दुध, मासु र रौ काट्नेले जथाभावी मूल्य बढाए

पाल्पा । जिल्लामा दुध, मासु र रौ (कपाल) काट्नेले जथाभावी मूल्य बढाए पनि अनुगमनकारी संयन्त्र प्रभावकारी देखिएको छैन । अनुगमनकारी निकायले वेवास्ता गर्दा उनीहरुले जथाभावी मूल्य बढाएका हुन् । खसी र कुखुरामा सय रुपैयाँसम्म एकै पटक भाउ बढाएका छन् । तर किसानले भने बजारमा बढेअनुसार बढी मूल्य पाउन सकेका छैनन् । ब्रोइलर कुखुराको मासु ४ सय रुपैयाँ किलोसम्म पुग्यो । अहिले ३ सय ६० रुपैयाँ छ । तर गाउँका किसानले भने सोही अनुसारको भाउ पाउन नसकेकोा गुनासो गरेका छन् ।


नाइ संघको निर्णय भन्दै रौ (कपाल) काट्नेहरुले एक्कासी २० रुपैयाँ बढाएका छन् । सेवा सुविधा केही नदिनेहरु र टंकीमा बसेर कपाल काट्नेहरुले समेत एउटै मूल्य लिएका छन् । नाई संघको नाममा जथाभावी मूल्य बढाएपछि उपभोक्ता भने मर्कामा परेका छन् । अघिल्लो वर्ष नै मूल्य बढाएका नाई संघले एकाएक आफ्नै निर्णयमा भाउ बढाएका हुन् । दुधको मूल्यमा पनि एक्कासी वृद्धि गरिएको छ । पछिल्लो समयमा किसानको माग भन्दै डेरी संचालकले मनोमानी ढंगले मूल्य बढाएका हुन् । बढाएको मूल्य अनुसार वास्तविक किसानले नपाई विचौलियालाई फाइदा भएको छ ।
जिल्ला दुग्ध उत्पादक सहकारी संघ र नेपाल डेरी एसोसिएसनको बैठक बसेर भैसीको दुधको मूल्य सय पुर्याइएको छ । केही व्यापारीको भेलाले शनिबारदेखि दुधको मूल्य बढाएको सूचना टाँसेका छन् । भैंसीको दुधको मूल्य यसअघि ८० देखि ८६ रुपैयाँ थियो । चिनारी दुग्ध उत्पादक सहकारी संस्थाले एकैपटक एकलौटी सय रुपैयाँ लिटर बनाएपछि अन्य डेरी पनि मूल्य बढाउन बाध्य भएका हुन् । दुधको गुणस्तर मतलब नगरिकन एकाएक मूल्य बढाएकामा उपभोक्ता भने मर्कामा परेका छन् । किसानले पनि आफूहरुले दुधको मूल्य नपाएको गुनासो गर्दै आएका छन् । बराङ्दी र केही स्थानमा किसानले ८० देखि ८४ रुपैयाँ मूल्य पाए पनि अन्यत्रका किसानले भने ६४ रुपैयाँ भन्दा बढी पाउन नसकेको गुनासो गरेका छन् ।
तानसेन नगरपालिका–१२, का युवराज पौडेलले अहिले पनि दुधको मूल्य पाउन नसकेको बताए । उनले सामाजिक सञ्जालमै लेखेका छन्, ‘तानसेन बजारमा दुध बिक्री गर्ने दुध उत्पादक सहकारी वा संस्थाहरुका प्रतिनिधिहरुको बैठकले दुधको मुल्यमा भारी वृछि गरेको जानकारीमा आएको छ । यस्तो मुल्य वृद्धिले दुध उत्पादक सिानका मुल्य कति वृद्धि हुन्छ ? विचौलियाको मात्र मुल्य वृद्धि हो कि जस्तो लाग्यो । यस्ता बैठकमा सबै दुध उत्पादक सहकारीलाई किन सहभागी गराईदैन ? किसानको मुल्य वृद्धि नहुने विचौलियाहरुले खाफुुखुसी मुल्य बढाउने कुराको अनुगमन कसरे गर्ने ? स्थानीय सरकार, उपभोक्ता मञ्च, उद्योग वाणिज्य संघ, पाल्पा व्यापार संघ, आम उपभोक्ता ।’
दुध र मासुमा भएको मुल्य वृद्धिले बिचौलियालाई मात्रै फाइदा भएको छ । किसान र उपभोक्ता भने मारमा परेका छन् । तानसेन भित्रका केही डेरी संचालक मिलेर किसानलाई र उपभोक्तालाई सिन्डिकेट लगाएका छन् । डेरी एसोसिएसनका अध्यक्ष टिकाराम खरालले अहिले बढाइएको मूल्य किसानका लागि भएको बताए । जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले यस विषयमा नगरपालिकासंग बुझेर अनुगमन गरिने बताए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय