
पाल्पा । तानसेन नगरपालिका–४, होलाङ्दी धारा नजिकै निर्माण भएको किरियापुत्री भवनको उद्घाटन गरिएको छ । तानसेन नगरपालिकाका नगरप्रमुख अशोककुमार शाहीले भवन उद्घाटन गरेका हुन् । भवनको रिवन काटेर र दीप प्रज्वलन गरेर उद्घाटन गर्दै नगरप्रमुख शाहीले यस भेगका मात्र नभएर तानसेनकै बासिन्दालाई फाइदा पुग्ने गरी भवन निर्माण भएको बताए ।
उनले घरमा बस्न नमिल्ने, डेरावाल, कर्मचारी, बजारभित्र घर भएपनि साँघुरो भएकाहरुका लागि किरियापुत्री भवनले धेरै सहयोग पुग्ने बताए । सोही कार्यक्रममा भेला भएका उपभोक्ताहरुलाई होलाङदीदखि तानसेन हुँदै ढुंगाखानी सडक २०६९ सालमै राजपत्रमा प्रकाशित भएर सहरी सडक भएको बताएका थिए । उनले नगरपालिकाले उपभोक्ताको मर्कालाई बुझेर यस विषयमा सडकविभाग र सडक डिभिजनसँग पत्रचार गरिसकेको बताए ।
तानसेन नगरपालिका उपप्रमुख लक्ष्मीदेवी पाठकले किरियापुत्री भवनबाट सेवा पाउँदा अप्ठेरोमा पर्नेहरुलाई सहज हुने बताइन् । कार्यक्रममा तानसेन नगरपालिका वडा नम्बर ४ का कार्यवाहक वडाध्यक्ष गणेश थापाले नगरस्तरीय बजेटको १६ लाखबाट भवन निर्माण भएको जानकारी गराए । उनले तल्लो तलामा हल, दुई कोठा, ट्वाइलेट निर्माण भएको र यसबाट धेरैले सुविधा पाउने बताए । सोही कार्यक्रममा उपभोक्ता समितिका अध्यक्ष जनकराज काफ्लेले नगरप्रमुख शाहीलाई भवनको चाबी हस्तान्तरण गरे ।
उक्त चाबी वडा कार्यालयमार्फत् संचालन हुने भएकाले मेयर शाहीले पुनः कार्यवाहक वडाध्यक्ष थापालाई हस्तान्तरण गरेका छन् । नजिकमा होलाङदी धारा छ भने आगामी वर्षमा ट्रस राखेर भ¥याङ बनाउने योजना अघि बढेको बताए । कार्यक्रम उपभोक्ता समितिका अध्यक्ष जनकराज काफ्लेको अध्यक्षता र समितिका सदस्य जीतबहादुर लामिछानेको संचालनमा सम्पन्न भएको हो । बारुदखान टोल विकास संस्थाका साथै स्थानीय बासिन्दाकोसमेत उद्घाटन कार्यक्रममा सहभागीता रहेको थियो ।