पाल्पा । पाल्पा व्यापार संघको दोस्रो साधारणसभा तथा अधिवेशनले अध्यक्षमा पुनः चिरञ्जीवी पोखरेल निर्वाचत भएका छन् । नवनिर्वाचित अध्यक्ष लगायत पदाधिकारी र सदस्यहरुलाई पदस्थापना तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।
संघका सर्वसम्मत निर्वाचित अध्यक्ष पोखरेल सहितका पदाधिकारीहरुलाई पदस्थापना तथा सपथ गराइएको निर्वाचन समितिका संयोजक विनोद कार्कीले जानकारी दिए । सथप ग्रहण कार्यक्रमका प्रमुख अतिथि तानसेनका प्रमुख अशोक कुमार शाहीले व्यवसायी राजनीति गर्ने भन्दा पनि उपभोक्ताको हितको पक्षमा काम गर्न आग्रह गरे । सडक विस्तारको क्रममा र कोभिडको समस्याको कारणले वास्तवमै सडकमा पुगेका व्यवसायीलाई नगर सरकारले सहयोग गर्न तयार रहेको समेत बताए ।
कार्यक्रममा चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य टंक पोखरेलले व्यवसायीको हक र हितका पक्षमा जहिले पनि व्यापार संघ लागि पर्नुपर्नेमा जोड दिए । पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष राजु महर्जन, मदिरा व्यवसायी संघका अध्यक्ष यादवसिंह कार्की, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख देवीराम भण्डारी, नेपाल पत्रकार महासंघका अध्यक्ष राजेश कुमार अर्याल, बरिष्ठ पत्रकार मेघराज शर्मा लगायतले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै व्यापार र व्यवसायी घट्दो क्रममा रहेकाले यस विषयमा गम्भीर हुन सुझाव दिए ।
अधिवेशनले चिरञ्जीवी पोखरेललाई पुनः अध्यक्षमा निर्वाचित गरेको छ भन प्रथम उपाध्यक्षमा थानेश्वर गैरे, दोस्रो उपाध्यक्षमा विष्णुबहादुर कार्की, सचिव पर्शुराम पौड्याल, कोषाध्यक्ष विष्णुप्रसाद खनाल, सहसचिव उमादेवी अर्याल निर्वाचित भएका छन् ।
यसैगरी सदस्यमा रुपा अधिकारी, नारायण बस्याल, रुक्मागत बस्याल, सितम भण्डारी, कमल ढकाल, कलाम अलिमिया, लक्ष्मण गौतम, सपना शाही निर्वाचित भएका छन् । त्यस्तै, बालकृष्ण भण्डारी, शोभाकर पोखरेल, हिमलाल पंगेनी, सन्तोष अर्याल, सावित्रा पाण्डेय, पुरुषोत्तम गैरे, गोविन्द खनाल, पशुपति बस्याल, युवराज श्रेष्ठ, खिमप्रसाद नेपाल, दानबहादुर कुँवर, महेश बराल, लक्ष्मण बराल सदस्यमा निर्वाचत भएका छन् ।