पाल्पा । प्रधानमन्त्रीलाइ केपी शर्मा अाेलीलाइ तानाशाह हुनबाट राेक्न सबै शक्ति एक जुट हुनुपर्ने पाल्पामा अायाेजित कार्यक्रममा दाहाल नेपाल पक्षका नेताहरूले बताएका छन् । उनीहरूले अाेलीकाे असंवैधानिक कदम तानाशाह लाद्न खाेजेकाेसमेत बताएका छन् । उनीहरूले भने, ‘ओलीको असंवैधानिक र अलोकतान्त्रिक कदम सफल हुन सक्दैन’ कार्यक्रममा बाेल्दै नेकपा दाहाल–नेपाल समूहका स्थायी कमिटि सदस्य युवराज ज्ञवालीले कम्युनिष्ट पार्टीलाई सोभियत संघमा जस्तो समस्या आउन सक्ने चेतावनी दिएका छन् ।
उनले हाम्रो मुलुकमा पनि केपी शर्मा ओलीले सोभियत संघमा जस्तै कम्युनिष्ट पार्टी विघटन गर्न सक्ने बताए । नेकपा जिल्ला कमिटि पाल्पा दाहाल–नेपाल समूहले शनिबार तानसेनमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै स्थायी कमिटि सदस्य ज्ञवालीले ओलीसंग कम्युनिष्ट भन्ने नामो निशान नभएकोसमेत बताए ।
‘पहिलेदेखि मैले भन्दै आएको थिए, बहस गर्दै आएको थिए,’ उनले भने, ‘केपी शर्मा ओलीले कम्युनिष्ट पार्टी सिध्याउने छन् ।’ अहिले ढिलै भएपनि नेताहरुले बुझेको बताउँदै उनले भने सोभियत संघमा कम्युनिष्ट पार्टी विघटन मात्रै भएन देश नै टुक्रिएको बताए । उनले अहिले सोभियतसंघमा पुँजीवाद आएको बताउँदै त्यसबाट शिक्षा लिनुपर्ने बताए । सोभियत संघमा जस्तै कम्युनिष्ट पार्टी विघटन गरेर लैजाने सोँच भएकाहरुलाई परास्त गर्ने ठूलो समूह रहेको उनले बताए । केपी ओलीले समाप्त गर्न खोजे पनि यसलाई जोगाउने जिम्मा आफूहरुलाई आएको उनले बताए ।
कार्यक्रममा बोल्दै नेकपा दाहाल–नेपाल समूहका स्थायी कमिटि सदस्य घनश्याम भुसाललले पार्टी विभाजन गर्न केपी शर्मा ओली पक्ष लागि परेको बताए ।उनले अब पार्टी फुटाउने तयारी गरेको बताउँदै पदमा गएर संसद विघटन गरेका ओलीले अब पार्टी पनि नयाँ गठन गर्न लागेको बताए । भुसालले पार्टीभित्र गुट चलाउने ओली पक्ष खतरानक खेल खेलेको बताउँदै सोभियत संघमा जस्तै गर्न खोजेको बताए । ‘सोभियत संघ जस्तोमा पार्टीका महासचिवले आफै पार्टी विघटन गरे,’ उनले भने, ‘पार्टीमात्र विघटन गरेनन् सोभियत संघ टुक्रयाउने काम भयो ।’ हाम्रो मुलुकमा पनि ‘रावण’ जन्मिएको बताउँदै उनले अब संसद व्यूतेन भने आगो लाग्ने बताए । आगो लागेपछि बन्चराका बीड रहला नरहला भन्ने हिसाब किताब नहुने उनले बताए । पछिल्लो समयमा ओली समूहका नेताहरुले मुद्दा जितिन्छ भन्न कम हुँदै गएको बताउँदै सेटिङमा छौ भन्नेहरुलाई अहिले स्वर कम भएको बताए । सरकारी वकिलहरुको तर्कमा कुनै दम नभएको बताउँदै उनले ओलीका कार्यकर्ताले भन्ने गरेको ‘अचम्मको अधिकार छ’ अहिले बिस्तारै सेलाउंदै गएको बताए ।
नेकपा दाहाल–नेपाल समूहकी लुम्बनी प्रदेश अध्यक्ष ओनसरी घर्तीले केपी शर्मा ओलीले गरेको संसद विघटनले आफैले सडकमा लैजाने बताइन् । संसद पुनःस्थापना भएन भने विघटन भएको ६ महिनाभित्र निर्वाचन हुनुपर्ने बताउँदै उनले तानाशाह गरेर बस्ने दिन अब गएको उनले बताइन् । नेकपाको सरकार आउँदा जनता धेरै खुसी भएको तर केपी शर्मा ओलीले कम्युनिष्ट पार्टीभित्रैबाट खोक्रो बनाउने काम भएको उनले बताइन् । निरंकुश ढंगले निर्णय गर्ने र संविधानलाई नै आक्रमण गरेको बताउँदै उनले भनिन्, ‘केपी ओली निरंकुश रहेछन् ।’
नेकपा दाहाल–नेपाल समूहका केन्द्रीय सदस्य तुलाराम घर्ती बसन्तले पार्टीमा धोका दिने र तानाशाही गरेकै कारण अहिलेको अवस्था आएको बताए । उनले वैचारिक र राजनीतिक प्रशिक्षण लिएर जनतामाझ केपी ओलीको झुटको खेतीलाई प्रष्ट पार्नुपर्ने बताए । नेकपा दाहाल–नेपाल समूहका केन्द्रीय सदस्य ठाकुर गैरेले नेपाली जनताले असंवैधानिक कदमलाई राम्रो काम नभनेको बताए । उनले केपी ओली र सरकारले दिनप्रतिदिन प्रतिगमनलाई बलियो बनाउन लागेको बताए । ज्ञानेन्द्र शाहले दलहरुप्रति प्रतिवन्ध गरेपछि यस्ता धेरै वितण्डा मच्चाएको बताउँदै उनले ती निरंकुशताका पक्षमा भएको कदम सफल नभएजस्तै अहिले केपी ओली सरकार पनि पानीको फोका जस्तै फुट्ने बताए । कार्यक्रम नेकपा दाहाल–नेपाल समूहका केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेयको अध्यक्षता, पाल्पा जिल्ला सचिवालय सदस्य कमल पाण्डेयको स्वागत र जिल्ला सचिव राजेन्द्र विकको संचालनमा भएको कार्यक्रममा जिल्लाका विभिन्न स्थानबाट अगुवा कार्यकर्ताको सहभागीता रहेका थियो ।