
पाल्पा । नेकपा ओली समूह निकट अनेरास्ववियुले पाल्पा जिल्लास्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम राखेको छ । भेलाले हिरामणी पराजुलीको संयोजकत्वमा १ सय ५१ सदस्यीय जिल्ला कमिटिको पुनःगठनगरेको छ । जसको सह–संयोजकमा राधाकृष्ण दंगाल र सचिवमा मदन आचार्य चयन भए । नवगठित कमिटिका संयोजक पराजुलीले विद्यार्थी एकता आवश्यक भएको भन्दै सबै विद्यार्थीहरु एकजुट हुनुपर्ने बताए ।
भेला तथा प्रशिक्षणमा बोल्दै अनेरास्ववियुका केन्द्रीय सदस्य रश्मी आचार्यले अहिले नेकपाको विभाजनसँगै विद्यार्थीमा पनि अन्योल बढेको बताए । समसामयिक राजनीति र वर्तमान परिस्थितिका विषयमा राखेको विद्यार्थी प्रशिक्षण तथा भेलामा बोल्दै अहिलेको राजनैतिक अवस्थाका बिषयमा विद्यार्थीले सबैभन्दा धेरै बुझ्नुपर्ने बेला भएको बताए । उनले नेकपा विभाजन भएसँंगै विद्यार्थीमा पनि अन्योल बढेको भएपनि अलमलमा नपर्न विद्यार्थीलाई आग्रह गरे ।
विद्यार्थी नेता आचार्यले विद्यार्थी राजनीति गर्ने व्यक्तिहरुलाई अराजक हुने छुट नभएकोसमेत बताए । फरक समुहले अराजकता फैलाएको आरोप लगाउँदै उनले नेकपाको मुल धारका विरुद्ध लाग्ने समूहमा राजनैतिक संस्कार नदेखिएको बताए । भेलामा बोल्दै नेकपा केन्द्रीय सदस्य तथा प्रदेश सांसद नारायण आचार्यले कम्यूनिष्ट आन्दोलनलाई माधव प्रचण्ड समुहले तुहाउने प्रयास गरेको आरोप लगाए ।
उनले नेकपा नेतृत्वको सरकारलाई आफ्नै पार्टीभित्रका नेताहरुले काम गर्न नदिएर अप्ठेरो पारेको बताउँदै छलफलबाटै समाधान हुने विषयलाई अविस्वासको प्रस्ताव लगेर परिस्थिति भड्काउने काममा प्रचण्ड नेपाल लागेको आरोप लगाए । नेकपा केन्द्रीय सदस्य धनेन्द्रराज घिमिरेले जनताका लागि ओली सरकारले राम्रा कामहरु गरेको बताउँदै तर त्यसको सही रुपमा प्रचार हुन नसकेको बताए । कार्यक्रममा विद्यार्थी इन्चार्ज रामजी पोखरेल, केन्द्रीय विद्यार्थी नेता सुदर्शन सिवाकोटी, सुजन भट्टराई, टिका बहादुर थापा, प्रेम बगाले, सदिक्षा ढकाल लगायतले विद्यार्थी संगठन रचनात्मक कार्य गर्दै अघि बढ्नुको विकल्प नभएको बताए ।