
पाल्पा । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कहिल्यै तृप्त नहुने महात्वाकांक्षाले गर्दा अहिलेको स्थिति आएको बताएका छन् । उनले केही नेताहरु जति पटक अध्यक्ष, प्रधानमन्त्री भएपनि घुमिफिरी चाहिने भएकाले समस्या आएको बताए । नेपाल पत्रकार महासंघले तानसेनमा शनिबार राखेको पत्रकार भेटघाटमा उनले भने, ‘महाधिवेशनबाट अध्यक्ष निर्वाचित गरौ, त्यो पनि भएन । ताजा जनादेशबाट नेतृत्व हस्तान्तरण गरौं त्यो पनि भएन । त्यसैले अहिले जनताको हातमा फैसला आएको छ ।’
मन्त्री ज्ञवालीले फैसला अब जनताको कोर्टमा आएको बताउँदै अब जनताले नै फैसला गर्नेसमेत बताए । उनले राष्ट्रिय राजनीति अहिलेको अवस्थामा आइपुग्दा दुःख लागेको बताए । ‘कहिलेकाही जटिल निर्णय लिनुपर्ने बाध्यात्मक अवस्था सिर्जना हुन्छन्,’ उनले भने, ‘अहिले त्यही बाध्यात्मक स्थिति आएको हो ।’ उनले सडकमा गएको नेकपा दाहाल नेपाल समूह र विपक्षी दललाई विरोधका कार्यक्रम स्थगित गरेर निर्वाचनमा जान आग्रहसमेत गरे । उनले अब निर्वाचन अभियानमा जानुको विकल्प नभएको बताउंदै व्यक्ति, संस्थाको लोकप्रियताको मापन गर्ने थलो निर्वाचन नै भएको बताए । कार्यक्रम नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष राजेश कुमार अर्यालको अध्यक्षता र सचिव किरण कौशलको संचालनमा भएको हो ।