पाल्पा । माथागढी गाउँपालिका अन्तर्गतका सबै सामुदायिक विद्यालयका विद्यार्थीलाई विद्यालयमै खाजा बनाएर खुवाउन थालिएको छ ।
खाजा कार्यक्रम संचालन भएपछि विद्यालयमा विद्यार्थीमा नियमितता आएको गाउँपालिकालको दाबी छ । माथागढी गाउँपालिका शिक्षा शाखा संयोजक गजेन्द्र पन्थीका अनुसार सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई अझै पनि नियमित टिकाउन समस्या भएका बेला सुरु गरेको विद्यालय खाजा कार्यक्रमले विद्यार्थी नियमित विद्यालय आउन थालेका छन् । उनका अनुसार विद्यार्थीमा पौष्टिक आहार बढ्ने र भोक लागेर घर जान नपर्ने अवस्था सिर्जना भएको छ ।\
माथागढी गाउँपालिका अन्तर्गत सबै विद्यालयमा सुरु भएको दिवा खाजा कार्यक्रम प्रभावकारी हुँदै गएको शिक्षा शाखा संयोजक पन्थीले बताए । गाउँपालिका भित्रका कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई लक्षित गरी चलाएको दिवा खाजा कार्यक्रमले कक्षामा नियमित बस्ने र विद्यालय आउन छाड्ने समस्यासमेत हटेको प्रधानाध्यापकहरुको अनुभव छ । संघीय सरकारले गाउँपालिकामार्फत् प्रतिविद्यार्थी प्रतिदिन १५ रुपैयाँ बराबरको आर्थिक सहयोग दिएको छ । यसबाट विद्यार्थीलाई परकफरक खाजा खुवाउने गरिएको छ ।
यसरी दिवा खाजाको कार्यक्रम सुरु भएपछि कक्षा छाड्ने बालबालिकाको संख्यामा पनि कमी आएको अभिभावकको भनाई छ । विद्यालयमै तयार भएको खाजा खुवाउन थालेपछि विद्यार्थी र अभिभावक पनि खुसी भएका छन् । माथागढी गाउँपालिकाका सबै विद्यालयमा दिवा खाजा कार्यक्रम प्रभावकारी देखिएको छ । कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई लक्षित गरी चलाएको खाजा कार्यक्रमले बिद्याथी कक्षामा नियमित बस्ने र विद्यालय आउने क्रम बढेको छ । स्कूलमै तयार भएको खाजा खुवाउन थालेपछि अभिभावक पनि खुसी छन् । साउनदेखि सुरु भएपनि अहिले विद्यालयले खाजा खुवाउन सुरु गरेको रत्नमावि देवगिरका प्रधानाध्यापक निरबहादुर सारुले बताए । १ सय ८० दिनको खाजा खुवाउने बजेट आएको छ । प्रत्येक दिन फरक फरक खाजा खुवाउनपर्छ ।
कक्षा ५ सम्म बालबालिका नियमित विद्यालयमा नबस्ने, विद्यार्थी दिउँसोको खाजा छुट्टीमा घर जाने लगायतका समस्याका विषयमा गाउँपालिकामा गुनासा आएकाले पनि गएको जेठबाट दिवा खाजाको व्यवस्था गरिएको हो । विद्यालयमै खाजा खुवाउने योजना अनुसार कार्यपालिका र गाउँसभाबाट नै निर्णय गरेर विद्यार्थीलाई दैनिक रुपमा फरक–फरक खाजा खुवाउने योजना बनाइएको माथागढी गाउँपालिका अध्यक्ष सन्तोषकुमार थापाले बताए ।
विद्यालयमै खाजा खुवाउँदा विद्यार्थी भोक लागेर बाहिर हिड्न नपर्ने भएको छ । गाउँपालिकाका ४१ सामुदायिक विद्यालयमा यो कार्यक्रम लागु भएकाले २ हजार ५ सय विद्यार्थी लाभान्वित भएका छन् । खाजाको रकम सही सदुपयोग हुने गरी काम गर्ने र आवश्यक परे थपिदिने योजना गाउँपालिकाको रहेको गाउँपालिकाकी उपाध्यक्ष निर्मला भट्टराईले बताइन ।
अझैपनि कतिपय स्थानमा नियमित नआउने, कक्ष्ाँ छाड्ने र घरमै खेलेर दिन बिताउने समस्या छ । माथागढी गाउँपालिका मात्र होइन, अन्य स्थानका विद्यार्थीलाई पढाइमा नियमित गराउँन स्थानीय सरकारले विद्यालयमा दिवा खाजाको कार्यक्रम चलाउन आवश्यक देखिएको अभिभावकको गुनासो छ । ७० लाख ६६ हजार दिवा खाजाका लागि संघीय सरकारले पठाएको प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले बताए । कोभिड १९ को त्रासका कारण विद्यालय खुल्न नसकेपछि माघको दोस्रो हप्ताबाट यसलाई कार्यान्वयनमा ल्याइएको उनले बताए । प्रधानाध्यापकको बैठकले सबै विद्यालयमा खाजा बनाएर खुवाउने गरी कार्यक्रम सुरु भएको हो । १५ रुपैयाँले खाजा खुवाउन नपुग्ने भएकाले बढाउनपर्ने मागसमेत प्रधानाध्यापकको छ ।