पाल्पा, तानसेन नगरपालिका–११, बन्दीपोखराको खयरतुङमा दाँते ओखरको बिरुवा बितरण गरिएको छ । तानसेन नगरपालिका, संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमको सहयोग र ग्रामीण आर्थिक विकास संघ रेडाको समन्वयमा यहाँका १६ घरमा दाँते ओखरको बिरुवा दिइएको हो । बिरुवा बितरण गर्दै तानसेन नगरपालिकाका नगरप्रमुख अशोककुमार शाहीले आयआर्जनमा सहयोग पुग्ने गरी दाँते ओखरका बिरुवा बितरण गरिएको बताए ।
उनले युवाका साथै महिलाहरुलाई स्वरोजगार बनाउनका साथै आर्थिक आयआर्जनमा पनि सहयोग पुग्ने योजनाका साथै माग अनुसारको बिरुवा बितरण गरेको बताए । पाँच वर्षमा यसले आम्दानी दिन सक्ने भएकाले पनि यसबाट फाइदा पुग्ने उनले बताए । तानसेन नगरपालिका–६, का वडाध्यक्ष सागरमान महर्जनले पश्चिमका जिल्लामा दाँते ओखरबाट किसानले धेरै फाइदा पाएको सुनिएकाले यहाँ पनि सोही अनुसारको योजना बनाएर अघि बढ्न सुझाव दिए ।
उनले दाँते ओखरको बिरुवा हुर्काउन दुःख हुने र हुर्के पछि खासै केही समस्या नहुने भएकाले बिरुवा हुर्काउन मिहिनेत गर्नुपर्ने बताए । तानसेन नगरपालिका–११, बन्दीपोखराका वडाध्यक्ष दामोदर घिमिरेले किसानका लागि कम मिहिनेतमा बढी आयआर्जनमा सहयोग पुग्ने ओखर खेती भएको बताए । उनले ओखर फल्यो भने ट्रक लिएर व्यापारी गाउँमै आउने व्यवस्था मिलाउने भएकाले निश्चिन्त भएर ओखर खेती गर्नुपर्ने बताए । ग्रामीण आर्थिक विकास संघ रेडाका कार्यकारी निर्देशक लीलाबहादुर कार्कीले ५ सय बोट ओखरका बिरुवा हुर्किदा बजारमा यसको माग जति पनि भएकाले यसमा निश्चिन्त भएर लाग्न आग्रह गरे । कार्कीले निकै नरम बोक्रा हुने भएकाले पनि ओखर गाउँबाटै र तानसेन बजारमा मात्र नभई जतासुकै बिक्रीका लागि पहल गर्न सकिने बताए ।
रेडाका कार्यक्रम अधिकृत मोतीलाल श्रेष्ठले ओखरको बगैचा नै स्थापना गरेपनि यसको बिक्रीमा कुनै समस्या नभएकाले खेती गरेर डराउनुपर्ने कुनै कारण नभएको बताए । यही भौगोलिक अवस्थामा छिटो हुर्किने भएकाले किसानले बिरुवा हुर्काउन भने समस्या हुने भएकाले ख्याल गर्नुपर्ने बताए । किसानले ठूलाठूला खाल्डा खनेका छन् । ओखर असोज महिलामा टिप्न उपयुक्र्त हुन्छ । हिउँदमा मलखाद्यको व्यवस्थापन राम्रो गर्न सकेको खण्डमा रोककिराको संक्रमण नहुने रेडाकी विज्ञ निकिता रायमाझीले बताइन् । ओखरलाई भण्डार, बजार व्यवस्थापनको धेरै समस्या हुँदैन ।
ओखरबाट एउटै बोटमा कम्तीमा २० हजार आम्दानी गर्न सकिन्छ । रेडाले ओखरको बिरुवा बाग्मती प्रदेशको मकवानपुरबाट ल्याएको हो । जिल्लामा अहिलेसम्म व्यवसायिक ओखरखेती गर्ने छैनन् । फाट्टफुट्ट ओखर लगाएपनि यसको व्यवसायिक खेती भने पहिलो पटक सुरु भएको छ । स्थानीय किसान नारायण रायमाझीले सबैले मिहिनेत गरेर ओखरको बिरुवा लगाएकाले यसबाट आम्दानी गर्न सकिने बताए ।
तानसेन नगरपालिका, संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) र ग्रामीण आर्थिक विकास संघ (रेडा) कोभिड १९ का कारण विदेशबाट फर्केका युवालाई स्वरोजगार गराउने कार्यक्रममा केन्द्रित रहेको छ । विदेशबाट फर्केका, रोजगार गुमाएका युवाहरुको सामाजिक तथा आर्थिक विकास गर्ने उद्देश्यले कार्यक्रम संचालन गरेको हो । तानसेन नगरपालिका र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) को सहयोग तथा ग्रामीण आर्थिक विकास संघ (रेडा)को समन्वयमा युवा उद्यमशिलता विकास परियोजना संचालन भइरहेको छ ।
ताजा समाचार
लोकप्रिय
© 2024 Copyright karuwanews.com | All rights reserved
Developed By: Namuna Computer