असंवैधानिक कदम सच्चाएर मात्र चुनावमा

पाल्पा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले असंवैधानिक कदमलाई सच्याएर मात्र चुनावमा जानु पर्ने बताएका छन् । नेपाली कांग्रेस रामपुरले आयोजना गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै पौडेलले संविधानमा टेकेर चुनावमा जाने भएकाले संविधानलाई पहिला बचाएर मात्र चुनावमा जान सकिने बताएका हुन् ।
उहाँले संविधान नै गएपछि चुनाव लड्नुको औचित्य नरहेकोले असंवैधानीक कदमलाई सच्याएर त्यस पछि मात्र चुनावमा जाने सन्देशका साथ कांग्रेस आन्दोलनमा रहेको बताए । अहिले चुनावमा जाँदा कांग्रेसलाई फाईदा पुग्ने भएपनि कांग्रेस फाईदाको लागि मात्रै हिड्ने पार्टी नभएको बताए ।


प्रतिपक्षले रचनात्मक सहयोग गर्दा गर्दै प्रधानमन्त्री ओलीले अकाल मै प्रतिनिधि सभाको मृत्यु गराउनु असंवैधानिक र अलोकतान्त्रिक भएको बताए । कम्युनिष्ट पार्टीहरु सिद्धान्त भन्दा बाहिर जाँदा समस्या देखिएको उल्लेख गर्दै नेताहरुले भागबन्डामा देशलाई बर्वाद गरेको बताए । निर्वाचन घोषणा गरेर सरकारले धमाधम नियुक्ति दिएको भन्दै प्रति आपत्ति जनाउँदै पौडेलले निर्वाचन आयोगले पनि स्वतन्त्र हैसियत नदेखाएको बताए ।
नेपाली कांग्रेस पाल्पाका उपसभापति वीर बहादुर रानाले संविधानको धज्जी उडाउने र सिधै प्रहार गर्ने काम केपी ओली बाट भएको भन्दै अब चुप लागेर बस्ने अवस्था नभएको बताए । नेपाली कांग्रेस तनहुँका कार्यवाहक सभापति जित प्रकाश आलेले वर्तमान सरकारले संविधान विपरित काम गर्दै संविधान र लोकतन्त्रलाई धरापमा पार्न लागेको बताए । नेपाली कांग्रेस पाल्पाका उपसभापति देवराज ढकालले संविधान र लोकतन्त्रको रक्षाको लागि एक पटक जाग्ने बेला आएको बताए ।


नेपाली कांग्रेसका महासमिति सदस्य रमण बहादुर थापाले प्रधानमन्त्री ओलीले असंवैधानिक कदम चालेर रगत पिएको बाघ र मात्तिएको हात्ती झै लम्किए रहे पनि कांग्रेस सशक्त ढंग बाट लाग्न नसकेको होकी भन्ने प्रश्न उठ्न ठालेको बताए । नेपाली कांग्रेस रामपुरका नगर सभापति नेत्र प्रसाद भट्टराईको अध्यक्षता, महाधिवेशन प्रतिनिधि विष्णुमाया ढकालको स्वागत र सचिव चिरञ्जीवि सिग्देलको सञ्चालनमा भएको हो ।
यसअघि नेपाल प्रेस युनियन पाल्पाले रामपुरमा राखेको पत्रकार भेटघाटमा वरिष्ठ नेता पौडेलले प्रतिनिधि सभा विघटन मुलुकको हितमा नरहेको बताए । पटक पटकको विघटनले देशको नोक्सान, लोकतन्त्रको क्षति र विघटन गर्ने पार्टीलाई घरासायी पार्ने बाहेक केही नगरेको बरिष्ठ नेता पौडेलले बताए । बारम्बारको विघटनले मार खाँदै आएकोले अहिलेको संविधानमा व्यवस्था परिवर्तन गरिएको बताए । त्यसै प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गरेर निरकुशता तर्फ ढकेलेको बताउँदै संविधानले यस्तो अधिकार नदिएको बताए । प्रधानमन्त्रीको कदमलाई नेपाली कांग्रेसले अलोकतान्त्रिक, असंवैधानिक, सर्वसत्तावादको रुपमा लिएको स्पष्ट पारे । कार्यक्रम नेपाल प्रेस युनियन पाल्पाका जिल्ला सदस्य दानु हिस्की मगरको अध्यक्षता, जीवन तिवारीको स्वागत र इमान सिं रानाको सञ्चालनमा भएको हो ।

सम्बन्धित खवर