
पाल्पा । राजनीति नसुध्रिने हो भने शिक्षा क्षेत्र पनि नसुध्रिने विचार तानसेनमा आयोजित कार्यक्रममा सहभागीले बताएका छन् । उनीहरुले शिक्षा क्षेत्र राजनीतिबाट प्रभावित छ र यसैका कारण अहिलेसम्म यो क्षेत्र सुध्रिएको छैन ।
शिक्षाका लागि राष्ट्रिय अभियान जिल्ला समन्वय समितिको आयोजनामा आयोजित ‘शिक्षा र राजनीति ः अभ्यास र कार्यदिशा’ विचार गोष्ठीका सहभागीले यस्तो बताएका हुन् । ‘शिक्षा र राजनीति ः अभ्यास र कार्यदिशा’ विषयक कार्यपत्र प्रस्तुत गर्दै त्रिभुवन बहुमुखी क्याम्पसका उप–प्राध्यापक डा. शंकरप्रसाद गैरेले सबै नीतिका मूल नीति राजनीति भएकाले यसको सुधारका लागि सबैको प्रयास हुनुपर्नेमा जोड दिए । कार्यपत्रमा शिक्षा क्षेत्र सुधारका लागि भएका प्रयास, अभ्यासका विषय समेटिएको थियो । कार्यपत्र माथि राजनीतिक दलका नेता, विद्यार्थी नेता, पत्रकार, शिक्षाविज्ञ लगाएतले सुझाव दिए ।
कार्यक्रममा बोल्दै नेकपाका नेता धनेन्द्रराज घिमिरेले मुलुकमा शिक्षा क्षेत्र लगायतमा सुधारको प्रयास भइरहेका बेला राजनीतिक संकट आएको बताए । उनले शिक्षा क्षेत्र सुधारका लागि राजनीतिक क्षेत्रबाट नै सुधार हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका सचिव झपेन्द्र गहिरेलेसमाजबाद उन्मुख शिक्षा नीति हुनुपर्नेमा जोड दिए । उनले विद्यार्थी संगठन, सरोकारवाला सबैको सुझाव कार्यान्वयन गर्न राजनीतिक दल तयार हुनुपर्ने बताए । कार्यक्रममा राप्रपाका केन्द्रिय सदस्य डुलबहादुर कुवँर शिक्षा क्षेत्र राम्रो भयो भने मात्र मुलुक पनि राम्रो हुने धारण राखे । जनमोर्चा जिल्ला अध्यक्ष बिशाल दर्लामीले राजनीति व्यवसाय बनेजस्तै शिक्षा क्षेत्र पनि व्यापार भएकाले यसको सुधारका लागि सबैले पहला गर्नुपर्नेमा जोड दिए । शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख रमेश पौडेलले शिक्षा क्षेत्रमा देखिएका विकृति, विसंगतिलाई हटाउन सबै क्षेत्र त्यसमा पनि राजनीतिक क्षेत्र बढी सजग हुनुपर्ने बताए । उनले राजनीतिले शिक्षाको मुलनीति बनाउन नसकेको बताउँदै राजनीतिकै कारण समस्या बढी आउने गरेको उनले बताए ।
कार्यक्रममा नेपाल शिक्षक महासंघका अध्यक्ष देबीप्रसाद भट्टराईले विद्यालयमा अध्ययनमा जो कमजोर छ त्यस्तै व्याक्तिले जिम्मेवार पद पाउँदा शिक्षाले सहि बाटो समात्न नसकेको बताए । विद्यार्थी नेता तथा अनेरास्ववियुका जिल्ला संयोजक पदम सोमैले शिक्षा क्षेत्र सुधारका लागि विद्यार्थी संगठनले पनि पहल गर्नुपर्ने हो तर पछिल्लो समयमा विद्यार्थी संगठन त्यसबाट चुकेको बताए । नेविसंघका कार्यवाहक सभापति सुरेश बोहोराले शिक्षा क्षेत्रमा धेरै विकृति देखिएको र यसलाई सुधार गर्न जरुरी रहेको बताए । अनेरास्ववियु छैठौका अध्यक्ष पुरन पोखरेलले नेपालमा राजनीतिले शिक्षालाई सहि मार्गदर्शन गर्न नसकेको बताए ।
नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष राजेश कुमार अर्यालले शिक्षा र राजनीति अन्तरनिर्भर भएको बताउँदै राजनीतिक दलका पिछलग्गु, अन्धसमर्थक विद्यार्थी संगठन भएकाले पनि सुधार हुन नसकेको बताए । पत्रकार मुक्तिप्रसाद न्यौपानेले राजनेताहरुको शैक्षिक योग्यता माथि प्रश्न उठ्नुले शिक्षा र राजनीतिको सम्बन्धलाई पुष्टि गर्ने धारणा राखे । कार्यक्रम समाज उत्थान सहयोग केन्द्र देविनगरका कार्यकारी प्रबन्धक मेहरसिंह थापाको स्वागत, शिक्षाका लागि राष्ट्रिय अभियान जिल्ला समन्वय समितिका संयोजक शालिकराम पाण्डेयको अध्यक्षतामा सम्पन्न भएको हो ।