नक्कली बाबु, नक्कली छोरा बनेर नागरिकता लिएको पाँच वर्षपछि बल्ल खुलेको छ । किर्ते गरी नागरिकता लिने विरुद्ध कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएपछि यो बाहिर आएको छ । नक्कली छोरा बनाएर नागरिकता दिलाउने रामपुर नगरपालिका–१० (साविक रामपुर–१४)का कृष्णप्रसाद अधिकारीलाई कारबाहीका लागि माग गरिएको छ । नागरिता बनाउने र बनाईदिनेलाई कारवाहीको माग गर्दै पिताम्बरका दुई दिदीबहिनीसमेत कमला पाण्डे र गंगा पाण्डेले जिल्ला प्रशासन कार्यालय पाल्पामा उजुरी दिएपछि यसको रहस्य अझै धेरै खुल्दै गएको हो । पिताम्बर अधिकारी, कमला र गंगा पाण्डेयले प्रशासनमा कारबाहीका लागि उजुरी किन दिए ? यो प्रहरीले अनुसन्धान पक्कै गर्ने छ ।
उजुरीमाथि छानबिन गर्न प्रशासनले प्रहरीलाई जिम्मा दिइसकेको छ । निवेदन पाएपछि प्रशासनले तत्काल प्रहरीलाई आवश्यक अनुसन्धान गरी पेश गर्न दिएको छ । बाग्लुङ जिल्लाका युवकले किर्ते कागजात बनाएर पाल्पाबाट नागरिता लिएर अंशमुद्धा समेत किन दिए ? प्रहरीको छानबिन पर्खनुपर्छ । रामपुर नगरपालिका वडा नंं १० साविक वडा नम्बर १४ निवासी ४८ वर्षीय पिताम्बर अधिकारीको छोरा बनेर बाग्लुङको गलकोट नगरपालिका वडा नंं. ८ पचुवा खर्वाङ निवासी स्वः मानबहादुर कंडेल क्षेत्रीका छोरा २२ वर्षीय धनबहादुर कंडेलले जिल्ला प्रशासन कार्यालय पाल्पाबाट नागरिकता लिएका छन् ।उनले विजय अधिकारीको नामबाट नागरिकता लिएपछि रहस्यमयी बनेको हो ।
विजय उर्फ धनबहादुरका पिता मानबहादुर लामो समय भारतको मेघालयमा बसेर आएका हुन् । उनका ६ भाई छोरा तथा दुई छोरी रहेका छन् । किर्ते गरेर नागरिकता बनाउने धनबहादुर मानबहादुरको राँइलो (ठूलो कान्छो) छोरा हुन् । नागरिकता बनाउन सफल भएपछि उनले नक्कली बाबु बनाएका पिताम्बर अधिकारीलाई अंशमुद्दा पनि हालेका छन् । नाम र थर फेरेर उनको नागरिकता बनाउन पिताम्बरका भाई कृष्णप्रसाद अधिकारीले नै सहयोग गरेका हुन ।
नागरिकतामा कृष्णप्रसादले नै सनाखत गरेका छन् । यसको पनि सही ढंगले अनुसन्धान हुनेछ । पिताम्बर अधिकारीलाई अपांगता भएको र प्रशासन कार्यालयसम्म आउन नसक्ने भन्दै भाई कृष्णप्रसादले सनाखत गरेर नागरिकता दिलाउनु नै रहस्यमयी हो भन्न सकिन्छ । यसमा को कसले साथ दिएका छन् सबैलाई छानबिन गरेर दोषीमाथि कारबाही हुनेछ । फिल्मको कथा जस्तो लाग्ने घटनालाई प्रहरीले सत्यतथ्य बाहिर ल्याउनेछ ।
ताजा समाचार
लोकप्रिय
© 2024 Copyright karuwanews.com | All rights reserved
Developed By: Namuna Computer