
चुरे र तराईसँग जोडिएका वन क्षेत्रमा संक्रमणकालको मौका पारेर वन तस्करी भइरहेको छ । यति मात्र होइन लामो समयदेखि सालका काठ काट्न नपाएकाले चोरी तस्करी सिमानामा मात्र होइन, रामपुर, छहरा, तानसेन लगाएत कालीगण्डकी क्षेत्रबाटसमेत तस्करी भइरहेको छ । प्रहरीले जंगलबाट काठ ल्याउँदै गर्दा पक्राउ परेका खबर आएका छन् । कतिपय अवस्थामा पक्राउ पर्न सकेका छैनन् । पछिल्लो पटक डिभिजन वन कार्यालयको विशेष पहलमा बल्ढेङ्गगढीबाट अवैद्य साल कटानी गर्दै गरेका पाँच जनालाई रातीको समयमा नियन्त्रणमा लिएपछि अझ बढी शंका जन्माएको छ । पछिल्लो समय अवैद्य रुपमा सालका रुख काटानी भएको जानकारी पाएपछि डिभिजन वन कार्यालयले विशेष अप्रेसन गरेको थियो । केही दिन अघिसमेत बल्ढेङ्गगढीमै अवैद्य साल कटानी भएको थियो ।
वनमा साल चिरान गर्दै गर्दा रातीको साढे एक बजे तस्करलाई पक्राउ गर्नु डिभिजन वन कार्यालयका राम्रो काम हो । डिभिजन वन कार्यालयको निर्देशनमा भएको गस्ती पेट्रोलिङ्गका क्रममा इजाजत विना कटान गरी चिरान गर्दै गरेको अवस्थामा उनीहरु पक्राउ पर्नुले तस्करी मौलाएको पनि प्रष्ट हुन्छ । चुरे र तराईसँग जोडिएका साथै पहाडमा हुर्केका सालका गोलिया र चिरान काठ तस्करी हुने गरेको छ । अधिकाँश स्थानमा टाँचा निशाना नलागेको काठ तस्करी हुने गरेको छ । अवैद्य रुपमा काटिएका साललाई तस्करी गर्नेले नजिकको फर्निचर उद्योगमा निर्यात गर्ने गर्छन् ।
वन तस्करी रोकिएको छैन । रोकिएको छ भने पनि न्यून मात्रामा हो । वन ऐन २०७६ अनुसार कारबाही गरिने भनिन्छ तर राजनीतिक दलका नेतृत्वको दबावले उनीहरु छिटै छुट्छन् । जरिवाना कम हुन्छ अनि पुनः तस्करी सुरु हुन्छ । तराई र चुरेसँग जोडिएका वनमा साल बढी छन् । वनमा ढलेका काठ छन् । गवन जंगल क्षेत्रमा काठ तस्करी मात्र भएको छैन कि खेती गर्ने र घर टहरा निर्माण गर्ने कार्यसमेत भएको छ । वनका कर्मचारीको मिलेमतोमै समेत कतिपय स्थानमा चोरी तस्करी भएको आरोप आउने गरेको छ । त्यसैले वनमा हुने तस्करी नियन्त्रण गर्न भएका कर्मचारी सही ढंगले परिचालन गर्न जरुरी छ । वन तस्करी रोक्न स्थानीयस्तरसम्म समन्वय हुनुपर्छ ।