नगर प्रमुखलाई अनुगमन प्रतिवेदन हस्तान्तरण

तानसेन,संस्थागत विद्यालयको अनुगमन प्रतिवेदन समितिले नगर प्रमुख अशोक कुमार शाहीलाई हस्तान्तरण गरेको छ ।

कोभिड महामारीमा कक्षा संचालन नहुँदा पनि मनपरी शुल्क लिएको, शिक्षकले तलव नपाएको लगायतका गुनासो सम्बोधन गर्न नगरपालिकाले गठन गरेको अनुगमन समितिले प्रतिवेदन बुझाएको हो ।

संस्थागत विद्यालयको अनुगमन प्रतिवेदन समितिले नगर प्रमुख अशोककुमार शाहीलाई हस्तान्तरण गरेको छ । प्रतिवेदन बुझ्दै नगर प्रमुख अशोककुमार शाहीले कोरोना भाइरसको महामारीका समयमा शिक्षा क्षेत्र बारे उठेका गुनासाहरुको सम्वोधनका लागि अनुगमन समितिले काम गरेको बताए । उनले बालवालिकाको भविष्य सुधारका लागि नगरपालिका गम्भिर रहेको बताए । नगर प्रमुख शाहीले समितिले सुधारका लागि उठाएका सवाललाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने समेत बताए । उनले प्राप्त प्रतिवेदन अध्ययन पछि सार्वजनिक गरी काम सुरु गरिने बताए ।

अनुगमनका क्रममा सीमित संस्थागत विद्यालयवाहेक अन्यले तानसेन नगरपालिकाको निर्देशन पालन नगरेको पाईएको अनुगमन समितिका सदस्य सचिव रेशमलाल न्यौपानेले बताए । उनले अनुगमनका लागि नेपाल सरकारको विभिन्न मितिको निर्देशन र तानसेन नगरपालिकाको निर्णयलाई आधार मानि सूचकहरु तयार गरिएको बताए । अनुगमनमा विद्यालय संचालन ढाँचा, कोभिड १९ को स्वास्थ्य मापदण्डका साथै शुल्क असुली र शिक्षक तथा कर्मचारीको सेवा सुविधाका विषयहरु हेरिएको समितिका सदस्य सचिव न्यौपानेले बताए ।

तानसेन नगरपालिका युवा परिषद् अध्यक्ष तथा समितिका सदस्य गुराँस आत्रेयले अनुगमन प्रतिवेदनमा शिक्षाको हवका रुपमा रहेको तानसेनको संस्थागत विद्यलायको यर्थाथ अवस्था वारे उल्लेख गरिएको बताए । उनले अनुगमनलाई नियमित गर्न सके सुधार गर्नुपर्ने विषय क्रमश सुधार हुने विश्वास व्यक्त गरे ।

अनुगमनका क्रममा बढी शुल्क लिएको, स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना नगरेको पाईएको समितिका सदस्य तथा नेपाल पत्रकार महासघ पाल्पाका उपाध्यक्ष भरत शर्माले बताए । उनले कुनै विद्यालय कस्ले संचालन गरेको हो भन्ने समेत थाहा पाउन मुस्किल भएको बताए । समिति सदस्य शर्माले शिक्षक तथा कर्मचारीहरुले कोभिड पछि ९ महिनासम्म पारिश्रमिक नपाएको गुनासो गरेको समेत बताए ।

तानसेन नगरपालिकाले गएको कार्तिक ३ गतेको कार्यपालिका बैठकले संस्थागत विद्यालयको हकमा गत वर्षको मासिक शुल्क कार्यम गर्ने, बैशाख जेठ महिनाको कुनै पनि शुल्क लिन नपाउने, वार्षिक शुल्क आधा लिने, आषाढ, साउन र भदौ महिनाको ५० प्रतिशत मासिक शुल्क लिने, असोज देखि ७५ प्रतिशत शुल्क लिने र भौतिक उपस्थिती नहुदाँ अन्य शुल्क नलिन र शिक्षक तथा कर्मचारीलाई नियमित तलव दिनुहुन निर्देशन गरेको थियो । तर नगन्य संस्थागत विद्यालयहरु वाहेक अन्यले निर्देशन पालना नगरेको पाइएको तानसेन नगरपालिकाकी नगरउपप्रमुख लक्ष्मीदेवी पाठकले बताइन् । उनले निर्देशन विपरित भएको शुल्क असुली आगामी महिनामा समायोजन गरिने विद्यालयहरुले प्रतिवद्धता गरेको जानकारी दिइन् ।

तानसेनका २१ संस्थागत विद्यालयमा पौष ८ गते देखी १४ गते सम्म अनुगमन गरिएको थियो । यस संगै पछिल्लो समयमा सामुदायिक विद्यालय प्रति आम नागरिकले गरेको गुनासोलाई समेत सम्वोधनका लागि नगरपालिकाले काम गर्ने योजनामा रहेको जनाएको छ । तानसेन नगरपालिकाले शिक्षाको गुणस्तर बढाउने र विद्यार्थीले गुणस्तरीय सेवा पाउने वातावरण निर्माणका विभिन्न कामहरु गर्दे आएको जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय