स्थानीय जातको कुखुरा व्यवस्थापनको खाँचो

पाल्पा । पशु वस्तुको मूल्य श्रृंखलामा आधारित साना किसानहरुको संस्था सवलिकरण परियोजनाले लोकल (स्थानीय जात) कुखुरा उत्पादक, सहकारी र व्यापारीहरुबीच बैठक सम्पन्न भएको छ ।

ग्रामीण आर्थिक विकास संघ (रेडा) को आयोजना र हेफर इन्टरनेशनल नेपालको सहयोगमा छलफल गरिएको हो । छलफलले परम्परागत रुपमा र व्यवसायिक रुपमा कुखुरा पाल्ने किसान छुट्याउने निर्णय गरेको छ । यसैगरी कुखुराको लागत मूल्य निकाल्ने र मासिक कुखुरा उत्पादन र बिक्री लक्ष्य तय गर्नेछ । किसानका अनुसार धेरै परिमाणमा पालन गर्दा एउटा कुखुराको मूल्य ४ सयदेखि ४ सय ५० रुपैयाँ पर्छ । कुखुरा उत्पादक तथा बजारिकरण उपसमिति गठन गर्ने, स्थानीय जातको कुखुरासम्बन्धि तालिम संचालन गर्ने, दाना र चल्लाको व्यवस्थापन सहकारीले गर्ने छलफलबाट निष्कर्ष निस्किएको छ ।

त्यस्तै लोकल कुखुरा संकलन, बिक्री केन्द्र बनाउने, सहकारी मार्फत् अण्डा संकलन गरेर ह्याचिङ गर्ने छलफलबाट निर्णय भएको छ । हेफर इन्टरनेशनल नेपालका कार्यक्रम अधिकृत शोभाकर न्यौपाने, विष्णुप्रसाद पाण्डेय, ग्रामीण आर्थिक विकास संघ रेडाका कार्यकारी निर्देशक लीलाबहादुर कार्की, कार्यक्रम प्रबन्धक प्रेम गोदार लगायतले सहजिकरण गर्दै स्थानीय जातको कुखुराका सम्बन्धमा देखिएका समस्या र समाधानका उपायका बारेमा जानकारी गराए । व्यापारी तथा कुखुरापालक रामपुरका राजु थापाले विक्री गर्ने स्थान र संकलनका विषयमा सहयोग हुनुपर्ने बताए । उनले अहिले रामपुरमा संकलन गरेर बुटवल, पोखरा पठाउने गरेको र काठमाडौमा समेत पठाउने तयारी गरेको बताए ।

तानसेन विशालबजारका होटल संचालक कुशल जीसीले स्थानीय जातको कुखुराको मूल्य मंहङगो भएको बताए । उनले स्थानीय जातको कुखुराको मूल्य फरक हुने भएकाले दुई थरी मूल्य निर्धारण गर्न सुझाव दिए । खानीछाप, फोक्सिङकोट, पिपलडाँडा, गल्धा लगायतका सहकारी अन्तर्गत स्थानीय जातका कुखुरापालन भइरहेको जानकारी गराए । उनीहरुले अहिले स्थानीय जातको कुखुरा ७ सय रुपैयाँ किलोमा बिक्री गरेको बताए । कार्यक्रममा सहभागीले कुखुरापालन गाउँमा रहेको तर सोही अनुसार बिक्री हुन नसकेकोसमेत बताए । बजारमा कुखुरा पाइँदैन, गाउँमा बिक्री हुँदैन तर यसको सहजिकरण गर्न जरुरी रहेको सहभागीले सुझाव दिएका छ्न ।

सम्बन्धित खवर