
पाल्पा । पूर्वखोला गाउँपालिकाले वडा नम्बर १ स्थित सिलुवा स्वास्थ्य चौकीमा ल्याब सेवा संचालन गरेको छ । पूर्वखोला गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले ल्याब सेवाको उद्घाटन गर्दै गाउँघरका बासिन्दालाई टाढासम्म ल्याब सेवा लिन जान नपरोस् भन्नका लागि सेवा सुरु गरेको बताए । उनले जनतालाई सेवा दिन स्थानीय सरकार जहिले पनि अघि सर्ने बताए ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ज्ञानुप्रसाद पनेरुले दुर्गमका बासिन्दाका लागि ल्याब सेवाका लागि सहयोग पुग्ने बताए । उनले जनताको सेवाका लागि स्थानीय सरकारले स्वास्थ्यको क्षेत्रमा सहयोग गर्दै आएको बताए । कार्यक्रममा डाक्टर सुदिक्षा भण्डारीले सेवा प्रवाहका बारेमा जानकारी गराइन् । उनले गाउँघरमा ल्याब सेवा भएपछि धेरै सहयोग पुग्ने बताइन् ।
गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले गाउँपालिकामले बीरकोट, देवीनगर, जल्पा, र सिलुवामा ल्याब सेवा संचालन भइसकेको जानकारी गराए । देवीनगरका लागि प्रदेश स्वास्थ्य आपूर्ति कार्यालयले सामाग्री दिएको छ । यस्तै जल्पा र सिलुवा स्वास्थ्य चौकीका लागि आवश्यक सामाग्रीका लागि प्रदेश सरकारले २० लाख दिएको छ । यहाँ काम गर्ने जनशक्ति भने गाउँपालिकाले नै व्यवस्थापन गरेको स्वास्थ्य शाखा प्रमुख ढकालले बताए । सिलुवामा राखिएकाे ल्याब सेवाबाट १० हजार बढी बासिन्दा लाभान्वित हुन्छन ।