
पाल्पा । अनेरास्ववियूका केन्द्रीय सहसंयोजक रन्जित तामाङले प्रधानमन्त्री केपी शर्मा ओलीको सत्ता उन्मादका कारण अहिलेको अवस्था आएको बताएका छन् । पुस ५ गते प्रतिनिधिसभा विघटनको परिणाम त्यही सत्ता उन्माद भएको उनले बताए ।
अनेरास्ववियु दाहाल–नेपाल समूहले आयोजना गरेको विद्यार्थी भेला तथा प्रशिक्षण कार्यक्रममा उनले वयल गाडामा चढेर उखान टुक्का हालेर मुलुकको समृद्धि नहुने बताए । उनले जनताको पक्षमा लड्ने, चासो देखाउनेहरुलाई पछि पार्न खोजिएको बताउँदै प्रतिगमनका मतियारहरुलाई देशको शासन सत्ता चलाउने अधिकार नभएको बताए । जनताको प्रतिनिधित्व गर्ने अधिकार प्रतिगमनकारीलाई नभएको बताउँदै प्रतिगमनको विरोधमा फेरि एक पटक आन्दोलनमा उभिनुपर्नेमा जोड दिए । विद्यार्थीको अधिकारको आकांक्षा पूरा गर्न हामी आफै एक पटक लड्नुपर्ने बेला आएको बताउँदै उनले जुर्मुराएको प्रतिगमनलाई प्रतिरोधमा उठेर परास्त गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेकपा जिल्ला सचिव राजेन्द्र विश्वकर्माले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेकाले प्रतिगमनका विरुद्धमा आन्दोलनमा युवा विद्यार्थीको महत्वपूर्ण भूमिका हुनुपर्नेमा जोड दिए । कार्यक्रममा नेकपा जिल्ला कमिटि सदस्य मोहन गैरे, अनेरास्ववियुका केन्द्रीय सदस्य बिक्रम राना, नारायण खनाल, दीपक देवकोटा, नेकपा नगर सहइन्चार्ज प्रतिक्षा गाहा सिंजाली लगायतले फेरि एक पटक युवा विद्यार्थीले प्रतिगमनलाई परास्त गर्न आन्दोलनलाई थप मजबुद बनाएर लग्नुपर्नेमा जोड दिएका छन् । अनेरास्ववियुका जिल्ला कमिटि सदस्य अतित शर्माको स्वागत, जिल्ला सदस्य सीता रास्कोटीको संचालन र अनेरास्ववियु जिल्ला संयोजक पदम सोमैको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।