पाल्पा । डिभिजन वन कार्यालयको आयोजनामा पाल्पाको तानसेनमा वन डढेलो नियन्त्रण तथा रोकथाम सम्बन्धी पूर्व तयारी गोष्ठी सम्पन्न भएको छ । गोष्ठीले जिल्ला प्रशासन कार्यालय, सशस्त्र प्रहरी, नेपाली सेना, जनपथ प्रहरी, तानसेन नगरपालिका, सामुदायिक वन उपभोक्ता महासंघ डिभिजन वन कार्यालय रहेको र्यापिड रेस्पोन्स टिम गरेको छ ।
यही टिमले तानसेन नगरभित्र र बाहिर जानका लागि जनशक्ति परिचालन, दमकल व्यवस्थापन लगायत परिचालन गर्नेछ । डढेलो नियन्त्रणका लागि औजारको आवश्यकता पर्ने र सँगसँगै जनचेतनामूलक कार्यक्रमका साथै प्रचारप्रसार गर्नुपर्ने सहभागीले सुझाव दिएका छन् । विशेषगरी चुरेक्षेत्र र सल्लाको जंगलमा बढी आगलानी हुनेगर्छ । त्यसैले सोही अनुसारको योजना बनाउनुपर्नेमा वन महासंघका जिल्ला अध्यक्ष निरञ्जन भुषालले बताए ।
प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले सल्लाका जंगलका साथै घर नजिकमा नियन्त्रित डढेलो लगाउनुपर्ने बताए । प्रहरी उपरीक्षक सन्तोष कुमार भटराईले सबै निकायबीच समन्वय हुन सक्यो भने डढेलो लाग्नबाट जोगाउन सकिने बताए । कार्यक्रममा नेपाली सेना, सशस्त्र प्रहरी, तिनाउ वन समन्वय समिति लगायतबाट सुझाव आएको थियो । तिनाउ वन समन्वय समितिका अध्यक्ष पदमलाल शाक्यले आगामी चैत ७ गते विगतका वर्षमा जस्तै यसवर्ष पनि डढेलो नियन्त्रण आमसभा गर्ने योजनासाथ अघि बढेको जानकारी गराए ।
डिभिजन वन कार्यालयका प्रमुख मोहन पौडेलले जिल्लाको समग्र अवस्थाबारे जानकारी गराउँदै यसवर्ष डढेलो नियन्त्रणका लागि ८ लाख ७० हजार बजेट रहेको जानकारी गराए । अघिल्लो वर्षको बजेटबाट जनेचतनामुलक गीत निर्माण गरेको र यसवर्ष यही मार्फत् सन्देशमूलक शिक्षा प्रसार हुने उनले बताए । कार्यक्रममा डिभिजन वनका रेञ्जर यमलाल पोखरेलले स्थानीय तह, वन महासंघ, वन समन्व्य समितिसँग पनि समन्वय गरेर कार्यक्रम गरिने जानकारी गराए । सोही अवसरमा बाँके राष्टिय निकुञ्जबाट वन्यजन्तुबाट हुने क्षतिको क्षतिपुर्ति कमल ज्ञवाली र सूर्यबहादुर खत्रीलाई प्रमुख जिल्ला अधिकारी न्यौपाने र डिभिजन वन प्रमुख पौडेलले हस्तान्तरण गरे ।