
पाल्पा । नेकपा फुटकाे असर जिल्लामा अाइपुगेकाे छ । नेकपा ओली र दाहाल–नेपाल समूहको फुटको असर जिल्लामा पनि परेको यहाँ दाहाल–नेपाल समूहको नेकपाले आइतबार जिल्ला कमिटिको चौथो बैठक बोलाएपछि देखिएकाे हाे ।
तानसेनस्थित नेपाल रेडक्रस साेसाइटीकाे हलमा आयोजित बैठकलाई ओली समूहले भने क्लब र समूह गठन गरेजस्तो भेला बोलाएको जनाएको छ । दाहाल–नेपाल समूहले राखेको बैठकमा सोही समूहका मात्र सहभागी भएकाले पनि अाेली समूहले यस्ताे अाराेप लगाएकाे हाे ।
दाहाल–नेपाल समूहले जिल्ला कमिटिको चौथो बैठक बोलाएपछि नेकपा जिल्ला अध्यक्ष नारायण आचार्यले भने कुनै पनि बैठक तथा भेला नराखेको सामाजिक सञ्जालमार्फत् नै जानकारी गराएका छन् । ‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटिको कुनै बैठक, भेला आयोजना नगरिएको र पार्टी जिल्ला कार्यालयको आधिकारिक सूचना बिना भेला, बैठकमा उपस्थित नहुन सम्पुर्ण जिल्ला तथा मातहतका कमिटीका कमरेडहरूलाई अनुरोध छ ।’ सामाजिक सञ्जालमा लेखेका छन् । उनले यस्तो सूचना अाइतबार बिहान १० बजे नै सामाजिक सञ्जालमा राखेको समेत बताए ।
ओली समूहबाट मनोनित केन्द्रीय सदस्यसमेत रहेका आचार्यले अनधिकृत तवरबाट एक पक्ष बैठक बसेको बताए । ‘भ्रम फैलाउने गरी बैठक बसेको र गर्नका लागि गरिएको भेला हो,’ उनले भने, ‘अन्य बहाना र सरसल्लाह गर्न छ भनेर बैठकको ब्यानर राखिएको बुझिएको छ ।’ आचार्यले आफू नेकपा जिल्ला कमिटिको आधिकारिक अध्यक्ष भएको बताउ“दै आत्मसन्तुष्टिका लागि बैठक राखिएको बताए । उनले विकसित घटनाक्रमलाई कम्युनिष्ट आन्दोलनमा सहभागी जनमानसमा पुग्नेगरी छिटोभन्दा छिटो जिल्ला कमिटिको बैठक राख्ने तयारी भएको समेत उनले बताए ।
दाहाल–नेपाल समूहले नेकपा जिल्ला कमिटिकाे चाैथाै बैठककाे निर्णय भन्दै जिल्ला सचिव राजेन्द्र विकद्वारा जारी प्रेस बक्तव्य जस्ताकाे तस्तै ः
नेपाल कम्प्यूनिष्ट पार्टी (नेकपा) पाल्पाको जिल्ला कमिटिको चौथो पूर्ण बैठक पार्टीका जिल्ला सचिव राजेन्द्र वि.क.को अध्यक्षतामा सम्पन्न भएको छ ।बैठकमा जिल्ला इन्चार्ज सोमप्रसाद पाण्डेयको प्रमुख अतिथित्यता, विशिष्ट अतिथि तुलाराम घर्ती जिल्ला सह–इन्चार्ज, विशिष्ट अतिथि केन्द्रीय सदस्य ठाकुर गैरे, संचालन जिल्ला कार्यालय सदस्य क. कमल पाण्डे, स्वागत कार्यालय सदस्य मथुरा ढकाल लगायत बहुमत जिल्ला कमिटिका सदस्यहरूको उपस्थिति रहेको थियो ।
· बैठकमा प्रमुख अतिथि, विशिष्ट अतिथि र अन्य अतिथि कमरेडहरूले पार्टीको वर्तमान अवस्थाको बारेमा आफ्ना गहन भनाईहरू राख्नुभयो, यस्तै अन्य वक्ताहरू क. यादव बहादुर रायमाझी प्रदेश कमिटि सदस्य, प्रदेश कमिटि सदस्यहरू क. नेत्र पाण्डे, क. गिरबहादुर थापा (विरवल), जिल्ला सल्लाहकार क. लेखनाथ पोखरेल, प्रदेश कमिटि सदस्य क. जीतबहादुर मश्राङ्गी, क. जानुका घर्ती, क. चक्रव्यूह थापा, अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य क. राजेन्द्र लक्ष्मी गैरे लगायतले सरकारको निर्णयले अहिले पार्टीलाई अस्थिरता र अराजकता तर्फ धकेल्न केपी ओली समूह लागेको बताउँदै सत्ताको धङ्धङ्गी र विभिन्न प्रलोभन र स्वार्थको पछि नलाग्न सबैमा आग्रह गर्नुभयो ।
· बैठकले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट स्वीकृत भई संघीय संसद प्रतिनिधि सभा संसद विघटन गर्ने निर्णय प्रतिगामी, असंवैधानिक, अलोकतान्त्रिक, पश्चगामी एवम् स्वेच्छाचारी कदम ठहर गर्दै उक्त गैरसंवैधानिक निर्णयको विरूद्ध शसक्त संघर्ष गर्ने निर्णय गर्यो ।
· हालै सम्पन्न नेकपा केन्द्रीय कमिटिको बैठकले गरेका सम्पूर्ण निर्णयहरूको स्वागत गर्दै सबै निर्णयहरू कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्यो ।
· संविधानको व्याख्या गर्ने जिम्मेवारी प्राप्त अंग सर्वोच्च अदालत साथै राजनैतिक दलको बैधानिकताबारे निर्णय गर्ने निकाय निर्वाचन आयोगबाट हाम्रो संविधान ऐन, नियम र कानून बमोजिम न्याय संगत फैसला हुने विश्वास व्यक्त गर्दै निरंकुश प्रतिगामी र असंवैधानिक कदमका विरूद्ध सबै राजनीतिक दल, पेशागत संघ, संगठन नागरिक समाज, मिडिया सबैलाई आन्दोलनमा साथ दिन अपिल गर्यो ।
· बैठकले पार्टी केन्द्रको निर्देशन अनुसार यही १४ गते तानसेनमा हुने वृहत जनप्रर्दशनमा सहभागी हुन सम्पूर्ण पाल्पालीमा अनुरोध गर्ने निर्णय गर्नुका साथै बैठक सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्णमा धन्यवाद व्यक्त गर्यो ।







