नेकपा दाहाल–नेपाल समूहको तानसेनमा विरोध प्रदर्शन

पाल्पा । नेकपा दाहाल–नेपाल समूहले मंगलबार पाल्पामा प्रतिनिधिसभा विघटनको विरुद्धमा विरोध ¥याली तथा सभा गरेको छ । तानसेन टुँडिखेलबाट सुरु भएको विरोध ¥याली आन्दोलनचोक, लहरेपिपल, सिल्खान, टक्सार, शित्तलपाटी हुँदै जिल्ला प्रशासन कार्यालय अगाडि कोणसभामा परिणत भएको थियो ।
र्यालीमा सहभागीले प्रधानमन्त्री केपी शर्मा ओलीको सर्वसत्तावादकै कारण अहिले जनताले दुःख पाउनु परेको नारा लगाउँदै प्रतिनिधिसभा विघटनको माग गरेका थिए । नेता, कार्यकर्ता, युवा, विद्यार्थी, महिला सहभागी र्यालीमा प्रधानमन्त्री ओली विरुद्ध चर्को नारा लगाएका थिए । नेकपा र सूर्य चिन्ह हाम्रो हो भन्ने नारा सबैको छातीमा राखेका थिए ।
कोणसभामा बोल्दै विघटित प्रतिनिधिसभामा सांसद तथा नेकपा केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेयले असंवैधानिक कदमका विरुद्धमा यसरी सडकमा आउनुपरेको बताए । उनले नेकपा नेतृत्वको सरकार भए पनि असंवैधानिक कदम नेपाली जनताले नमान्ने बताए । अर्का केन्द्रीय सदस्य तुलाराम घर्तिमगर (बसन्त) ले सनकका भरमा संसद अन्त्य मात्र होइन, विघटन नै गरेर निर्वाचनमा लैजानुको मुख्य उद्देश्य के हो भन्ने नेपाली जनताले बुझ्न नसकेको बताए । पार्टी, संसदीय दललाई गुमराहमा राखेर जर्बजस्ती संसद विघटन गर्नु गलत भएको केन्द्रीय सदस्य ठाकुर गैरेले बताए । उनले राष्ट्रिय मान्यता प्राप्त गर्न सक्ने हैसिएत समेत नभएको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा हाम्रो हो भन्नु हाँस्यापद भएको बताए ।
नेकपा प्रदेश कमिटि सदस्य जनताको हक र अधिकारका लागि सधै लड्न तयार भएको बताउँदै भ्रष्ट्राचार भयो, काम गर्न सकेन भन्दा काम गर्न दिइएन भन्दै जनताको अधिकारलाई कुण्ठित गर्न खोजिएको बताए । अर्का प्रदेश सदस्य यादव बहादुर बहादुर रायमाझीले प्रतिगामीहरु पञ्च र राजा मात्र हुन् भनिन्थ्यो तर अहिले जननिर्वाचित सरकारका प्रधानमन्त्रीले नै प्रतिगामी कदम चालेको बताए । महिला नेतृ राजेन्द्रलक्ष्मी गहिरेले संविधान माथि प्रधानमन्त्री केपी शर्मा ओलीले कू गरेको बताउँदै त्यसका रक्षाका लागि अहिले आन्दोलनमा होमिनु परेको बताइन् । नेकपा जिल्ला नेता कमल पाण्डेय र राजेश श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई गुमराहमा पार्ने प्रवृत्तिको भण्डारफोर गर्नुपर्ने अवस्था आएको बताए ।
यसअघि विरोध प्रदर्शन सफल पार्न दाहाल–नेपाल समूहको भेला बसेको थियो । दाहाल–नेपाल समूहको नेकपाले आइतबार जिल्ला कमिटिको चौथो बैठक बोलाएको थियो । १ सय ४५ जिल्ला समितिमध्ये ७७ जनाले बैठकमा हस्ताक्षर गरेको नेकपा जिल्ला सचिव राजेन्द्र विकले बताए ।
तानसेनस्थित नेपाल रेडक्रस सोसाइटीको हलमा आयोजित बैठकलाई ओली समूहले भने क्लब र समूह गठन गरेजस्तो भेला बोलाएको जनाएको थियो । दाहाल–नेपाल समूहले राखेको बैठकमा सोही समूहका मात्र सहभागी भएकाले पनि ओली समूहले यस्तो आरोप लगाएको हो ।
दाहाल–नेपाल समूहले जिल्ला कमिटिको चौथो बैठक बोलाएपछि नेकपा जिल्ला अध्यक्ष नारायण आचार्यले भने कुनै पनि बैठक तथा भेला नराखेको सामाजिक सञ्जालमार्फत् नै जानकारी गराएका थिए । ‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटिको कुनै बैठक, भेला आयोजना नगरिएको र पार्टी जिल्ला कार्यालयको आधिकारिक सूचना बिना भेला, बैठकमा उपस्थित नहुन सम्पुर्ण जिल्ला तथा मातहतका कमिटीका कमरेडहरूलाई अनुरोध छ ।’ सामाजिक सञ्जालमा लेखेका छन् । उनले यस्तो सूचना भेला हुने दिन बिहान १० बजे नै सामाजिक सञ्जालमा राखेको समेत बताए ।
ओली समूहबाट मनोनित केन्द्रीय सदस्यसमेत रहेका आचार्यले अनधिकृत तवरबाट एक पक्ष बैठक बसेको बताए । ‘भ्रम फैलाउने गरी बैठक बसेको र गर्नका लागि गरिएको भेला हो,’ उनले भने, ‘अन्य बहाना र सरसल्लाह गर्न छ भनेर बैठकको ब्यानर राखिएको बुझिएको छ ।’ आचार्यले आफू नेकपा जिल्ला कमिटिको आधिकारिक अध्यक्ष भएको बताउँदै आत्मसन्तुष्टिका लागि बैठक राखिएको बताए । उनले विकसित घटनाक्रमलाई कम्युनिष्ट आन्दोलनमा सहभागी जनमानसमा पुग्नेगरी छिटोभन्दा छिटो जिल्ला कमिटिको बैठक राख्ने तयारी भएको समेत उनले बताए ।

 

सम्बन्धित खवर