पाल्पाका १८ पत्रकार पुरस्कृत

पाल्पा । जिल्लामा क्रियाशील १८ जना पत्रकार पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासंघ पाल्पा शाखाको १२ औं साधारण सभाका अवसरमा उनीहरुलाई पुरस्कार प्रदान गरिएको हो । तानसेन नगरपालिकाले राखेको उत्कृष्ट पत्रकारिता पुरस्कारबाट श्रीनगर एफएममा कार्यरतपत्रकार देव पचभैया र रेडियो रामपुरका बासुदेव ढकाल पुरस्कृत भएका छन् । उनीहरुलाई नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्य, जिल्ला अध्यक्ष राजेशकुमार अर्याल, तानसेन नगरपालिकाका नगरप्रमुख अशोककुमार शाही, सल्लाहकार मेघराज शर्मा लगायतले नगद १५ हजार, ताम्रपत्र र दोसल्ला ओढाएर पुरस्कृत गरे ।

साविक जिल्ला विकास समितिले राखेको सिर्जनशील पत्रकारिता पुरस्कारबाट चार जना पत्रकार पुरस्कृत भएका छन् । सनराइज टेलिभिजनमा कार्यरत सन्तोष बस्याल र रेडियो रामपुरकी रमादेवी अर्याललाई २०७६ सालको पुरस्कार प्रदान गरिएकोछ । यस्तै रेडियो मुक्तिनाथका भुवन रायमाझी र रेडियो मदनपोखराका विजय बौडेललाई २०७७ सालको सिर्जनशील पत्रकारिता पुरस्कार प्रदान गरियो । उनीहरुलाई नगद ७ हजार ५ सय र प्रमाणपत्र प्रदान गरिएकोछ । रेडियो रामपुरकी बन्दना पोखरेल र रेडियो पाल्पाका इमानसिंह रानालाई ग्रामीण पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । उनीहरुलाई नगद १० हजार र प्रमाणपत्र प्रदान गरिएको छ । मानव अधिकार पत्रकारिता पुरस्कारबाट रेडियो मदनपोखराका बीरेन्द्र घिमिरे पुरस्कृत भएका छन् । बुद्धीप्रसाद शर्माले स्थापना गरेको देवीभक्त चोलकुमारी सामाजिक पत्रकारिता पुरस्कारबाट अनिल लिगल पुरस्कृत भएका छन् ।

यस्तै सामाजिक जागरण पत्रकारिता पुरस्कारबाट गाउँले देउराली साप्ताहिकका तुलबहादुर थापालाई पुरस्कृत गरिएको छ । लेखनवृत्ति प्रोत्साहन पुरस्कारबाट पाल्पा समाचारपत्रका यज्ञमूर्ति तिमिल्सेना, नागरिक दैनिकका मुक्तिप्रसाद न्यौपाने, पाल्पा खोजखबरका डोलबहादुर विक, रेडियो श्रीनगरका दीपक भट्टराई, पाल्पा आवाजका दयाराज न्यौपाने, श्रीनगर टेलिभिजनका विष्णुप्रसाद घिमिरे र रेडियो मदनपोखराका भोजराज तिमिल्सेनालाई प्रदान गरिएको छ ।

सम्बन्धित खवर