रानीमहललाई ‘हेरिटेज होटल’ अमान्य

पाल्पा, ऐतिहासिक, पुरातात्विक, धार्मिक एवं सांस्कृति महत्व बोकेको रानीमहलमा ‘हेरिटेज होटल’ बनाउने चर्चा पाएपछि जिल्लाका सरोकारवालाले यो निर्णय अमान्य हुने बताएका छन् । उनीहरुले रानीमहलमा होटल संचालन गर्ने विषयको पूर्ण विरोध गरेका छन् । सामाजिक सञ्जालमा यसको समर्थनमा कोही छैनन् । भएका पनि निजी व्यवस्थापन दिएपनि होटल बनाउन नहुने धारणा राख्दै आएका छन् ।

केही दिनअघि नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक डा. धनन्जय रेग्मीले आफ्नो एक वर्षे कार्यकालको उपलब्धि जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा रानीमहललाई ‘हेरिटेज होटल’ बनाउन सकिने बताएपछि यसका विषयमा टिकाटिप्पणी सुरु भएको हो । डा. रेग्मीले आफ्नो प्रस्तुतिमा होटल संचालनका लागि सरकारलार्ई प्रस्ताव गरेपछि स्थानीय सरोकारवालाबाट बिरोध भइरहेको छ । सामाजिक सञ्जालमा यसको पूर्ण रुपमा विरोध भएको छ ।

इतिहासविद् निर्मल श्रेष्ठले रानीमहलको पहिचान नभइकन प्रस्ताव गर्ने योजनाले कुनै अर्थ नलाग्ने बताए । सम्पदाको महत्व र ऐतिहासिकतालाई आधार बनाएर मात्र रानीमहलको उपयोग, संरक्षण र विकासको योजना बनाउनुपर्ने उनले बताए । उनका अनुसार रानीमहलमा म्यूजियम बनाउन सकिन्छ तर होटल बनाउन सकिन्न । होटल व्यवसायी संघ पाल्पाका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले पर्यटकीय गन्तव्य रानीमहललाई केन्द्र बनाएर पाल्पामा होटल खोल्न सकिने बताए । उनका अनुसाार रानीमहलमै होटल सञ्चालन गर्न नहुने आफ्नो मत रहेको बताए ।

तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले रानीमहल संरक्षण र उपयोग सम्बन्धमा विस्तृत परियोजना निर्माण गरेर अघि बढेको बताए । उनले सार्वजनिक निजी साझेदारीअन्तर्गत जाने भनेर निर्णय गरिसकेको र प्रस्ताव आह्वान भएर प्राइम एक्सेस प्रालिसँग सम्झौता अन्तिम चरणमा पुगेको बताए । रानीमहलको पर्यटकीय आकर्षणका लागि विभिन्न योजना बनाउने र परिसरसँगको जोडिएको २ सय रोपनी जग्गामा रानीमहललाई असर नपर्ने गरी न्यू क्लासिकल शैलीका होटलहरु बनाउन सकिने प्रस्ताव गरिएको छ । रानीमहलको दरबार संरचनामा नै होटल बनाउने पक्षमा आफूहरु नभएको बताउँदै माथिबाटै निर्णय गरेको भए भन्न नसकिने उनले बताए ।
रानीमहल सञ्चालन तथा व्यवस्थापन सम्बन्धी समझदारी भइसकेको नगरपालिकाका सूचना अधिकारी दुर्गा थापाले बताए । नगरपालिकाले अहिले सम्बन्धित पक्षबाट रानीमहल सञ्चालन र व्यवस्थापनको कार्ययोजना पर्खिरहेको उनले बताए । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाटा) पाल्पा च्याप्टर सचिव सागरमान महर्जनले गुरुयोजना अनुसार नै काम गर्नुपर्ने तर हेरिटेज होटल बनाउने कुरा अमान्य हुने बताए । रानीमहल एकपटक रंगरोगन गर्दा ३०/४० लाग्छ । मर्मतसम्भार गर्न करोडभन्दा बढी खर्च हुन्छ । पछाडि पहिरो गएको छ । पार्किङ स्थल छैन । हेर्न गएका मानिस गाली गरेर फर्किरहेको छ । यी लगायतका कारणले गर्दा पनि पर्यटन बोर्डले नयाँ योजना बनाएको हुन सक्ने आँकलन पनि गरेका छन् ।

रानीमहलको उपयोग, संरक्षण र पर्यटन बिस्तारका लागि पर्यटन बोर्डले हेरिटेज होटल, म्यूजियम, कालीगण्डकीमा ¥याफ्टिङ, गण्डकीको किनारमा टेन्ट क्याम्प बनाउन सकिने धारणा अघि सारेको हो । रानीमहललाई खण्डहर बनेर जान दिनुभन्दा व्यावसायिक रुपले उपयोग गर्न सके संरक्षण र विकासका लागि केही राजश्व उठ्छ भन्ने पर्यटन बोर्डको बुझाई हो । रानीमहललाई हेरिटेज होटेलका रुपमा विकास गरी भारतमा प्रचार गर्ने हो भने खर्चालु पर्यटक भित्राउन सकिने बोर्डको अवधारणा छ । बोर्डले आफ्नो अवधारणासहितको प्रस्ताव स्थानीय सरकारदेखि व्यवसायीसम्म प्रस्तुत गरिसकेको छ । बोर्डको अवधारणा अनुसार रानीमहलमा हेरिटेज होटेल रहने छ भने त्यसअगाडी र आसपास रहेको कालीगण्डकी नदीमा भने पानीमा आधारित पर्यटकीय गतिविधि सञ्चालन गर्न सकिने छ ।

जहाँ र्याफ्टिङदेखि स्वीमिङसम्मका गतिविधि हुनेछन् । फराकिलो नदी किनारलाई विकास गरी व्यवस्थित गरिनेछ । रानीमहलमा पर्यटक आकषिर्त गर्न सक्दा यसले पाल्पाका अन्य आकर्षक गन्तब्यलाई समेत पर्यटकीय उत्पादनसँग जोड्न सकिने बोर्डको अवधारणा छ । बोर्डका अनुसार हनिमुन टूरमा रानीमहल जाने पर्यटकले यस आसपासमा रहेका भैरव मन्दिर, तानसेन बजारसम्म घुमफिर गर्न सक्नेछन् ।

बोर्डले पहिलो चरणमा हेरिटेज होटेल, वाटर एक्टिभिटी र नदी किनारमा संरचना बनाउने ३० करोड रुपैयाँ लगानीको प्रस्ताव समेत गरेको छ । यस्तो लगानी ३ वर्षको अवधिमा गर्न सकिने र यो क्षेत्रलाई एक आकर्षक पर्यटकीय गन्तब्यका रुपमा विकास गर्न सकिने बोर्डको अवधारणा छ । रानीमहलको अगाडी कालीनदी किनारामा पर्यटकीय संरचना बनाउने र पानीजन्ज गतिविधि संचालन गर्ने सम्बन्धमा भने विस्तृत परियोजना प्रतिवेदन बनाउने काम नै अगाडी बढेको बोर्डले जनाएको छ । रानीमहल तत्कालिन जनरल खड्गशमशेरले निर्माण गरेका हुन् ।

पुरातत्व विभागले रानीमहल दरबारको संरक्षण, सम्वद्र्धन तथा जगेर्ना गर्न १० वर्षका लागि तानसेन नगरपालिकालाई हस्तान्तरण गरेको छ । पश्चिम नेपालका कमाण्डर खड्ग शमशेर राणाले आफ्नी दिवंगत रानी तेजकुमारीको सम्झनामा वि.सं.१९५४ मा सो महल बनाउन लगाएका हुन् । पछि कमाण्डरको जिम्मेदारीबाट हटाइएपछि उनी भारत पलायन भएका थिए । बेलायती शैलीमा निर्माण भएको यो महल त्यसयता महल खाली छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय