पाल्पा । नेपाली काँग्रेस पाल्पाले केपी शर्मा ओली सरकारले गरेको प्रतिनिधिसभा विघटनको विरोधमा सदरमुकाम तानसेनमा बिरोध प्रदर्शन तथा सभा आयोजना गरेको छ । काँग्रेसले तानसेन टुडिखेलमा गाउँगाउँबाट आएका कार्यकर्तालाई भेला गरेर नारायणस्थान, मखनटोल, सिल्खानटोल हुँदै बिपि चोकमा पुगेर सभामा परिणत गरेको थियो । काँग्रेसको केन्द्रीय कार्यक्रम अनुसार पाल्पामा आयोजित सभामा कांग्रेस केन्द्रीय सदस्य बद्री पाण्डेयले प्रतिनिधिसभा पुनःस्थापना नभए आन्दोलनको आँधिवेहरी सिर्जना हुने बताए ।
उनले पाँच वर्षका लागि मत पाएर सत्तामा पुगेका कम्युनिष्टले बीचमैजनतालाई धोका दिनु लोकतन्त्रमाथिकै प्रहार भएको बताए । असंवैधानिक ढंगले हठातमा प्रतिनिधिसभा विघटन गरेर केपी शर्मा ओलीले आफ्नो सत्ता आफै छोट्याएको केन्द्रीय सदस्य पाण्डेयले बताए । उनले राणाकालमा बरु न्याय पाएको ऐतिहासिक तानसेनले कम्युष्टिका कारण झन् पछाडि परेको बताए । उनले कम्युनिष्टले सिद्धाबाबाको बिग्रेको बाटो देखाउदै चुनाव जित्ने तर काम अहिलेसम्म नगरेको बताउँदै अब त्यो जिम्मेवारी काँग्रेसले लिने बताए ।
बिरोध सभामा संविधान सभा सदस्य तथा पार्टीका केन्द्रीय सदस्य हरिप्रसाद नेपालले काँग्रेसको कारणले नभई कम्युनिष्टकै कारण सडक संघर्ष भएको बताए । कम्युनिष्ट पार्टी मिले झै गरेर जनतामा सत्तामा पुग्ने भ्रम छरेको बताउँदै उहाँले सत्ता स्वार्थकै कारण प्रतिनिधिसभा विघटन गरेको उनले बताए । उनले कम्युनिष्ट सरकार कोरोना संक्रमणले जनता त्राहीत्राही भएको अबस्थामासमेत भ्रष्टाचारमा लागेको बताए । केन्द्रीय सदस्य नेपालले अदालतले न्याय नदिए जनताले सडक संघर्षबाटै ओली सरकारलाई ठेगान लगाउने बताए । कांँग्रेस पाल्पाका सभापति बीरबहादुर राना, नेपाल राष्ट्रिय मगर संघका केन्द्रीय सदस्य तथा महासमिति सदस्य ज्ञानबहादुर गाहा, पार्टी सचिव अजयमान कर्माचार्यले प्रतिनिधिसभा पुनः स्थापना नभए जनताले सडकबाटै ओली सरकार फाल्ने बताए ।