
रानीमहल आफैमा ऐतिहासिक, पुरातात्विक, धार्मिक एवं सांस्कृति महत्व बोकेको क्षेत्र हो । पछिल्लो समय रानीमहलमा ‘हेरिटेज होटल’ बनाउने चर्चा छ । यो निर्णय हामी सबैका लागि अमान्य हो । रानीमहलमा होटल संचालन गर्ने विषयलाई पूर्ण रुपमा विरोध गर्नुपर्छ । सामाजिक सञ्जालमा यसको समर्थनमा कोही देखिएनन् । निजी व्यवस्थापनमा दिएपनि रानीमहलमै होटल बनाउन हुँदैन । नेपाल पर्यटन बोर्डले रानीमहललाई ‘हेरिटेज होटल’ बनाउन सकिने अवधारणा अघि सार्नु नै गलत छ । होटल संचालनका लागि सरकारलार्ई प्रस्ताव गर्नु नै गलत छ । किन भने रानीमहल मन्त्रालय र पुरातत्व विभागले १० वर्षका लागि तानसेन नगरपालिकालाई हस्तान्तरण गरिसकेको छ ।
रानीमहलको पहिचान नभइकन प्रस्ताव गर्ने योजनाले कुनै अर्थ लाग्दैन । सम्पदाको महत्व र ऐतिहासिकतालाई आधार बनाउन पर्छ । रानीमहलको उपयोग, संरक्षण र विकासको योजना त्यसपछि बनाउनुपर्छ । रानीमहलमा म्यूजियम बनाउन सकिन्छ । होटल बनाउन सकिन्न । पर्यटकीय गन्तव्य रानीमहललाई केन्द्र बनाएर वरपर होटल खोल्न सकिन्छ । सोही भवनलाई होटलमा प्रयोग गर्न दिन हुँदैन । रानीमहलमै होटल सञ्चालन गर्ने विषय अमान्य नै हो । हुन त तानसेन नगरपालिकाले पनि रानीमहल संरक्षण र उपयोग सम्बन्धमा विस्तृत परियोजना निर्माण गरेर अघि बढेको छ । त्यस विषयमा छलफल हुनुपर्ने हो । नेपालपर्यटन बोर्डले एक पटक तानसेन नगरपालिकासँग सहकार्य गर्नुपर्ने हो त्यो पनि नगर्नु दुःखको विषय हो ।
किन भने तानसेन नगरपालिका सार्वजनिक निजी साझेदारीअन्तर्गत अघि बढेको छ । उसले प्रस्ताव आह्वान भएर प्राइम एक्सेस प्रालिसँग सम्झौता अन्तिम चरणमा पुगेको छ । रानीमहलको पर्यटकीय आकर्षणका लागि विभिन्न योजना बनाएको छ । परिसरसँग जोडिएको २ सय रोपनी जग्गामा रानीमहललाई असर नपर्ने गरी न्यू क्लासिकल शैलीका होटलहरु बनाउन सकिने प्रस्ताव छ । रानीमहलको दरबार संरचनामा नै होटल बनाउने पक्षमा कोही पनि छैन । त्यसैले तानसेन गरपालिकाले बनाएको गुरुयोजना अनुसार नै काम गर्नुपर्छ । हेरिटेज होटल बनाउने कुरा अमान्य हुन्छ । रानीमहलको उपयोग, संरक्षण र पर्यटन बिस्तारका लागि होटल होइन, नगरपालिकाको गुरुयोजना कार्यान्वयन गरेर अघि बढ्नुपर्छ ।