विदेशबाट फर्केका युवा लक्षित स्वःरोजगार

पाल्पा । तानसेन नगरपालिका, संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) र ग्रामीण आर्थिक विकास संघ (रेडा) कोभिड १९ का कारण विदेशबाट फर्केका युवालाई स्वरोजगार गराउने कार्यक्रममा केन्द्रित भएका छन् । विदेशबाट फर्केका, रोजगार गुमाएका युवाहरुको सामाजिक तथा आर्थिक विकास गर्ने उद्देश्यले कार्यक्रम संचालन गरेको हो ।
तानसेन नगरपालिका र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) को सहयोग तथा ग्रामीण आर्थिक विकास संघ (रेडा)को समन्वयमा युवा उद्यमशिलता विकास परियोजना संचालन भइरहेको छ । सोही कार्यक्रमबारे संचारकर्मीलाई जानकारी गराउन तानसेनमा छलफल गरिएको हो । अघिल्लो आर्थिक वर्षका साथै चालु आर्थिक वर्षको पाँच महिना कार्यक्रम चलिसकेको छ । अघिल्लो आर्थिक वर्षमा ढाका, करुवा, फूलखेती, तरकारी, दुधजन्य सामाग्रीका, बाँसका सामाग्री बनाउने तालिम चलाएको थियो । यी बाहेक स्वरोजगार हुनका लागि उद्यमशील तालिमसमेत संचालन गरेको तानसेन नगरपालिकाका नगरप्रमुख अशोककुमार शाहीले बताए ।
नगरप्रमुख शाहीले तानसेन नगरपालिकाले व्यवसाय गर्न इच्छुक युवालाई सहयोग गर्न विभिन्न कार्यक्रम संचालन गरेको बताए । उनले युवाको सीप विकास र प्रविधिमा स्थानीय सरकारले सहयोग गर्ने समेत बताए । नगर भित्रका कुनै जागरिलो युवा सीप, पुँजी र बजारको अभावमा बस्नु नपर्ने गरी कार्यक्रम अघि बढाएको उनले बताए । ‘अघिल्लो वर्ष ३ सय बढी युवाले तालिम लिए,’ उनले भने, ‘१ सय १२ जना उद्यमशील हुन्छु भन्नेले तालिम लिएका थिए ।’ ती युवामध्ये अधिकांशले व्यापार व्यवसाय गर्न थालेका छन् ।
तालिम लिएका युवालाई नगरपालिकाले विना धितो नेपाल बैंक लिमिटेडसंगको सहकार्यमा ऋण समेत परिचालन गरेको छ । यसबाट सय बढी युवाले फाइदा लिइसकेका छन् । यति मात्र होइन, ती युवाले २ करोड ५० लाख बढी ऋण लिएर व्यवसायलाई अघि बढाएको नगर प्रमुख शाहीले बताए । कार्यक्रम सार्वजनिकीकरण गर्दै ग्रामीण आर्थिक विकास संघ रेडाका कार्यकारी निर्देशक लीलाबहादुर कार्कीले युवालाई बेरोजगार बस्न नपरोस् भनेर नै तानसेन नगरपालिका र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी)ले लगानी गरेको बताए ।
अघिल्लो आर्थिक वर्षमा एक करोड बढी थियो । चालु आर्थिक वर्षमा २ करोड बढी रकम युवाका लागि लगानी हुने उनले बताए । नगरपालिका र युएनडिपिले कार्यक्रममा आधा आधा लगानी रहेको छ । रेडाले सामाजिक परिचालन गर्दै आएको छ । तानसेन नगरपालिकाका १४ वटै वडामा कार्यक्रम संचालन भएको छ । परियोजना अन्तरगत हुने गतिविधि र बजेटबारे जानकारी गराउँदै उनले भने, युवा लक्षित कार्यक्रमबाट स्वरोजगार र व्यवसायिक हुनेछन् ।
कार्यक्रममा परियोजना अन्तरगत रहेका कार्यक्रम र बजेटबारे उनले जानकारी गराए । कार्यकारी निर्देशक कार्कीले कोभिड १९ का त्रासका कारण विदेशबाट फर्केका, रोजगारी गुमाएका युवाहरुको सामाजिक आर्थिक विकास गर्न परियोजना केन्द्रीत रहने उनले बताए । उनले चालु आर्थिक वर्षमा झण्डै २ करोड २१ लाख रुपैयाँ बराबरको बजेट रहेको बताए । यसबाट युवालाई सीप, पुँजी र बजारिकरणमा सहयोग गर्ने उनले बताए ।
कार्यक्रम अन्तर्गत कृषि, पशुपालन, नेतृत्व विकास, सीपमूलक तालिम, मेसिनरी औजार सहयोगका कार्यक्रम रहेका छन् । युवा तथा महिलालाई बंगुरपालन, कुखुरापालनमा सहयोग गर्दै आएको छ । साथै फापरको बीउँ, आलु, टिमुर, सुन्तलाका बिरुवा लगायतमा पनि सहयोग गरेको छ । कार्यक्रमबाट युवाले छाला जुत्ता बनाउने, मोटरसाइकल बनाउने सीप पनि पाउनेछन् । साथै बैंक तथा वित्तीय संस्थासँग सहकार्य गर्दै कृषि ऋण प्रवाह गरेर व्यवसायिक बनाउन पनि सहयोग पुग्नेछ । उनले लगानी अनुसारक उत्पादन हुने सामाग्री बिक्रीका लागि र उद्यमी बन्न सरसल्लाह गर्ने थलोका रुपमा रहेको इबिक सेन्टरलाई प्रविधियुक्त बनाउने पनि कार्यकारी निर्देशक कार्कीले बताए ।
नेपाल पत्रकार महासघका अध्यक्ष राजेशकुमार अर्यालले अहिलेका कार्यक्रम वोलबाला नागरिकका लागि मात्र रहेको बताए । उनले लक्षित वर्गले अझैपनि कार्यक्रमको फाइदा लिन नसकेको बताउँदै सक्ने अवस्था समेत नबनेकोले यस तर्फ ध्यान दिन आग्रह गरे । कार्यक्रम आधारभुत वर्गका लागि बनेपनि प्रकृया ,सहभागिता र विश्वासका कारण समेटिा नसकेको संचारकर्मीको सुझाव छ । संचारकर्मीले बोलबालाहरुको लागि कार्यक्रम गर्ने, दोहोरोपना नआउने गरी कार्यक्रम गर्न साथै कार्यक्रमबाट लक्षित वर्गलाई फाइदा पुग्ने गरी योजना बनाउनसमेत सुझाव दिए । रेडाका कोषाध्यक्ष शिवबहादुर कुँवरले युवाको जीवनस्तर परिवर्तनमा रेडाले महत्वपूर्ण भूमिका खेल्ने र समन्वयकारी भूमिकामा काम गर्दै आएको बताए ।

सम्बन्धित खवर