पूर्वखोला गाउँपालिकाको आठौ गाउँसभा सम्पन्न

पाल्पा । पूर्वखोला गाउँपालिकाको आठौ गाउँसभा सोमबार सम्पन्न भएको छ । आइतबार सुरु भएको गाउँसभाको लुम्बिनी प्रदेशसभा सदस्य युवराज खनालले उद्घाटन गरेका हुन् । उनले जिल्लामै सुशासन, पारदर्शीता र जवाफदेही ढंगले अघि बढेको पूर्वखोला गाउँपालिका भएको बताए । उनले गाउँपालिकाले गरेको कार्यक्रमबाट जनताले फाइदा पाएको बताए । कृषि, शिक्षा, स्वास्थ्यका क्षेत्रमा गाउँपालिकाले गरेको राम्रो कामको प्रशंसा गर्दै प्रदेशसभा सदस्य खनालले आगामी दिनमा अझ उल्लेखनीय काम गर्न सुझाव दिए ।
गाउँसभामा गाउँपालिका उपाध्यक्ष भागिरथी भट्टराईले शंसोधित बजेट तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । स्थानीय सरकार संचालन ऐन २०७४ मा व्यवस्था भए अनुसार स्थानीय तहले वर्षमा दुई पटक गाउँसभा गर्नुपर्ने प्रावधान छ । गाउँपालिकाले आठौ गाउँसभा तथा हिउँदे अधिवेशन भएकाले ऐन, नियम तथा कार्यविधिहरुका मस्यौदा उपर छलफल गरेको छ । चालु आर्थिक वर्षका लागि सातौ गाउँसभाबाट स्वीकृत भएको आर्थिक विनियोजनको कार्यान्वयनको सन्दर्भमा देखा परेका समस्या समाधान गर्नका लागि विनियोजन शंसोधनको प्रस्ताव पेश गरेको गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले पत्रकार सम्मेलनमा जानकारी गराए ।
बजेट कार्यान्वयनको मध्यकालिन अवस्था भएकाले चालु आर्थिक वर्षको अर्धवार्षिक तथा गत आर्थिक वर्षको वार्षिक प्रगति समीक्षा समेत गरिएको उनले बताए । अध्यक्ष थापाका अनुसार केही आयोजनाको नाम संशोधन, पालिका भित्र आवश्यक केही बृहत आयोजनाहरु छनोट, वडा तथा पालिका स्तरबारट महशुष भएका केही समसामयिक विविध प्रस्तावहरु माथिको छलफलसमेत भएको छ । गाउँपालिका अध्यक्ष थापाले गत असार १० गते सातौ गाउँसभामा ४८ करोड ९७ लाख ६५ हजार अनुमानित आयव्यय विवरण प्रस्तुत भएको बताए । सोही अनुसार वार्षिक योजना तथा कार्यक्रम पारित भएपछि अहिले कार्यान्वयन चरणमा छ ।
चालु आर्थिक वर्षको लागि ३ सय ६२ योजना तथा कार्यक्रम पारित भएको र दोस्रो चौमासिकको दोस्रो महिलासम्ममा १५ आयोजना सम्पन्न भएको पूर्वखोला गाउँपालिकाका प्रवक्ता नीरबहादुर सारुले पत्रकार सम्मेलनमा जानकारी गराए । उनका अनुसार ८५ वटा योजना सम्झौता भएका छन् । गाउँपालिकासँग भएको श्रोत साधनको मौजुदा अवस्थालाई मौज्दात रकमबाट वडाहरुमा केही नयाँ योजनाहरु थप गर्नुपर्ने, केही योजनाको नाम संशोधन गरिएको, ऐन तथा कार्यविधिहरु तयार गरी पारित गरिएको प्रवक्ता सारुले बताए । चालु आर्थिक वर्षमा विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन, वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण सम्बन्धि ऐन २०७७ पारित भएको छ ।
शिक्षा नियमावली २०७७ पनि पारित भएको छ । शिक्षक दरबन्दी मिलन कार्यविधि, सार्वजनिक जवाफदेहिता प्रवद्र्धन सम्बन्धि कार्यविधि, सूचना तथा अभिलेख केन्द्रको स्थापना तथा संचालन सम्बन्धि कार्यविधि, संक्षिप्त वातावरणीय अध्ययन तथा प्रारम्भिक वातावरणीय परीक्षण कार्यविधि पनि पारित भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पनेरुले बताए । उनका अनुसार विपद व्यवस्थ्पान कोष संचालन कार्यविधि, आर्थिक सहायता कार्यविधि, ८० वर्ष उमेर पुगेका नागरिकहरुको स्वास्थ्यसेवा कार्यविधि, गाउँपालिकाको एम्बुलेन्स संचालन कार्यविधि, खानेपानी कार्यविधि, सुरक्षित नागरिक आवास निर्माण निर्देशिका र गर्भवती महिलाको लागि हातमा अण्डा कार्यक्रम निर्देशिका २०७७ पनि पारित भएको छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष राजेश कुमार अर्यालले गाउँपालिकाले राम्रो काम गर्दागर्दै पनि कतिपय देखिनेगरी काम गर्न नसकेको बताए । उनले जनतासँग पुग्ने गरी कार्यक्रम ल्याउने तर बिचैमा हराएजस्तो अवस्था आएकाले यस सम्बन्धमा गाउँपालिकाको कार्यपालिकाले सोच्नुपर्ने अवस्था आएको बताए । उनले शिक्षा, स्वास्थ्य र कृषि तथा पशुपालनका क्षेत्रमा युवालाई स्वरोजगार बनाउनुपर्नेमा जोड दिए । कार्यक्रममा पत्रकारहरु माधव अर्याल, किरण कौशल, रेखीराम राना, कृष्ण कार्की, यज्ञमूर्ति तिमिल्सेना, मिलन विकले गाउँपालिकाले राम्रो काम गरेपनि अझै समुदायमाझ पुगेर काम गर्न सुझाव दिए । कार्यक्रम पूर्वखोला गाउँपालिका अध्यक्ष नुनबहादुर थापाको अध्यक्षता, उपाध्यक्ष भागिरथी भट्टराईको स्वागत तथा प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पनेरुको संचालनमा सम्पन्न भएको हो ।

सम्बन्धित खवर