तानसेन बजारमा हाटबजार अहिलेसम्म चलेको छैन । थोक बजारस्थल पनि छैन । पूरानो सहर नामले परिचित छ । २००७ सालमा नगरपालिका बनेको हो । तर अहिलेसम्म हाट बजार चलाउन सकेको छैन । प्रयास नगरेका होइनन् तर पनि सफल भएनन् । अहिले फेरि थोक र हाटबजारको विषयमा छलफल सुरु भएको छ । हुन त तानसेन नगरपालिका–५, अप्पुभिलेज नजिकै थोक बजार केन्द्र निर्माणका लागि एक करोडको बजेट । कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्र, खजुरा बाँके, मिलनसार सामाजिक उद्यमी महिला सहकारी संस्था र तानसेन नगरपालिकाबीच केन्द्र निर्माणका लागि सम्झौता भएको छ । तानसेन नगरपालिका अन्तर्गत हेफर इन्टरनेशनलसँगको सहकार्यमा कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्रको सहयोगमा थोक बजार केन्द्र निर्माण सम्झौता भएको हो ।
चालु आर्थिक वर्षमा कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्र, खजुराले ६० लाख उपलब्ध गराउने छ । यस्तै तानसेन नगरपालिकाले ३० लाख (हेफरसँगको सहकार्य) र सहकारीले १० लाख लागत सहभागिता गर्नेछ । यसबाट अप्पुभिलेज नजिकै थोक बजार केन्द्रका लागि आवश्यक टहरा निर्माण सुरुवात हुने विश्वास गरिएको छ । क्रमागत रुपमा यहाँ थप टहरा निर्माण गर्दै हाटबजार संचालन गर्ने योजना हो । यसवर्ष निर्माणको काम सुरुवात मात्रै हुने र आगामी वर्षमा पनि बृहत योजनाका साथ काम अघि बढ्ने आश्वासन नगरपालिकाको छ । ३५ रोपनी जग्गामा हाटबजार र थोक बजार संकलन केन्द्र निर्माण हुनेछ ।
थोक र हाटबजार संचालनका लागि छिमेकी गाउँपालिकासँग पनि सहकार्य गर्ने नगरपालिकाको योजना छ । नगरपालिकाले यस विषयमा अवधारणापत्र बनाइसकेको छ । माथागढी, रिब्दीकोट, बगनासकालीसँग पनि सहकार्य गरेर हाट बजार संचालनको तयारी गरेको हो । जसबाट स्थानीय उत्पादनले बजार पाउने र उपभोक्ता पनि स्थानीय बजारमै तरकारी तथा अन्य सामाग्री खरिद गर्न पाउनेछन् । तानसेन नगरपालिका भित्र अहिलेसम्म हाटबजार संचालन हुन नसकेकाले अब प्रयास गर्दै छिमेकी गाउँपालिकासँग पनि सहकार्य गर्दा संचालन हुन्छ कि भन्ने उपभोक्ताको पनि आशा रहनेछ । यसका लागि सबैले प्रयास गर्न जरुरी छ ।
ताजा समाचार
लोकप्रिय
© 2024 Copyright karuwanews.com | All rights reserved
Developed By: Namuna Computer