
पाल्पा, पाल्पाको तानसेन नगरपालिकाले राजमार्ग र साहयक राजमार्गमा अवैध रुपमा सवारी साधनहरुमा कर असुली गरेको विषयमा गुल्मी उद्योग वाणिज्य संघले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ । तर पाल्पा उद्योग वाणिज्य संघ, पाल्पा व्यापार संघ भने यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन । गुल्मीले यस्तो अवैध रुपमा उठाइएको पटके सवारी कर तत्काल खारेज गर्न माग गरेको छ । तर पाल्पाका उद्योग वाणिज्य संघ, पाल्पा व्यापार संघ भने चुपचाप हेरेर बसेका छन् ।
गुल्मीबाट बुटवलतर्फ जाने र उताबाट आउने साना ठूला सवारी साधनमा तानसेनको बतासेडाँडा र होलाङ्गदीमा संघीय र प्रदेश ऐन कानून मिचेर दोहोरो कर असुली गरेकोले त्यसलाई तत्काल खारेजीका माग गुल्मीले गरेको छ । गुल्मी उद्योग बाणिज्य संघले जिल्ला प्रशासन कार्यालय गुल्मीकामार्फत जिल्ला प्रशासन कार्र्यालय पाल्पा र तानसेन नगरपालिकालाई ज्ञापन पत्र नै पठाएको छ ।
प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई गुल्मी उद्योग बाणिज्य संघका अध्यक्ष श्रीप्रसाद भलामीले ज्ञापन पत्र बुझाए । राजमार्ग र साहयक राजमार्गमा कुनै पनि प्रकारको कर शुल्क असुल्न नपाईने अहिलेको संविधानमा स्पष्ट व्यवस्था रहेको अवस्थामा तानसेन नगरपालिकाले गुल्मी बुटवल आवत जावत गर्ने सबै प्रकारका सवारी साधनहरुमा दोहोरो कर असुली गरेको छ ।
पाल्पाका प्रमुख जिल्ला अधिकारी र तानसेन नगरपालिकासँग समन्वय गरि उक्त अवैध कर असुली अविलम्ब खारेजीको माग गरेको हो । संविधानको धारा २३६ मा अन्यत्र जुन सुकै कुरा लेखिएपनि एक प्रदेश वा अर्को स्थानीय तहमा हुने वस्तुको ढुवानी वा सेवाको विस्तामा कुनै किसिमको बाधा अवरोध गर्न वा कर , शुल्क , दस्तुर वा महशुल लगाउन वा त्यस्तो सेवा वा वस्तुको ढुवानी सेवा बिस्तारमा कुनै किसिमको भेदभाव गर्न पाईने छैन भन्ने उल्लेख गरेको छ ।
यसरी ऐन कानुन विपरीत तानसेन नगरपालिकाले दोहोरो कर असुली गरेकोप्रति गुल्मी उद्योग बाणिज्यको गम्भीर ध्यानकृष्ट भएको र कानुन विपरित असुल्दै आएको यस्तो शुल्क अविलम्ब खारेज गर्न जोडदार माग गर्दछौं,’ ज्ञापन पत्रमा भनिएको छ । गुल्मी उद्योग बाणिज्य संघले मंगलवार नै पत्रकार सम्मेलन गरि तानसेन नगरपालिकाले अवैध ऐन कानुन विपरीत सधारी साधनमा कर असुली गरेको प्रति सञ्चार माध्यामलाई समेत जोडदार ढंगले आवाज बुलन्द गर्न आग्रह गरेको छ । ज्ञापन पत्र बुझ्दै गुल्मीकी प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माले आफूले उक्त ज्ञापन पत्र सम्वन्धित निकामा पठाई दिने र त्यो पक्ष संग समन्व्य पनि गर्ने प्रतिवद्धता जनाएकी छन् ।