किर्ते गरी नागरिकता लिने विरुद्ध प्रशासनमा उजुरी

पाल्पा । किर्ते गरी नागरिकता लिने विरुद्ध कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन् । नक्कली छोरा बनाएर नागरिकता दिलाउने रामपुर नगरपालिका–१० (साविक रामपुर–१४)का कृष्णप्रसाद अधिकारीलाई कारबाहीका लागि माग गरिएको हो । नागरिता बनाउने र बनाईदिनेलाई कारवाहीको माग गर्दै पिताम्बरका दुई दिदीबहिनीसमेत कमला पाण्डे र गंगा पाण्डेले जिल्ला प्रशासन कार्यालय पाल्पामा उजुरी दिएका छन् ।
पिताम्बर अधिकारी, कमला र गंगा पाण्डेयले प्रशासनमा कारबाहीका लागि उजुरी दिएका हुन् । उजुरीमाथि छानबिन गर्न प्रशासनले प्रहरीलाई जिम्मा दिइसकेको छ । प्रशासन कार्यालयकी प्रशासकीय अधिकृत रमा श्रेष्ठले निवेदन प्राप्त हुनासाथ प्रहरीलाई आवश्यक अनुसन्धान गरी पेश गर्न तत्काल दिइएको बताइत् । बाग्लुङ जिल्लाका एक युवकले किर्ते कागजात बनाएर पाल्पाबाट नागरिता लिएर अंशमुद्धा समेत दिएपछि ५ वर्षपछि यस्तो रहस्य खुलेको हो ।
रामपुर नगरपालिका वडा नंं १० साविक वडा नम्बर १४ निवासी ४८ वर्षीय पिताम्बर अधिकारीको छोरा बनेर बाग्लुङको गलकोट नगरपालिका वडा नंं. ८ पचुवा खर्वाङ निवासी स्वः मानबहादुर कंडेल क्षेत्रीका छोरा २२ वर्षीय धनबहादुर कंडेलले जिल्ला प्रशासन कार्यालय पाल्पाबाट नागरिकता लिएका खुलेको हो । उनले विजय अधिकारीको नामबाट नागरिकता लिएका छन् ।
बाग्लुङको गलकोट नगरपालिक वडा नं. ८ पचुवा खर्वाङका वडाअध्यक्ष रामप्रसाद कंडेलले धनबहादुर आफ्नै वडाबासी भएको पुष्टि गरे । धनबहादुरका पिता मानबहादुर लामो समय भारतको मेघालयमा बसेर आएका हुन् । उनका ६ भाई छोरा तथा दुई छोरी रहेको उनले बताए । किर्ते गरेर नागरिकता बनाउने धनबहादुर मानबहादुरको राँइलो (ठूलो कान्छो) छोरा भएको वडाअध्यक्ष कंडेलले बताए ।
नयाँ नाम बिजय अधिकारी कायम गरी धनबहादुरले नागरिकता बनाएको भेटिएको छ । नागरिकता बनाउन सफल भएपछि उनले नक्कली बाबु बनाएका पिताम्बर अधिकारीलाई अंशमुद्दा पनि हालेका छन् । नाम र थर फेरेर उनको नागरिकता बनाउन पिताम्बरका भाई कृष्णप्रसाद अधिकारीले सहयोग गरेका हुन । नागरिकतामा कृष्णप्रसादले नै सनाखत गरेका छन् । नागरिता जिल्ला प्रशासन कार्यालय पाल्पाका तत्कालिन प्रशासकीय अधिकृत ताराप्रसाद घिमिरेले जारी गरेको खुल्छ ।
पिताम्बर अधिकारीलाई अपांगता भएको र प्रशासन कार्यालयसम्म आउन नसक्ने भन्दै भाई कृष्णप्रसादले सनाखत गरेर नागरिकता दिलाएका हुन । दाजुको अंश खानका लागि यसरी नक्कली छोरा खडा गरेर नागरिकता बनाएको अहिले खुलेको हो । पिताम्बर भारतमा बस्दा धनबहादुरको परिवारसंग परिचय भएको थियो । पाल्पा रामपुर आफ्नो घरमा पनि आउने जाने गर्दा आफ्नै भाई कृष्णप्रसादले नागरिकता बनाइदिएर आफ्नो सम्पति हडप्ने प्रयास गरेको दावी गरे । धनबहादुर उर्फ बिजयलाई केही रकममा लोभ्याएर नागरिकता बनाइदिएको गुनासो पिताम्बरको छ । ‘धनबहादुर मेरो घर आउने जाने गर्दथ्यो, मेरो साथीको छोरो हो तर भाईले मेरो सम्पत्ति हडप्न मेरो छोरा बनाएर नागरिता बनाईदिएछ, मलाई अदालतमा मुद्दा हालेपछि चाल पाएं,’ पिताम्बरले भने ।
आफू बिरामी भएको बेला वि.सं २०७२ सालमा आफ्नै भाई कृष्णप्रसादले आफूलाई झुक्याएर नागरिता बनाईदिएको उनले दाबी गरेका छन् । उता पिताम्बरका भाई कृष्णप्रसादले लामो समय भारतमा बसेर आउँदा दाजु पिताम्बरले धनबहादुरलाई छोरो बनाएर ल्याएको दाबी गर्छन् । पछि पिताम्बर र धनबहादुरबीच विवाद भएपछि पिताम्बरले वेवास्ता गरेको र आफूले नागरिता बनाउन भने सहयोग गरेको कृष्णप्रसादले बताए । नागरिकता बनाउँदा आफूले सनाखत गरेको पनि उनले स्वीकार गरे । उनले भने, ‘समाजका केही मान्छेले मलाई सनाखत गर्दा केही फरक पर्दैन भने, तर अहिले उनैले मलाई फसाउन खोजेका छन् ।’
उता बाग्लुङ निवासी धनबहादुरका दाजुभाईले पनि आफ्नो भाईले बाग्लुङबाट नागरिकता बनाउन नपर्ने बताउँदै आएको उल्लेख गरे । धनबहादुरले यो भन्दा ११ वर्ष अघि बाउको काजकिरिया सबै भाईहरुसंगै गरेर भारत गएको उनका कांईलो दाजु सन्तोष कंडेलले बताए । धनबहादुर आफ्नो सम्पर्कमा नरहेको उनले दाबी गरे । सन्तोषले भने, ‘भाईले मलाई यहाँको नागरिकता चाहिंदैन भन्यो, सबैले संगै नागरिकता बनाउँदा भन्दा मलाई यहाँको नागरिकता चाहिंदैन तपाईहरु बनाउनुहोस् भन्यो । स्वः मानबहादुरका छोराहरु क्रमश कृष्ण (कान्छो), हिरा (साईलो) र सन्तोष (काईलो) दाजुभाईले बताए ।
धनबहादुरका साईलाबुवा इन्द्रबहादुर कंडेलकी बुहारी तिला कंडेलले भने धनबहादुरले पाल्पाबाट नागरिकता बनाएको आफूले जानकारी पाएको बताइन् । यसअघि गाउँमा आउँदा आफूले नागरिकता बनाईसकेकोले बाग्लुङबाट नागरिकता बनाउन नपर्ने प्रतिक्रिया मानबहादुरले दिएको उनले उल्लेख गरिन् । गाउँमा धनबहादुरलाई अन्तरे भनेर बोलाउने गरेको उनले बताइन । यता जिल्ला प्रसाशन कार्यालय पाल्पाका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले झुठो विवरण पेश गरेर नागरिकता बनाएको पाईएमा छानबिन गरेर कारवाही गरिने बताए । नागरिकता बनाउने र बनाईदिने जोसुकैलाई कानुन बमोजिम कारवाही हुने उनले उल्लेख गरे ।

सम्बन्धित खवर