
पाल्पा । कोभिड–१९ विरुद्ध दोस्रो चरणको खोप आइतबारबाट सुरु भएको छ । जिल्ला समन्वय समितिकी कार्यवाहक प्रमुख मीरा मरासिनी र नेपाल पत्रकार महासंघ जिल्ला अध्यक्ष राजेश कुमार अर्यालले खोप लगाएर दोस्रो चरणको अभियान सुरु गरेका हुन् । यसअघि पहिलो चरणमा २ हजार १२ जनाले लगाइसकेका छन् । दोस्रो चरणमा ३ हजार ३ सय ४० जनाले लगाउने स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए ।
जिल्लाका चार खोप केन्द्रबाट कोरोना विरुद्धको खोप लगाउने व्यवस्था छ । गत माघ १५ गतेदेखि खोप लगाउने अभियान सुरु गरिएको हो । खोप अभियानमा पहिला बनाउने तालिम र पछि लगाउन आउँनेको संख्यामा थप भएसँगै खोप लगाउने व्यक्ति बढेको सूचना अधिकारी पन्थीले बताए ।
पाल्पा जिल्ला अस्पताल, लुम्बिनी मेडिकल कलेज प्रभास, युनाइटेड मिसन अस्पताल तानसेन र रामपुर अस्पताल रामपुरबाट खोप लगाइएको छ । पहिलो चरणमा जिल्लामा एक हजार ५१ जना स्वास्थ्यकर्मी, ५ सय ९५ जना स्वास्थ्य संस्थाका अन्य कर्मचारी, ५ सय ४८ जना महिला स्वास्थ्य स्वयसेवीका, २७ जना पालिकाका सरसफाईकर्मी, ३८ जना एम्वुलेन्स र शववाहन चालक, १ सय ८ जना शव व्यवस्थापन कर्मचारी, ५० जना वृद्धाश्रमका आश्रित तथा हेरालु, २ सय ९४ जना कारागारका कैदीसँगै संरक्षक र १ जना अन्य व्यक्तिलाई खोप लगाइएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख विश्वनाथ न्यापानेले बताए ।
खोप लगाउन पाउँदा सबै जना खुशी छन् । खोप लगाएकामध्ये अधिकांशले आफूलाई कुनै पनि समस्या नभएको बताएका छन् । केहीले भने ज्वरो आउने, ज्यान दुख्ने, लगाएको स्थानमा दुख्ने भएको बताए । लगाएकाहरुले केही नभएको भन्दै निर्धक्क भएर सबैले खोप लगाउन आग्रह गर्ने पनि छन् । खोप लगाइसकेपछि कोरोना भाइरस संक्रमण हुने सम्भावना न्यून हुने र यदि संक्रमण भइहाले पनि कडा लक्षण नदेखिने स्वास्थ्यकर्मीको भनाई छ ।
दोस्रो चरणमा कोभिड १९ विरुद्धको खोप पनि जिल्लाका चार स्थानबाट लगाइने भएको छ । स्वास्थ्य कार्यालयका अनुसार दोस्रो चरणमा पहिलो चरणमा छुट भएका स्वास्थ्यकर्मीले लगाउन पाउनेछन् ।स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि तथा कर्मचारी, निजामती सेवाका कर्मचारी, जनपथ प्रहरी, ट्राफिक प्रहरी, बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारी, प्राधिकरण र संस्थानमा कार्यरत कर्मचारी, न्याय सेवा समूहका कर्मचारी, अदालत र सरकारी वकिल कार्यालयमा कार्यरत कर्मचारी रहेका छन् । यसैगरी जिल्लाका क्रियाशील पत्रकारहरुले पनि दोस्रो चरणमा खोप लगाउनेछन् ।
दोस्रो चरणमा लक्षित व्यक्तिहरुको आइतबारदेखि फागुन ८ गते आइतबारसम्म तोकिएको खोप केन्द्रमा खोप लगाइने छ । स्वास्थ्य कार्यालयका अनुसार लुम्बिनी मेडिकल कलेजमा ९ सय, मिसन अस्पतालबाट ६ सय जना, पाल्पा अस्पतालबाट १ हजार १ सय ९० जना, रामपुर अस्पतालबाट ६ सय ५० जनाले खोप लगाउने छन् । खोपको लागि सम्बन्धित कार्यालयको सिफारिसको साथमा आफ्नो परिचय पत्र लिएर खोपकेन्द्रमा सम्पर्क गर्नुपर्नेछ । यसका लागि स्वास्थ्य कार्यालयले सबैलाई सूचित गरिसकेको सूचना अधिकारी पन्थीले बताए । ‘अनुमान गरेभन्दा केही बढ्ने देखिएको छ,’ उनले भने, ‘पहिला अनुमान गरेभन्दा बढी लिस्ट तयार भएर आएको छ ।’ उनले खोप सबैले लगाउन पाउने भएपनि अहिले तोकिएको परिमाण मात्र आएकाले मात्र लिस्ट तयार गरेर दिनु परेको बताए ।
स्वास्थ्य मन्त्रालयले खोपको समुचित प्रयोग गर्न र खेर जान नदिन नियमित गरेको छ । कोभिशिल्ड खोप अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेका नामक औषधि उत्पादक कम्पनीले संयुक्त रुपमा विकास गरेका हुन् । भारतको सेरम इस्सिच्युटले खोप उत्पादन गरेको हो । लक्षित समूहले मात्र खोप पाएको यकिन गर्नका लागि सम्बन्धित संस्थाले खोप पाउने व्यक्तिको सूची सार्वजनिक गर्ने व्यवस्था मन्त्रालयले गरेको छ । खोप केन्द्र रहेको संस्था र स्वास्थ्य कार्यालयका प्रमुखले सूची सार्वजनिक गर्नुपर्ने हुन्छ । खोपको अनुगमन जिल्ला कोभिड –१९ खोप समन्वय समितले गर्ने छ ।
यसअघि पहिला चरणमा फोहरमैला व्यवस्थापनमा खटिने फोहर संकलक तथा चालक, एम्बुलेन्स तथा शववाहन चालक र सहचालक, प्रत्यक्ष उपचारको सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्र खटिने सुरक्षाकर्मी तथा स्वयंसेवक, शव व्यवस्थापनमा खटिने व्यक्ति, स्वास्थ्य स्वयंसेविका, अन्तरराष्ट्रिय प्रवेशविन्दुमा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारी, वृद्धाश्रमका व्यक्ति तथा हेरचाहमा खटिने कर्मचारी एवं कारागारका कैदीबन्दीलाई खोप दिइएको स्वास्थ्य कार्यालयले जनाएको छ ।