पाल्पा । पूर्वखोला गाउँपालिका अन्तर्गत वडा नम्बर ४ बीरकोट खल्लुकभन्ज्याङ्मा आयुर्वेद औषधालायको भवन उद्घाटन भएको छ । आयुर्वेद औषधालयको नयाँ पक्की भवनबाट सेवा प्रवाह सुरु भएको हो । विगतमा सामान्य घरबाट सेवा प्रवाह गर्दै आएको औषधालयले अब सुविधा सम्पन्न भवनमा सेवा दिन थालेकामा स्थानीयसमेत खुसी भएका छन् ।
भवनको प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री दलबहादुर रानाले उद्घाटन गरे । उनले आयुर्वेद औषधिप्रति पछिल्लो समयमा पुनः विश्वास वृद्धि हुँदै गएको बताए । उनले नयाँ भवनबाट दुर्गम गाउँका बासिन्दालाई सर्वसुलभ र व्यस्थित सेवा दिनका लागि सहयोगी हुने बताए । बीरकोट क्षेत्र मात्र नभएर पूर्वखोलाका धेरैभन्दा धेरै स्थानबाट यहाँ सेवा लिन आउन सक्ने भएकाले यसलाई व्यवस्थित बनाएर लैजानुपर्ने सुझाव दिए ।
लुम्बिनी प्रदेशसभा सदस्य नारायणप्रसाद आचार्यले जनताको स्वास्थ्य सेवाप्रति पूर्वखोला गाउँपालिका, प्रदेश सरकार सबै चिन्तित भएको बताए । उनले गाउँपालिका अन्तर्गत बीरकोटमा बनेको आयुर्वेद औषधालय भवनले जब्गादी, सिलुवा लगायतका स्थानबाटसमेत सेवा लिन आउने बताए । यस क्षेत्रकै गौरवको रुपमा आयुर्वेद औषधालय रहेको बताउँदै उनले जनताका लागि सेवा प्रवाह राम्रो गर्न यहाँ कार्यरत कर्मचारीले पनि ध्यान दिनुपर्ने बताए ।
पूर्वखोला गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले स्थानीय तहको निर्वाचन भएसँगै गाउँपालिकाले जनताको स्वास्थ्यका लागि धेरै काम गर्दै आएको बताए । उनले घरमा सुत्केरी हुने अवस्था अहिले नभएको र यो काम पहिलो वर्षमै गरेको समेत बताए । प्रमुख प्रशासकीय अधिकृत ज्ञानुप्रसाद पनेरुले जनताको स्वास्थ्य अवस्था राम्रो भयो भने मात्र अन्य काम गर्न पनि सहज हुने बताए । उनले गाउँपालिकाले वार्षिक करोड बढी स्वास्थ्यको क्षेत्रमा लगानी गर्दै आएको बताए । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले बीरकोट सबैतिरबाट केन्द्र रहेकाले पनि सहज सेवाका लागि सही स्थान हुने बताए । उनले जनताको स्वास्थ्यका लागि आफूहरु कोभिड पनि नभनेर खटिएको बताए ।
कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष भागिरथी भट्टराई, पाल्पा आयुर्वेद स्वास्थ्य केन्द्रका निमित्त प्रमुख माधव प्रसाद बस्याल, वडा सदस्य निरबहादुर सारुले जनताको स्वास्थ्य अवस्था सुधारका लागि सबै क्षेत्रबाट सहयोग हुने बताए । कार्यक्रम गाउँपालिका अध्यक्ष नुनबहादुर थापाको अध्यक्षता, स्वास्थ्य शाखा प्रमुख मोहन ढकालको संचालनमा सम्पन्न भएको हो ।