पाल्पा । रिब्दीकोट गाउँपालिकाका सात र तिनाउ गाउँपालिकाका १५ घरपरिवार पहिरो प्रभावितलाई पाल्पा जिल्ला समाज यू.के (पाल्पाली भञ्याङ्ग, परिवार ) ले सहयोग गरेको छ । समाजले ३ लाख १४ हजार ६ सय रुपैयाँ आर्थिक सहयोग गरेको हो ।
रिब्दीकोट गाउँपालिकामा वर्षायामको पहिरोले ज्यान गुमाएका रिब्दीकोट–७, डबकाका हरिबहादुर लम्तरीको परिवारलाई ५० हजार प्रदान गरेको छ । राहत बितरण कार्यक्रममा रिब्दीकोट गाउँपालिकाका बिभिन्न वडाका ६ जनालाई समेत १२ हजार ६ सयका दरले आर्थिक सहयोग प्रदान गरेको समाजले जनाएको छ ।
रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर जीसी, उपाध्यक्ष लक्ष्मी खनाल, पालिका प्रबक्ता विष्णु खनाल, पाल्पाली भञ्याङ्ग, परिवार यूकेका प्रतिनिधि ईन्द्र थापा र पाल्पाका पत्रकारहरुको सहभागीतामा पहिरो प्रभावितहरुलाई आर्थिक सहयोग प्रदान गरिएको हो । गाउँपालिकाको सिफारिसका आधारमा वडा नम्बर ३ की मिना बिक, वडा नम्बर ४ का बिर बहादुर थापा, वडा नम्बर ६ का देबीकला खत्री ज्ञवाली, वडा नम्बर ५ का राम बहादुर नेपाली, वडा नम्बर २ का धन बहादुर बिक र वडा नम्बर ६ कालाटारका जग बहादुर बगालेलाई आर्थिक सहयोग प्रदान गरिएको कार्यक्रम संचालक पत्रकार देब पचभैयाले जानकारी दिए ।
यसैगरी तिनाउ गाउँपालिकाका १५ पहिरो प्रभाबित घर परिवारलाई समेत पाल्पा जिल्ला समाज यू.के (पाल्पाली भञ्याङ्ग, परिवार ) ले सहयोग गरेको छ । यहाँ १ लाख ८९ हजार आर्थिक सहयोग प्रदान गरेको छ । गाउँपालिकामा आयोजित कार्यक्रममा प्रति घर परिवारलाई १२ हजार ६ सयका दरले सो सहयोग प्रदान गरिएको पाल्पा जिल्ला समाज यूकेका प्रतिनिधि इन्द्र थापा मगरले जानकारी दिए । गाउँपालिकाको सिफारिसका आधारमा तिनाउ गाउँपालिका–१, कचलका मुन बहादुर हिस्की, मान बहादुर घर्ती, टिका बहादुर उचै, तिनाउ–२, दोभानका मुना खत्री, भीम बहादुर पून, पबित्रा कुमाल, तिनाउ–३, झुम्साकी मन्जु गुरुङ्ग, शान्ती गाहा, जयबहादुर कनौजे, डिल बहादुर लामीछाने, तिल कुमारी गुरुङ्ग, कृष्ण बहादुर सुनार, तिनाउ–४, सत्यवतीका रुद्र बहादुर घर्ती, यम बहादुर दर्लामी र तिनाउ–६, मस्यामका थर्क बहादुर सुनारलाई राहत रकम प्रदान गरिएको छ ।
कार्यक्रममा तिनाउ गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर २ का वडाध्यक्ष राजेश श्रेष्ठ र पाल्पा जिल्ला समाज यूकेका प्रतिनिधि इन्द्र थापा मगरले सहयोग रकम हस्तान्तरण गरेका हुन् । यसअघि पाल्पा जिल्ला समाज यूकेले बगनासकाली गाउँपालिका–७, खानीगाउँ र रम्भा गाउँपालिका–२, फोक्सिङकोटका पहिरो प्रभावितलाई समेत आर्थिक सहयोग गरेको थियो । यसरी यही आर्थिक वर्षमा पाल्पाली भञ्याङ्ग परिवारले पाल्पाका बाढी पीडित प्रभावितलाई ७ लाख १५ हजार आठ सय रुपैयाँ आर्थिक सहयोग गरेको हो । पुस माघको जाडोमा यो रकमले केही न्यानो कपडा किन्न सहयोग पुग्ने स्थानीयले बताए ।
ताजा समाचार
लोकप्रिय
© 2024 Copyright karuwanews.com | All rights reserved
Developed By: Namuna Computer