पाल्पा,नेपाल पत्रकार महासंघ पाल्पा शाखाले आइतबार स्थापना दिवस मनाएको छ ।
स्थापना दिवसका अवसरमा महासंघ अध्यक्ष राजेशकुमार अर्यालले कोभिड १९ को महामारीमा यहाँका पत्रकारले खेलेको भूमिकाको प्रशंसा गरे ।
आफ्नो स्वास्थ्यको प्रवाह नगरी संक्रमित, स्वास्थ्यकर्मी, आमनागरिक र स्थानीय तहका गतिविधलाई समेटेर संचारकर्मीले गरेको सूचना सम्प्रेशण महत्वपूर्ण भएको उनले बताए । यस विषयमा कुनै दिन पाल्पाली पत्रकारको मुल्यांकन हुने उनको भनाई थियो ।
अध्यक्ष अर्यालले नेपाल पत्रकार महासंघ पाल्पा शाखाको १९ औ स्थापना दिवसका अवसरमा आयोजित कोभिड १९ र पाल्पाको पत्रकारिताको अवस्था विषयमा बताएका हुन । पाल्पाली पत्रकारहरुले कोरोना महामारीको यो अवस्थामा भोग्नुपरेका समस्यावारे समेत छलफल गरेका छन ।
छलफलमा महासंघका सस्थापक अध्यक्ष तथा सल्लाहकार मेघराज शर्माले स्थापना दिवसको शुभकामना दिँदै पत्रकारिता पेशा मात्र नभइ समाज परिबर्तन गर्ने साधन भएको बताए । उनले पत्रकार एकताबद्ध भएर अगाडि बढनु पर्नेमा जोड दिए ।
पूर्वअध्यक्ष झपेन्द्र गहिरेले महामारीलाई जित्न आपसी एकता आवश्यक रहेको बताए । उनले पौष १९ गते पाल्पाली पत्रकारीको लागि महत्त्वपूर्ण दिन भएकोले यसै दिनलाई साक्षी राखेर नयाँ कामको थालनी गर्न आग्रह समेत गरे । सहकारी स्थापना गरेर त्यसबाट संचारकर्मीको आर्थिक उपार्जनमा सहयोग पुग्न सक्ने भएकाले यसतर्फ सोँच बनाउन उनले आग्रह गरे ।
कार्यक्रममा महासघका संस्थापक सदस्य मन गहिरेले पत्रकारितामा महिलाहरुको सहभागिता बढाउनुपर्ने बताईन् ।
छलफलमा पत्रकार देव पचभैयाले आर्थिक रुपमा सुरक्षित हुने अवस्था नभइकन पत्रकारीतामा जनशक्ति अडिन नसक्ने बताए । उनले महासंघमा संस्थागत रुपमा आपत विपतमा सहयोग गर्ने कोष स्थापना गर्न सके पत्रकारहरुलाई राहत हुने बताए ।
कार्यक्रममा सहभागी पत्रकारहरुले स्थापना दिवसको शुभकामना व्यक्त गर्नुका साथै संचार गृह र पत्रकारहरुको दिगो सुरक्षित आर्थिक विकासमा जोड दिन महासंघलाई आग्रह गरेका थिए । कार्यक्रममा महासंघका उपाध्यक्ष भरत शर्माको स्वागत, सचिब किरण कौशलको संचालन, अध्यक्ष राजेश कुमार अर्यालको अध्यक्षतामा चलेको हो ।