाता लगाएको गाउँपालिका घोषणा गर्न सकिन्थ्यो,’ उनले भनिन्, ‘हामीले लगाउनका लागि विभिन्न निर्णय गरेका थियौं । जसबाट यदि कसैले लगाएन भने अनुदान नै काटिनेसम्मको निर्णय भएकाले पनि लगाउनमा सहयोग पुगेको हो ।’ गाउँपालिका उपाध्यक्ष चिदीले पालिकामा संकलन तथ्यांक अनुसार २ सय ५२ घर परिवारलाई तीन वन्डलका दरले जस्ता पाता सहयोग गरिएको हो । उनले कहि कतै छुटेको वा समस्या भएको भए पालिकामा जानकारी गराउन आग्रह गरेकाले पनि छुटेको छैन भन्ने पक्का भएको बताइन् ।

फुसको छानारहित गाउँपालिका घोषणा कार्यक्रममा सहभागी पत्रकारहरुले फुसको छाना रहित पालिका संगै उनीहरुको आर्थिक आर्यआजनका गतिविधिमा केन्द्रित रहेर बजेट तथा योजना तयार गर्न सुझाब दिएका छन् । फुसको छाना रहित पालिका घोषणा कार्यक्रमका अवसरमा गाउँपालिको त्रैमासिक बुलेटिन बगनासकाली आवाज स्वास्थ्य विशेष अंकको समेत सार्वजनीकिकरण अध्यक्ष बस्याल, उपाध्यक्ष चिदी लगायतले गरे ।

जिल्लाका अन्य गाउँपालिका र नगरपालिका पनि फुसको छानारहित स्थानीय तह बनाउन जुटेका छन् । यसको सुरुवातको घोषणा रैनादेवी छहरा गाउँपालिकाले गरेको थियो । त्यसैको सिको गर्दै अन्य गाउँ र नगरले पनि यसलाई महत्व दिएर काम अघि बढाएका हुन् । जिल्लामा अहिलेसम्म कुनै पनि स्थानीय तहले फुसको छानारहित भएको घोषणा गरेका थिएनन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय