होलाङ्दीमा उठाएको पटके कर स्थगन

पाल्पा, तानसेन नगरपालिकाले तानसेन होलाङ्दीमा उठाउँदै आएको पटके सवारी कर स्थगन गरेको छ । वर्तुङबाट पाल्पाका विभिन्न स्थानका साथै गुल्मी, अर्घाखाँची, बाग्लुङसम्म चल्ने सवारी साधनमा नगरपालिकाले पटके कर उठाउँदै आएको हो । नगरपालिकाले एक वर्ष स्थगन गरेर पुनः पुसको २२ गतेदेखि कर उठाउन सुरु गरेको थियो । संघीय र प्रदेश सरकारले नउठाउन निर्देशन गरेको पटके कर उठाएपछि नगरपालिकालाई भने चौतर्फी दबाव परेको थियो ।

नगरपालिकाले शहरी सडकमा पटके कर लगाउनुपर्नेमा राजमार्ग र सहायक राजमार्गमै कर उठाएपछि गुल्मी उद्योग वाणिज्य संघले पनि विरोध गरेको थियो । स्थानीय सरकारले पूर्वाधार उपयोग कर लिन पाउने भन्दै नगरपालिकाले होलाङदी, गैरागाउँ र बतासेडाँडामा पटके सवारी कर लिँदै आएको थियो । स्थानीय तहले आफ्नो फाइदाको लागि व्यवसायी तथा सवारी धनीहरुलाई मर्का पर्ने गरी पटके कर उठाएकामा भने विरोध भइरहेको थियो ।

स्थानीय पूर्वाधार सडक उपभोग शुल्कको नाममा मनोमानी रुपमा राजमार्ग प्रवेशमा लिइरहेको शुल्क विद्यमान ऐन कानुन विपरित हो । सडक डिभिजनले बर्तुङ्ग–होलाङ्दी, बसपार्क, अप्पुभिलेज ढुंगाखानी सडक राष्ट्रिय राजमार्ग (आफ्नो क्षेत्राधिकार भित्र) पर्ने जनाएपछि नगरपालिका पटके कर लगाउन स्थगित गरेको हो । सडक डिभिजनका इन्जिनियर तथा सूचना अधिकारी शिवु खत्रीले नगरपालिकाले राजमार्ग र सहायक राजमार्गमा पटके सवारी कर लगाउन नपाउने बताए ।

उनले राजमार्गका विषयमा सोधि आएकाले जे भेटियो त्यही कुरा लेखेर नगरपालिका र जिल्ला प्रशासनमा पत्राचार गरेको बताए । खत्रीका अनुसार वर्तुङ्ग–तानसेन, रिडी वामीटक्सार, खर्वाङ्ग राष्ट्रिय राजमार्ग हो । उता होलाङ्गदी मोडदेखि धरमपानी हुँदै ढुंगाखानीसम्म सहायक मार्ग पर्छ । त्यसैले नगरपालिकाले स्थानीय पूर्वाधार सडक उपभोग शुल्क उठाउन नपाउने बताए । सडक डिभिजनका अनुसार सार्वजनिक सडक ऐन २०३१ अनुसार राष्ट्रिय र सहायक मार्गको दायाँ सडक भित्र स्थानीय पूर्वाधार सडक उपभोग शुल्क उठाउन मिल्दैन ।

प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले पनि राष्ट्रिय र सहायक मार्गको दायाँ सडक भित्र स्थानीय पूर्वाधार सडक उपभोग कर उठाउन नमिल्ने बताए । कानूनमा उल्लेख भए अनुसार राष्ट्रिय राजमार्ग र सहायक मार्गका सडकहरुबाट स्थानीय सरकारले सवारी कर उठाउन पाइदैन । सडकको विवाद भने लामो समयदेखि कायमै छ ।

२०६९ साल भदौ १८ गते प्रकाशित राजपत्रमा नेपाल सरकारले सार्वजनिक सडक ऐन, २०३१ को दफा ३ ले दिएको अधिकारको प्रयोग गरी वर्तुङ्ग, तानसेन, रिडी तम्घास सडकको होलाङ्दी मोडदेखि बसपार्क, गौरीशंकर, अप्पुभिलेज ढुंगाखानी सम्मको बाटोलाई शहरी मार्ग कायम गरेको छ । सोही अनुसारको पूर्वाधार कर लिइदै आएको तानसेन नगरप्रमुअ अशोककुमार शाहीको तर्क छ ।

२०७६ जेठ ६ गतेको सरकारको निणर्यले वर्तुङ्ग, तानसेन, रिडी वामीटक्सार, खर्वाङ्ग सडकको होलाङ्दी मोडदेखि तानसेन बसपार्क सडकलाई राष्ट्रिय राजमार्गको रुपमा कायम गरेपछि अहिले विवाद सिर्जना भएको हो ।

राजपत्रमा प्रकाशित सूचना अनुसार शहरी सडक भनेपछि नगरपालिकाले कर उठाएको थियो । तर उसले होलाङदीमा सहायक मार्गमा नै पटके कर असुलेपछि विवाद सिर्जना भएको हो । नगर प्रमुख शाहीले यस विषयमा पत्राचार भइरहेको र विवादको विषय भएकाले केही तथ्यांक खोजी भइरहेको बताए । उनले कानूनी परामर्श लिइरहेको र अर्को व्यवस्था नहुँदासम्मको लागि पटके कर संकलन स्थगित गरिएको बताए ।

सम्बन्धित खवर