संग्रहालयको काम पारदर्शी होस्

सम्पादकृीय

पाल्पा दरबार संग्रहालयमा प्रताप शमशेर जबराको शालिक निर्माण भएको छ । प्रदेश सरकारको सहयोगमा संग्रहालय परिसरमा शालिक निर्माण भएको हो । शालिक निर्माण भएको छ तर यसको लागत र बजेटका विषयमा कुनै जानकारी छैन । संग्रहालयमा निर्माण भएका सामाग्रीहरु र यहाँ राखिएका वस्तुका विषयमा समेत विगतदेखि नै पारदर्शीताको प्रश्न उठ्दै आएको छ । वार्षिक रुपमा कति बजेट आउँछ ? के काम हुन्छ र कसरी हुन्छ भन्ने विषयमा समेत कुनै पारदर्शीता छैन । दरबार संग्रहालय प्रदेशस्तरीय भएपनि पाल्पालीको सम्पत्ति हो । यहाँ के हुन्छ भन्ने यहाँका नागरिक समाज, पाल्पा उद्योग वाणिज्य संघ, पाल्पा व्यापार संघ, स्थानीय प्रशासनले चासो दिनुपर्छ । तर यस विषयमा कसैको पनि ध्यान पुगेको छैन । यहाँ काम नभएको होइन, भइरहेको छ । तर सुस्त गतिमा छ । यहाँको विषयमा कसैलाई कुनै चासो नहुनु दुःखको विषय हो ।
संग्रहालयका विषयमा स्थानीयले अपनत्व लिनुपर्छ । यसमा कुनै दुई मत छैन । तर कसैलाई पनि चासो भएको जस्तो लाग्दैन । संग्रहालयमा लुम्बिनी प्रदेशका १२ जिल्ला झल्कने गरी सामाग्री राख्नुपर्छ । कहिलेसम्म राखिने हो थाहा छैन । वार्षिक कति बजेट विनियोजन भएको छ ? संघीय, प्रदेश र स्थानीय सरकारले लगानी कति गरेका छन् ? यसको जानकारी हुनपर्छ वा पर्दैन । कति पर्यटक पाल्पा दरबार संग्रहालय पुगे ? कतिले हेरे वा हेरेनन् । प्रतिक्रिया के दिए ? तीन चार वर्षदेखि अहिलेसम्म यसमा के कति सुधार भयो वा भएन । यसको नेतृत्व कसले लियो ? यहाँ के के काम भए ? यसलाई व्यवस्थित गर्न के काम भए ? पाल्पा दरबार परिसरलाई व्यवस्थित गर्दैै मूलढोका, तीन साँचा, पार्कक्षेत्र, बालमन्दिर लगायतको क्षेत्रलाई थप व्यस्थित कहिले गर्ने हो ? गुरुयोजना बनेकाले सोही अनुसार काम के के भए ?
संग्रहालय घोषणा भएको पनि धेरै वर्ष भइसकेको छ । संग्रहालय व्यवस्थापनका लागि बजेट नआएको पनि होइन । तर यहाँ देखिने गरी काम हुन सकेको छैन । संग्रहालयमा दरबन्दी छ तर कर्मचारी छैनन् । जसका कारण काम गर्न अप्ठेरो छ । बजेट विनियोजन भएर सुरुका वर्षमा खर्च नै नभएर फिर्ता पनि भए । पछिल्ला वर्षमा बजेट विनियोजन भएको छ । तर यसका विषयमा यहाँका कसैलाई चासो छैन । त्यसैले आगामी दिनमा गरिने काममा पारदर्शीताको खाँचो छ । यहाँ गरिने क्रियाकलाप जनताले जान्न पाउने अधिकार छ । त्यसैले यहाँ भइरहेका गतिविधिलाई पनि पारदर्शी ढंगले काम गर्नुपर्छ । सबै क्षेत्रबाट यसलाई वेवास्ता गर्ने र भएका गतिविधि पनि अपारदर्शी ढंगले काम गरियो भने खबरदारी गर्ने कसले ?

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय