१० वटै स्थानीय तहमा काँग्रेसको विरोध सभा

पाल्पा । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते असंवैधानिक र अलोकतान्त्रिक ढंगबाट गरेको प्रतिनिधिसभा विघटनको विरुद्धमा शनिबार पाल्पाका १० वटै स्थानीय तहमा विरोध प्रदर्शन गरिएको छ । र्यालीपछि १० वटै स्थानीय तहमा विरोधसभा भएको छ । सबै स्थानीय तहमा नेता परिचालन गरेर विरोध र्याली र सभा गरेको नेपाली कांग्रेसले जनाएको छ ।


रम्भा गाउँपालिकाको हँुगीमा आयोजित कार्यक्रममा केन्द्रीय सदस्य एवं पूर्वउद्योग मन्त्री नवीन्द्रराज जोशीले प्रतिनिधिसभा विघटनले राष्ट्रियता, लोकतन्त्र र संविधानमाथि नै प्रहार भएकाले आन्दोलनमा होमिनु परेको बताए । उनले संविधानको कुनै पनि धाराले प्रतिनिधिसभा विघटन गर्ने अधिकार नदिएको बताउँदै झण्डै दुई तिहाई नजिकको सरकारले प्रतिनिधिसभा विघटन गरेर मुलुकमा प्रतिगमन निम्त्याएको बताए । लोकतन्त्र र संविधान जोगाउनका लागि कांग्रेसले देशव्यापी आन्दोलन गरको केन्द्रीय सदस्य जोशीले बताए ।


हुँगीमा आयोजित कार्यक्रममा क्षेत्रीय सभापति सन्तोषकुमार थापा, महासमिति सदस्य दानबहादुर पछाई, रम्भा गाउँपालिका सभापति अशोक फाल, विश्व अर्याल लगायतले लोकतन्त्रको रक्षाका लागि आन्दोलनमा होमिनु परेको बताए ।

निस्दी गाउँपालिकाको गल्धा ढुंगानाबेँसीमा आयोजित कार्यक्रममा पार्टी सभापति तथा लुम्बिनी प्रदेश सांसद बीरबहादुर राना, निस्दी सभापति शालिकराम पाण्डेय लगायतले सम्बोधन गर्दै अलोकतान्त्रिक र असंवैधानिक कदमको विरोध गरेको बताए । रामपुर नगरपालिकाको रामपुर र पूर्वखोला गाउँपालिकाको जल्पा खैरेनीमा आयोजित कार्यक्रममा पार्टी उपसभापति देवराज ढकाल, महासमिति सदस्य रमण थापा, कांग्रेसका नेताहरु झमन राजमगर, किशोर पंगेनी लगायतले प्रतिगमनको विरोध गर्नुपर्ने बताएका थिए ।


तानसेन नगरपालिकाको तानसेनमा आायोजित विरोध सभामा पार्टी सचिव अजयमान कर्माचार्य, पार्टीका कानुनी सल्लाहकार लालकुमारी राना, नेपाली कांग्रेस क्षेत्र नं २ का क्षेत्रीय सचिव यादवसिंह कार्की,  तरूण दलका सभापति मेजरसिंह केसी, नगरसभापति मधुदयाल सैंँजु, नगर सचिव लक्ष्मण खड्का, शैलेन्द्र भट्टराई लगायतले जनताको अधिकार रक्षाका लागि जहिले पनि कांग्रेस अग्रपङतीमा रहेको बताएका थिए ।


बगनासकाली गाउँपालिकामा आयोजित कार्यक्रममा पार्टी सचिव झपेन्द्र गहिरे, माथागढीको देउगिरमा आयोजित कार्यक्रममा महासमिति सदस्य यमलाल तिमिल्सेना, रिब्दीकोट गाउँपालिकामा आयोजित कार्यक्रममा कांग्रेसका जिल्ला नेता माधव नेपाल, महासमिति सदस्य सुनिता अधिकारी, रैनादेवी छहरामा आयोजित कार्यक्रममा क्षेत्रीय सभापति रामबहादुर कार्की, तिनाउमा आयोजित कार्यक्रममा जिल्ला सदस्य महेन्द्र प्रसाद पाण्डेय, तिनाउ गाउँपालिका सभापति लालबहादुर थापा, विष्णुप्रसाद पाण्डेय लगायतले विरोध सभालाई सम्बोधन गरेका थिए । यसअघि काँग्रेसले २५ पुसमा चारवटै प्रदेश निर्वाचन क्षेत्र र १३ पुसमा दुई प्रतिनिधि सभा तर्फका निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरिसकेको छ ।

सम्बन्धित खवर