पाल्पा । मदिरा व्यवसायी संघ पाल्पाको पाँचौ साधारणसभा तथा दोस्रो अधिवेशनले यादवसिंह कार्कीलाई पुनः अध्यक्षमा चयन गरेको छ । समितिको उपाध्यक्षमा शोभाकर पोखरेल, महासचिव शंकर खनाल, सचिव विष्णु खनाल, कोषाध्यक्ष गोविन्दसिंह कार्की निर्विरोध निर्वाचित भएका छन् । जसको सदस्यहरु ढकेश्वर बस्याल, विष्णु पाण्डेय, धनबहादुर ठडराई, आकाश श्रेष्ठ रहेका छन् ।
यसअघि मदिरा व्यवसायी संघ पाल्पाको पाँचौ साधारणसभा तथा दोस्रो अधिवेशन उद्घाटन गर्दै लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य तथा नेपाली कांँग्रेस पाल्पा सभापति बीरबहादुर रानाले जुनुसुकै व्यवसायीको समस्या समाधानकाबारेमा तीनै तहका सरकारले वेवास्ता गरेको बताएका छन् । उनले व्यवसायीको समस्या समाधान गर्दै लगानी संरक्षणका लागि पहल गर्नुपर्ने बताए । लुम्बिनी प्रदेशसभा सदस्य रानाले नाफाका लागि मात्र व्यवसाय गर्ने भन्दा पनि समाजप्रति उत्तरदायी हुनुपर्नेमा जोड दिएका छन् । लुम्बिनी प्रदेशसभा सदस्य लगानी गर्ने तर सुरक्षित नहुने अवस्थाका विषयमा सरकारबाट स्पष्ट खाका आउन नसक्नु दुःखको कुरा भएको बताए ।
नेपाल मदिरा व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष मृगेन्द्र मोहन श्रेष्ठले व्यवसायीलाई पर्ने गरेको समस्या समाधानका लागि सरकार गम्भीर नभएको बताए । उनले भ्याट, ट्याक्स र भिसिटिएस जस्ता विविध समस्या समाधान गर्नुपर्ने बताउँदै घरपालुवा अवैध मदिरा, अनाधिकृत तवरले विभिन्न जिल्लाहरुबाट मदिरा ल्याई अस्वस्थ प्रतिस्र्धा भएको बताए । तानसेन नगरपालिकाका नगरप्रमुख अशाोककुमार शाहीले व्यवसायीको हक र हितका लागि स्थानीय सरकार जहिलेपनि सहयोग गर्न तयार रहेको बताए ।
मदिरा व्यवसायी संघका लुम्बिनी प्रदेश अध्यक्ष गिरीराज पौडेल, स्याङ्जा जिल्ला अध्यक्ष खिमानन्द पराजुली, नेपाली काँग्रेसका सचिव अजयमान कर्माचार्य, नेकपा राप्रपा केन्द्रीय सदस्य डुलबहादुर कुँवर, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष राजु महर्जन, पाल्पा व्यापार संघका सचिव पर्शुराम पौडेल, नेपाल पत्रकार महासंघका जिल्ला उपाध्यक्ष भरत शर्मा, प्रेस संगठन जिल्ला अध्यक्ष राजेन्द्र लिगल, स्वतन्त्र पत्रकार महासंघका महासचिव जीवलाल सुवेदी, मदिरा व्यवसायी संघका जिल्ला उपाध्यक्ष शोभाखर पोखरेल लगायतले विभिन्न समस्या समाधानका लागि व्यवसायी एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा पाल्पा जिल्ला अध्यक्ष यादवसिंह कार्कीले राज्यलाई कुल बजेटको २० प्रतिशत कर तिर्ने मदिरा व्यवसायीलाई बैकमा व्याज छुट नदिएको बताउँदै राज्यलाई भ्याट, ट्याक्स तिरेर ल्याएको ल्याएको मदिारालाई स्थानीय निकायबाट रोकतोक गरी अवरुद्ध सिर्जना गर्ने गरेको बताए । जिल्ला महासचिव शंकर खनालले महासचिवको प्रतिवेदन प्रस्तुत गर्दै व्यवसायिक आचारसंहिता लागु गर्दै मदिरा व्यवसायी सदस्यको २ लाख बराबरको दुर्घटना बीमा गर्ने बताए । उनले सामाजिक काममा हातेमालो गर्दै कोभिड १९ बाट प्रभावितका लागि नगरपालिका मार्फत् सहयोग गरेको साथै रक्तदान लगायतका कार्यक्रम आयोजना गरेको उनले बताए ।