रातीमा रुख काट्ने पाँच पक्राउ

कमल अधिकारी
पाल्पा, डिभिजन वन कार्यालयको विशेष पहलमा बल्ढेङ्गगढीबाट अवैद्य साल कटानी गर्दै गरेका पाँच जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका सबै पुरुष हुन् । पछिल्लो समय अवैद्य रुपमा सालका रुख काटानी भएको जानकारी पाएपछि डिभिजन वन कार्यालयले विशेष अप्रेसन गरेको थियो । केही दिन अघिसमेत बल्ढेङ्गगढीमै अवैद्य साल कटानी भएको थियो । सोही क्रममा निगरानी र गस्ती गर्दा रैनादेवी छहरा गाउँपालिका वडा नं. ७ बल्ढेङ्गगढीको ढाव क्षेत्रबाट पाँच जना पुरुषलाई सालको रुख कटानी गर्दै गर्दा रंगेहात प्रकाउ गर्न सफल भएको डिभिजन वन कार्यालयका सूचना अधिकारी यमलाल पोखरेलले बताए ।

डिभिजन वन कार्यालयका सूचना अधिकारी पोखरेलका अनुसार बल्ढेङ्गगढीका सहायक वन अधिकृत प्रदेशी चौधरीको कमान्डमा खटिएको टोलीले रातीको साढे एक बजे उनीहरुलाई पक्राउ गरेको हो । बल्ढेङ्गगढीको चन्द्राकार सामुदायिक वनको क्षेत्रमा अवैद्य रुपमा सालका रुख काट्दै गरेका रुपन्देही जिल्लाको सैनामैना नगरपालिका ९ का ४३ वर्षीय मनीराम विश्वकर्मा, सोही स्थानका ३४ वर्षीय अजय मगर, ३५ वर्षीय गोवीन्द विश्वकर्मा, ३५ वर्षीय सम्भु विश्वकर्मा तथा ३३ वर्षीय दीपक विश्वकर्मालाई प्रकाउ गरेको छ । उनीहरु रातीको समयमा सालका रुख काट्ने क्रममा पक्राउ परेको डिभिजन वन कार्यालयले जनाएको छ ।

डिभिजन वन कार्यालयको निर्देशनमा भएको गस्ती पेट्रोलिङ्गका क्रममा इजाजत विना कटान गरी चिरान गर्दै गरेको अवस्थामा उनीहरु पक्राउ परेका थिए । उनीहरुले ६९.५४ क्यूफुट सालको गोलिया र चिरान काठ, आरा, बन्चरो र बन्दोबस्तीका सामानहरु समेत बरामद गरेको डिभिजन वन कार्यालयले जनाएको छ । टाँचा निशाना नलागेको काठ तथा निजहरुलाई नियन्त्रणमा लिएको छ । पक्राउ परेकाहरुलाई थप अनुसन्धान जारी रहेको डिभिजन वन कार्यालयले जनाएको छ ।
यसरी अवैद्य रुपमा काटिएका साललाई निजहरुले फर्निचर उद्योगमा निर्यात गर्ने तयारी रहेको थियो । प्रारम्भिक अनुसन्धानमा उनीहरुले अवैद्य रुपमा निर्यात गर्दै आएका छ्न । उनीहरुलाई वन ऐन २०७६ अनुसार कारबाही गरिने डिभिजन वन कार्यालयले जनाएको छ ।
पछिल्लो केही दिन यता रामपुर तथा सोही स्थानका विभिन्न स्थानमा समेत अवैद्य रुपमा सालका रुख कटानी भएको सूचना वन डिभिजनमा समेत आएको छ । रामपुर र बल्ढेङ्गगढीमा यसअघि पनि सालका काठ पक्राउ गरेको छ । डिभिजन वन कार्यालयको समन्वयमा रैनादेवी छहरा सव–डिभिजन वन कार्यालय, तिनाउ सव–डिभिजन वन कार्यालय, डिभिजन वन कार्यालय रुपन्देही, चिदिपानी सामुदायिक वन उपभोक्ता समूह र चन्द्राकार सामुदायिक वन उपभोक्ता समूह लगायतका सरोकारवाला निकायले रातीको समयमा गस्ती गरेका थिए ।

जिल्लाको माथागढीको गोठादी, तिनाउको कचल, दोभान, रैनादेवी छहराको जुठापौवामा बढी तस्करी गर्ने गछैन् । तिनाउको कचलको ठुलीउदाङ् र बल्ढेङ्गढीको जोगदमारमा बढी समस्या छ । वन जंगल क्ष्ँेत्रमा खेती गर्ने र घर टहरा निर्माण गर्ने कार्यसमेत भएको छ । काठ तस्करीसँगै वन अतिक्रमण गर्ने र खेत बनाएर खेती गर्ने गरेका छन् । वन कार्यालयको सबडिभिजन भएपनि कुनै वास्ता छैन ।

वनका कर्मचारीको मिलेमतोमै समेत कतिपय स्थानमा चोरी तस्करी भएको आरोप पनि आउने गरेको छ । कतिपयले वन क्षेत्र ओगटेर बसेको र वन क्षेत्रबाट नहटेको स्थानीयको आरोप छ । जसले गर्दा काठ तस्करी गर्न उनीहरुलाई सहज भएको छ । प्रत्येक वर्ष एक÷दुई वटा सालका रुख काटेर रातारात थन्क्याउने गर्छन् ।

जंगलका जग्गा हरेक वर्ष बढाउँदै जान्छन् । सालका रुखका काठ अहिलेपनि ढिकमा माटोले पुरेर राख्नेसमेत गर्छन् । प्रत्येक घरमा काठ थुपारिएको भेटेपनि वन कर्मचारीले कारबाही गर्न सक्दैनन । स्थानीयका अनुसार महत्वपूर्ण साल र असनाका काठ चोरी निकासी हुनेगर्छ । सामुदायिक वन उपभोक्ता समूहले टेण्डरमार्फत निकासी गर्ने काठसंगै ती रुखका काठ चोरी निकासी हुन्छ ।

सम्बन्धित खवर